Comments Add Comment

वायु ऊर्जा आयोजना सञ्चालन गर्न माग

Muktinath

१५ चैत, मुस्ताङ ।  कागबेनीका बासिन्दाले २५ वर्षअघि निर्माण गरिएको नेपालकै पहिलो वायु ऊर्जा आयोजना सञ्चालन गर्न माग गरेका छन् ।

आफ्ना क्षेत्रमा राष्ट्रिय प्रसारण लाइन भरपर्दो नभएको भन्दै उनीहरुले तत्काल आयोजनाको थप सम्भाव्यता अध्ययन गरी सञ्चालन गर्न आग्रह गरेका हुन् । सरकारी बेवास्ताका कारण नेपालकै पहिलो आयोजना अलपत्र बनेको कागबेनीका पूर्वगाविस अध्यक्ष नोर्बु गुरुङले बताए ।

‘नेपालमा दिन प्रतिदिन विद्युत्भार कटौती बढ्दै गएको छ तर भएका योजनाको सञ्चालन गर्न कसैले सरकारको ध्यान गएको छैन’– गुरुङले भने– ‘जसरी हुन्छ यो आयोजना सञ्चालन गर्नुपर्छ ।’

पर्याप्त बजेट र जनशक्ति अभाव रहेको भन्दै सञ्चालनमा आएको तीन महिनामै वायु ऊर्जा आयोजना बन्द भएको थियो । तीव्र गतिमा बहने हावालाई प्रविधिको सहयोगमा विद्युत् उत्पादन गर्ने आयोजना मुस्ताङमा प्रभावकारी भए पनि त्यसको थप अनुसन्धान र सम्भाव्यता अध्ययन हुन सकेको छैन ।

विद्युत् उत्पादनका लागि निर्माण गरिएको भवन अहिले जीर्ण बनेको छ । ट्रान्समिटर र ब्याट्री एउटा कोठामा थन्काइएको छ । भवनबाहिर घुम्ने पङ्खा अलपत्र अवस्थामा छ । यहाँ बिहान ११ देखि अपराह्न ४ बजेसम्म तीव्र गतिमा हावा चल्छ । विद्युत् उत्पादनको सफल परीक्षणपछि स्थानीय ६० घरले तीन महिनासम्म ऊर्जा उपभोग गरेको कागबेनीका फुर्बा गुरुङले बताए ।

‘गाविस र स्थानीयवासीले कति पैसा लगाउनुपर्छ, हामी तयार छौँ तर यो प्रयोगमा ल्याउनुपर्यो’ उनले भने– ‘यसो भयो भने यहाँका पर्यटन व्यवसायलाई थप सघाउ पुराउनेछ, कागबेनीमा नयाँ प्रयोग भयो भनेर संसारभर चर्चा भए पनि त्यसले निरन्तरता पाउन सकेन, विभिन्न देशका नागरिकले पनि अहिले हामीलाई प्रश्न गर्छन् ।’ रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment