Comments Add Comment

६८ प्रतिशत कामदार एजेन्टबाटै ठगिन्छन्

१५ चैत, काठमाडौ । बैदेशिक रोजगारीमा जाने नेपाली कामदारको ठगीमध्ये ६८ प्रतिशतभन्दा बढी ठगी एजेन्टबाट हुने गरेको बैदेशिक रोजगार विभागको तथ्यांकले देखाएको छ ।
Nepalese migrant workers arrive at Kathmandu airport
विभागका अनुसार चालू आर्थिक वर्षको फागुनसम्ममा म्यानपावर एजेन्सी तथा एजेन्टले ५२ करोड ६६ लाख ७९ हजार रुपैयाँ कामदारको ठगी गरेका छन् ।

यो ठगीमध्ये ६८ प्रतिशत अर्थात ३६ करोड २८ लाख ८५ हजार रुपैयाँ एजेण्टले गरेको विभागले जनाएको कारोबार दैनिकमा खबर छ । एजेन्सीका गाउँ, जिल्ला हुँदै काठमाडौसम्म एजेन्ट हुन्छन् । तह-तहमा कामदारले रकम तिर्नुपर्ने भएपछि कामदारको लागत हृवात्तै बढ्छ ।

एजेन्टले कानुनले तोकिएको भन्दा बढी रकम कामदारसँग असुल्ने गर्छन् । कामदारलाई गलत व्रिफिङ गर्ने र स्वदेश/विदेशमा अलपत्र पार्ने काम एजेन्टले गर्ने गरेको विभागको भनाइ छ ।

कामदारले एजेन्टविरुद्ध ६०५ वटा उजुरी विभागमा दायर गरेका छन् । कानूनी रुपमा दर्ता भएका भन्दा अवैध ढंगबाट सञ्चालनमा रहेका एजेन्टले कामदार बढी ठग्ने गरेका छन् । दर्ता भएको एजेन्टले २ लाख रुपैयाँ धरौटी विभागमा जम्मा हुने गरेको हुन्छ ।

ठगी गर्नेवित्तिकै धरौटीबाट रकम कट्टा गरेर विभागले कामदारलाई फिर्ता गर्छ । एजेन्टबाट हुने ठगीमा ६ करोड १८ लाख ५८ हजार  रुपैयाँ  कामदारलाई फिर्ता गरेको विभागले जनाएको छ । १०८ एजेन्टविरुद्ध १८ करोड ७७ लाख ११ हजार रुपैयाँ बिगोदावीसहित बैदेशिक रोजगार न्यायधीकरणमा मुद्दा दायर भएको छ ।

कामदारले म्यानपावर एजेन्सीविरुद्ध एक हजार ३४८ उजुरीमा १६ करोड ३७ लाख ८३ हजार बिगोदाबीसहित उजुरी परेको विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment