Comments Add Comment

होटलमा गरिने लगानी जोखिममा छ

sangrilla woner (2)

– प्रवीणबहादुर पाण्डे
प्रवीणबहादुर पाण्डे सांग्रिला होटल एन्ड रिसोर्टका कार्यकारी निर्देशक हुन् । उनीसँग नेपालमा तारे होटल तथा रिसोर्ट सञ्चालनको दुई दशक लामो अनुभव छ । होटल क्षेत्रमा ठूलो लगानी गर्ने तयारी गरिरहेको सांगि्रलाले राजधानीमा पाँचतारे र पोखरामा सांग्रिला भिलेज रिसोर्ट सञ्चालन गरिरहेको छ ।

होटल एशोसियनस अफ नेपालका कार्यकारिणी सदस्य समेत रहेका पाण्डेले संघको मार्केटिङ कमिटीमा रहेर अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटन प्रर्बद्धन अभियानसमेत संचालन गरिरहेका छन् । सरकारले हालै जारी गरेको होटलको नयाँ मापदण्ड निर्माण कमिटीमा रहेर पनि उनले नेपाली होटलको स्तरीकरणमा काम गरेका छन् ।

अहिले सञ्चालनमा रहेका होटलहरुको अवस्था, होलटमा ओइरिन लागेको अर्बौं लगानी, होटल व्यवसायको सम्भावना र चुनौती, सांग्रिलाले गर्न लागेको लगानी तथा समग्र पर्यटन उद्योगका विषयमा केन्द्रित रहेर पाण्डेसँग अनलाइनखबरले गरेको कुराकानी :

पछिल्लो समयमा सवैभन्दा लगानीको आर्कषण पर्यटन क्षेत्रमा देखिएको छ । नयाँ-नयाँ बिदेशी चेन होटलहरु धमाधम नेपाल आइरहेको छन भने उत्पादनमा क्रियाशिल ठूला घराना पनि धमाधम होटल खोल्न लागिरहेका छन् । तपाईंहरु ३५ बर्षदेखि यो क्षेत्रमा हुनुहुन्छ र पनि यो लहरमा खासै उत्साहित देखिनुहुन्न, के गरिरहनुभएको छ अहिले ?

अहिले जे लहर आएको छ त्यसका बिषयमा हाम्रो आफ्नै दृष्टिकोण र अनुभव पनि छ । तर, हामी हात बाँधेर बसिरहेका छैनौं, परिस्थीतिको सही मूल्याङ्कन गरी लगानी विस्तार गरिरहेका छौं ।

सांगि्रला होटलको स्तरोन्नती गर्ने काम भइरहेको छ । हामीले ३५ वर्ष पुरानो होटलको स्तरोन्नतीमा १५ करोड रुपैयाँ खर्च गरेका छौं । हाम्रो योजना सांगि्रलालाई स्तरीय पाँचतारे बुटिक होटलमा परिणत गर्ने हो ।

होटलमा रहेका सयवटा रुमको मर्तत गरी स्तरउन्नती गर्‍यौं । साँघुरो रहेको लबीलाई विस्तार गर्यौं र दुईवटा अर्पाटमेन्ट पनि थप्यौं । झण्डै ७० लाख रुपैयाँ खर्चेर सवै कोठामा इलेक्ट्रिक लक राखिएको छ ।

सांगि्रलाको सबैभन्दा आकर्षक पक्ष यहाँ भएको सुन्दर बँगैचा हो । यसलाई थप आर्कषक बनाउने र खुला नै राख्ने योजना छ । किनकी शहरको व्यस्त ट्राफिकबाट आएको ग्राहकलाई शान्त र रिफ्रेस गराउने वातावरण हामीले तयार गरेका छौं ।

होटलमा दुईवटा रेष्टुरेन्ट खोल्ने योजना छ । जसमध्ये एउटा क्याफे खोलिसकेका छौं । हाम्रो होटलमा कफी सप २४सै घण्टा खुल्छ । धेरै होटलमा त्यो सुविधा छैन ।

यसअघि तपाईहरुले पोखरा, चितवन र शीवपुरीमा नयाँ रिसोर्ट खोल्ने भन्नुभएको थियो । तर, पोखराको परियोजना अन्तिम समयमा आएर स्थगित गर्नुभयो । नयाँ प्रोजेक्टको जोखिम लिन नखोज्नुभएको हो ?

Parbinहामी ब्याक भएका हैनौं, केवल सही समयको प्रतिक्षा गरिरहेका छौं । तीन ठाउँमै चरणवद्ध रुपमा रिसोर्ट निर्माण गर्छौ । हामी हचुवाको भरमा रिसोर्ट बनाउने काम गर्दैनौं, हामी यस्तो रिसोर्ट बनाउन चाहान्छौं, जसले पर्यटन उद्योगमा दीर्घकालीन प्रभाव पार्न सकोस् ।

हाम्रो लक्ष्य भइरहेका पर्यटक तान्ने भन्दा पनि अतिरिक्त खर्चालु पर्यटक भित्राउने हो । बेगनासको पचभैया डाँडामा खोल्न लागेको होटल पनि भइरहेका पर्यटकलाई भन्दा पनि नयाँ खर्चालु पर्यटकलाई लक्षित गर्दै सञ्चालनमा ल्याउन लागेका हौं । यसका लागि एयरपोर्ट बन्नुपर्थ्यो । बिचमा एयरपोर्ट बन्ने अनिश्चित हुँदा केही समय होटल निर्माण प्रकृया रोक्यौं पनि ।

सरकारले फेरि एयरपोर्ट निर्माण प्रकृया अगाडि बढाएको छ, अब हाम्रो रिसोर्ट निर्माण पनि अगाडी बढ्छ । खर्चालु पर्यटकलाई लक्षित गरेर यहाँ रिसोर्ट सञ्चालन गर्न लागेका हौं ।

यहाँको रिसोर्टमा हुने भिल्लाहरु हृयाङ्गिङ जस्तै हुनेछन् । यहाँ एउटा पनि रुखहरु नकाटी भौतिक संरचना निर्माण  गरिने छ । इकोफ्रेन्डली हुने यस रिसोर्टका हरेक भिल्लाबाट हिमाल देखिने छ ।

बेगनासको रिसोर्ट सञ्चालनमा आएपछि शिवपुरीमा स्तरीय होटल निर्माणमा लाग्ने योजना छ । यहाँको रिसोर्टको कन्सेप्ट तयार नभएपनि डिलक्स टाइपको हुनेछ ।

चितवनको मेघौलीमा भने तत्कालै रिसोर्ट निर्माण गर्ने हाम्रो तयारी छैन् । दुई ठाउँमा सञ्चालनमा आएपछि तेस्रो चरणमा यसको काम अगाडि बढाउँछौं ।

पछिल्लो समय मुलुकभित्र ठूला-साना होटलहरुमा लगानी बढ्दो छ, विश्वका चर्चित चेन होटलहरु प्रवेश गरिरहेका छन्, यो लहर कति बास्तविकतामा आधारित छ ? ओभर सप्लाई हुने र लगानीकर्ताको लगानी जोखिममा पर्ने सम्भावना कतिको छ ?

पछिल्ला वर्षहरुमा नेपालको होटल उद्योगमा अर्बौं लगानी हुँदैछ । विदेशी चेनहरु समेत उत्साहित हुँदै नेपाल प्रवेश गरिरहेका छन् । यसलाई पक्कै पनि सकरात्मक रुपमा लिनुपर्छ ।

तर, अहिले मुलुकमा जुन किसिमका पर्यटक आइरहेका छन्, उनीहरुलाई म पर्यटक नै भन्दिन । नेपाल आउने गरेका पर्यटकहरुबाट तारे होटल सञ्चालन गर्न निकै कठिन छ । किनभने यहाँ आउने अधिकांश पर्यटकहरु खर्चै गर्न नसक्ने खालका छन् ।

यही अवस्थामा होटलमा हुन लागिरहेको अर्बौं लगानी जोखिममा पर्ने देख्छु । जबसम्म हामीले पूर्वाधार विकास गरेर गुणस्तरीय पर्यटक भित्राउन सक्दैनौं, होटलमा गरेको लगानीबाट प्रतिफल प्राप्त गर्न निकै कठिन छ ।

पर्यटक आगामन बढ्नुको सट्टा घट्दै गइरहेको अवस्थामा होटलमा भइरहेको लगानी ‘ओभर सप्लाई’ नै हो ।  तीन/चार वर्षभित्रमा मुलुकमा तारे होटलमै रुमहरुको संख्या अत्याधिक बढ्ने देखिन्छ ।

sangrilla woner (7)

अहिले सञ्चालनमा रहेका पाँचतारे होटल नै फुल अकुपेन्सीमा चल्न सकिरहेका छैनन, नयाँ होटलहरु कसरी चल्छन् ? पर्यटको संख्या यत्तिकै बढाउन सकिदैन । पर्यटक बढाउन पूर्वाधारको विकास गर्नुपर्छ । यसतर्फ राज्यको ध्यान पुगेको देखिदैन । त्यहि भएर नयाँ लगानीकर्ता उत्साहित भइहाल्नुपर्ने अवस्था देख्दिन ।

पर्यटक बढाउन पूर्वाधार बन्नुपर्छ भन्नुभयो । पोखरा र भैरहवामा बन्न लागेका अन्तराष्ट्रिय बिमानस्थलकै कारण पनि बाषिर्क केही लाख पर्यटक थप्न त सहज होला नी ?

सरकारले चाहाने भने यही पूर्वाधारमा पनि सञ्चालनमा रहेका होटलहरु भरिने गरी पर्यटक भित्राउन सक्छ । तर, सरकारको यसतर्फ पटक्कै ध्यान गएको देखिदैन । पर्यटक भित्राउन सबैभन्दा पहिला विमानस्थल निर्माण र राष्ट्रिय ध्वजावाहक एयरलाइन्सलाई प्रतिस्पर्धी बनाउनुपर्छ ।

तर, सन् २०१८ मा सञ्चालनमा आउने होटलका लागि भने भैरहवा र पोखरामा निर्माणाधिन एयरपोर्ट अनिवार्य सञ्चालनमा आइसक्नुपर्छ । यी एयरपोर्ट समयमा सञ्चालनमा आउँदैनन् कि भन्ने चिन्ताको विषय हो ।

अहिले सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई २४सै घण्टा सञ्चालनमा ल्याउने हो भने वाषिर्क २/३ लाख पर्यटक थप्न सकिन्छ । यसका लागि एयरपोर्टको ‘रन वे’ विस्तार देखि टर्मिनल भवन तथा अन्य टेक्निकल सुधारमा जोड दिनुपर्छ ।

हामीले २० लाख पर्यटक भित्राउने लक्ष्य राख्नुपर्छ । एयरपोर्टबाट मात्र होइन, भारत र चीन हुँदै सडकबाट पनि पर्यटक भित्राउन सकिन्छ । यसका लागि टे्रेन सञ्चालन गर्नुपर्‍यो, बाटो राम्रो बाएर स्तरीय बसहरु सञ्चालन गर्नुपर्‍यो ।

यसरी पर्यटक बढाउन सकेमा सञ्चालनमा रहेका र सञ्चालनको तयारीमा रहेका होटलहरु नै अपुग हुन्छन् । सिजनमा त अहिले पनि होटलका रुमहरु कम भइरहेका छन् ।

सिजनमा अहिले पनि होटल पुग्दैनन्, अफसिजनमा खाली हुन्छन् । अहिले हाम्रो समस्या सिजन र अफसिजनबीच व्यालेन्स मिलाउन नसक्नु हो ?

हामीले वाषिर्क न्यूनतम १० लाख पर्यटक भित्राउन सक्ने हो भने सिजन र अफसिजनले खासै फरक पार्दैन । पछिल्लो समय अफसिजनमा भारत र चीनबाट पर्यटक आउन थालेका छन भने सिजनमा तेस्रो मुलुकबाट आइरहेका छन् ।

नेपाल पर्यटनका लागि ठूलो सम्भावना भएको मुलुक हो । किनभने भारतमा गर्मी हुँदा यहाँ शितल हुन्छ । चाइनमा चिसो हुँदा यहाँ न्यानो हुन्छ । जसले गर्दा भारतीय र चाइनिज पर्यटक तान्न सकिन्छ । यो सिजनमा उनीहरुको छुट्टी पनि मिल्दो रहेछ ।

अहिले नेपालका पाँच तारे होटलबाट लगानीकर्ताले कुन दरमा प्रतिफल लिइरहेका छन् ? होटल घाटामै चल्ने अबस्था त पक्कै छैन् होला ?

नेपालमा निकै कम खर्च गर्ने पर्यटकहरु आइरहेका छन् । यी पर्यटकबाट तारे होटल चलाउन समस्या परिरहेको छ । हामीले खर्चालु पर्यटक भित्राउनेतर्फ सोँच्दै सोँचेनौं ।

sangrilla woner (10)

हाम्रा होटलको प्रमुख समस्या भनेको सञ्चालन लागत उच्च हुनु । भुटानमा रुमको जति धेरै पैसा लिएपनि सञ्चलान लागत निकै कम छ । त्यहाँ विजुलीको एक रुपैयाँ भारु रहेको छ, हाम्रो जेनेरेटर चलाउँदा झण्डै ५० रुपैयाँ पुग्छ ।

यहाँ लेवर कष्ट पनि उच्च छ । कर्मचारीबाट पुरा गर्नै नसकिने माग आइरहन्छन् । त्यसमाथि सरकारलाई मोटो रकम ट्याक्सका रुपमा बुझाउनुपर्छ । सञ्चालनमा रहेका १० वटा पाँच तारे होटलले मात्र वाषिर्क ३ अर्ब ट्याक्स बुझाउँछन् । त्यसपछि आम्दानी कर  पनि बुझाउनुपर्छ ।

हामी सरकारलाई करको दर घटाउनुस्, दायर बढाउनुस् भनिरहेका छौं । सरकार कर असुल्न पाँचतारे होटलमा मात्र केन्दि्रत रहेको देखिन्छ । सबै होटललाई करको दायरामा ल्याएर कर असुल्नुपर्छ ।

तर, पब्लिक कम्पनीमा परिणत भएका पाँचतारे होटले नाफा बढ्दै गइरहेको उनीहरुको वित्तीय प्रतिवेदनले देखाउन थालेको छ नी ?

त्यो तुलनालाई नै म गलत भन्छु । द्वन्द्वको बेलासँग अहिलेको समयलाई कसरी तुलना गर्न सकिन्छ ? द्वन्द्वको बेलामा त हाम्रो मार्केट ओरालो लागिसकेको थियो । सांग्रिलाले पनि ३० डलरमा झरेर रुमहरु बेच्न बाध्य भएको थियो । अहिले बल्ल सय डलर पुर्‍याउन सकेका छौं ।

त्यो बेलासँग अहिलेको कारोबारलाई तुलना गर्ने हो भने कारोबार बढेको छ । तर, लगानीको प्रतिफलका हिसावले यो आम्दानी केही होइन । पहिले बिजुलीको समस्या कम थियो । अहिले इन्धनदेखि लेवर कष्टसम्म बढेको छ । महंगी पनि बढेको छ । यति भन्न सकिन्छ, अहिले होटलको आम्दानी विस्तारै बढिरहेको छ ।

बिगत एक डेढ बर्षयता नेपालमा धमाधम बिदेशी चेन होटलहरु आइरहेका छन् । यसले नेपालमा पर्यटकको संख्या बढाउन मद्दत पुग्छ ?

विदेशी ब्रान्ड आइसकेपछि पर्यटन उद्योगमा राम्रो प्रभाव पर्छ । विदेशी ब्रान्डले आफ्नो विश्वव्यापी सञ्जालको प्रयोग गरी गुणस्तरीय पर्यटक भित्राउँछन् । पर्यटकलाई उनीहरुले कन्भिन्स गर्न सक्छन् ।

हो, विदेशी चेनको प्रवेशले होटलको पहुँच अन्तर्राष्ट्रिय स्तरमा पुग्छ । उनीहरुसँग ठूलो अन्तर्राष्ट्रिय सञ्जाल हुने हुँदा होटलको मार्केटिङका लागि समेत सहज हुन्छ । कतिपय मानिसहरु इन्टरनेशन ब्रान्डको लोयल मेम्बर हुन्छन् ।

कुनै पनि ठाउँमा घुम्न जाँदा उनीहरुले त्यहाँ आफु मेम्बर भएको होटल छ कि छैन भनेर खोज्छन् । यदि आफुले खोजेको होटल नभएमा मात्र उनीहरु अन्य होटलमा बस्न जान्छन् । यसले गर्दा पनि विदेशी ब्रान्डको आवश्यकता परेको हो ।

Parbin-pandey-2त्यसमाथि विदेशी चेन आउँदा गुणस्तरीयता पनि बढ्छ । होटलको मूल्य र गुणस्तरता कायम गर्न उनीहरु सक्षम हुन्छन ।

हाम्रा होटलहरुको जुन एभरेज रुम रेट छ, हामीले उपलब्ध गराएका सेवा सुविधाहरुको हिसावमा महंगो हैन र ?

हामीले अहिले बेचिरहेको रेट महंगो होइन । हामीले सय देखि दुई सय डलरको हाराहारीमा रुमहरु बेच्न सक्नुपथ्र्यो । चर्को मूल्य तिर्न सक्ने पाँचतारेमा, नसक्नेहरु साना होटलमा बस्न सक्थे । यहाँ विभिन्न भेराइटीका होटलहरु सञ्चालनमा रहेका छन् ।

भुटानका होटलहरुमा सेवा सुविधा खासै छैन, तर एउटै रुमहरु डेढ लाख रुपैयाँसम्ममा बेचिरहेका छन् । त्यहाँ भन्दा त यहाँ निकै धेरै सेवा सुविधा उपलब्ध गराइरहेका छौं ।

मलाई के लाग्छ भने जबसम्म पाँचतारे होटलको रेट बढ्दैन, तल्लो स्तरका होटलहरुले कसरी ग्रो गर्छन ? हामीले पर्यटकीय प्रोडक्ट बढाएर, अन्तर्राष्ट्रिय बजारमा मार्केटिङ गरेर खर्चालु पर्यटक भित्राउनुपर्छ ।

खर्चालु पर्यटक भित्राउन हामीसँग त्यो किसिमको प्रोडक्ट छ कि छैन ? प्रोडक्ट नभई कसरी पर्यटक ल्याउन सक्छौं ? डिलक्स होटल आउँदैमा पर्यटक आउने त होइन नी ?

हो, पर्यटक भित्राउन डिलक्स होटलले मात्र हुँदैन, प्रोडक्ट नै आवश्यक पर्छ । त्यहि भएर मैले पूर्वाधार र प्रोडक्ट डेभलपमेन्टमा जोड दिएको हुँ ।

पर्यटकको दैनिक खर्च बढाउन पनि विभिन्न भेराइटीका प्रोडक्टहरु पस्किन सक्नुपर्छ । हामीसँग स्पष्ट दृष्टिकोण भएमा संसारमै सबैभन्दा महंगो र भेराइटीका पर्यटकीय प्रोडक्टहरु विकास गर्ने सम्भावना रहेको छ । यसतर्फ कसैको ध्यान पुग्न सकेको छैन ।

अहिले विदेशी चेनहरु ‘म्यानेजमेन्ट कन्ट्रयाक्ट’ को मोडलमा आइरहेका छन् । शेराटन होटललाई छाडने हो भने पछिल्लो समयमा घोषणा भएका कुनै पनि तारे होटल प्रत्यक्ष बिदेशी लगानीमा वा साझेदारीमा आएको देखिन्न, सवैजसो लगानीकर्ता नेपाली नै छन् । नेपाली होटल ब्यबसायमा बिदेशी लगानीकर्तालाई अझै आत्मबिश्वास नदेखिएको हो ?

ठूलो बिदेशी लगानीका लागि स्थिर नीति र प्रयाप्त पूर्वाधार आवश्यक पर्छ । लगानीकर्तालाई उत्साहित बनाउने खालको यहाँ न नीति छ, न त पूर्वाधार नै । कसरी विदेशी ब्रान्ड लगानी गर्न आउँछन् ?

पर्यटनको सिधा सम्पर्क पूर्वाधारमा हुन्छ । पर्यटक कि त जहाजबाट आउने हो, कि त सडकबाट । सडक र आकाश मार्ग विस्तार गर्न नसकेसम्म कसरी पर्यटक आउँछन् ? अहिले सानो-सानो लगानीमात्र आइरहेको छ ।

सबैभन्दा पहिला हाम्रो नीति लगानीमैत्री बनाउनुपर्‍यो । हामी त फसिसकेका छौं, निस्किन सक्दैनौं, माथि उठ्न प्रयास गर्नेमात्र हो । जसले लगानी गरिसकेको छैन नीति राम्रो भएन, प्रतिफल आउने देखेन भने कसरी लगानी गर्छ  ?

बाहिरबाट चमक धमक देखेर लगानी गर्न खोजिन्छ । यहाँ जति चमक धमक छ त्यति नै बढी समस्या पनि छ ।

पुराना होटलहरु पनि नयाँ-नयाँ बिदेशी ब्यबस्थापन कम्पनीलाई जिम्मा दिने क्रम बढेको छ । सांग्रिलाले पनि कुनै बिदेशी साझेदार भित्राउँदै छ कि ?

हामीले पनि विदेशी चेन ल्याउने सोँचिरहेको छौं । हाम्रो व्यवस्थापनले भन्दा विदेशी व्यवस्थापनले बढी पर्यटक तान्न सकिन्छ । हामी होटल विस्तारमा जाँदा सबै होटल लोकल ब्रान्डबाट चलाउन गाह्रो हुन्छ ।

आफ्नै लोकल चेनहरु विकास गर्ने सम्भवना कत्तिको छ ?

लोकल चेनहरु विकास गर्ने सम्भावना नभएको भन्न त मिल्दैन । सोल्टी होटलले ४/५ वटा होटलहरु विस्तार गर्दै छ । हामीसँग लोकल चेन विकास गर्न सबैभन्दा ठूलो अभाव दक्ष जनशक्तीको रहेको छ ।

अहिले दक्ष जनशक्ती सबै विदेश पलायन भइसकेका छन् । विदेश पढ्न गएका पनि नेपाल फर्किन मान्दैनन् । यसमा सबैभन्दा ठूलो व्यवस्थापकको आवश्यकता हुन्छ । दक्ष व्यवस्थापक नभई व्यवस्थापनको काम अगाडि बढाउन सकिदैन ।

अहिले पाँचतारे होटलमा हेर्नुभयो भने विदेशी व्यवस्थापक पाउनुहुन्छ । भएका एक/दुई व्यवस्थापक सबै पाँचतारे होटल चहारिसकेका छन् । लोकल चेनको विकासमा दक्ष व्यवस्थापकको अभाव नै अहिलेको समस्या हो ।

पछिल्ला वर्षहरुमा नेपालका कुन-कुन क्षेत्र टुरिजम हबका रुपमा विकास भइरहेको पाउनुहुन्छ ?

तराइको कुरा गर्ने हो भने नेपालगञ्ज, विराटनगर, विरगञ्ज, लुम्बिीनी, चितवन, बर्दिया, धनगढी लगायतका क्षेत्रहरु टुरिजम हबका रुपमा विकास भइरहेका छन् । भारत चीनसँग जोडिएका बोर्डरहरुमा होटल व्यवसायको राम्रो सम्भावना देखिन्छ । किनभने त्यहाँ व्यवसायिक क्रियाकलाप बढिरहेका छन् ।

sangrilla woner (8)

भैरहवा एयरपोर्टको स्तरोन्नती हुनासाथ लुम्बिनी सबैभन्दा राम्रो पर्यटकीय गन्तव्य हुन्छ । पोखरा पहिलेदेखि नै पर्यटकीय क्षेत्र भइहाल्यो । हिमाली क्षेत्रमा हाइ एन्ड टुरिष्टलाई फोकस गर्न सकिन्छ । किनभने त्यहाँ कि त हेलिकप्टबाट जानुपर्छ, हिँडेर गएमा धेरै लामो समय लाग्छ र खर्च पनि बढी हुन्छ ।

मुक्तिनाथ, घान्द्रुक, अन्नपूर्ण बेसक्याम्प, रारा, अपर डोल्पा, मुस्ताङ, खप्तड, कर्णाली नदी, ठूला राजमार्गहरु, खुम्बु क्षेत्र, गोसाईं कुण्ड, बडीमालिका लगायतका क्षेत्रहरु पर्यटकीय हबका रुपमा विकास हुँदै गइरहेका छन् ।

द्वन्द्वको समयअघि र अहिले अन्तराष्ट्रिय अर्थतन्त्रमा पनि निकै परिवर्तन भएको देखिन्छ । बिकशित र खर्चालु देशहरु आर्थिक मन्दीबाट गुज्रिए र नयाँ-नयाँ बित्तिय बादशाहरु जन्मिए । यसले नेपाल आउने पर्यटकमा केही परिवर्तन देखिएको छ ? हाम्रो फोकस अब कहाँ हुनुपर्छ ?

तत्कालका लागि हामी रिजनल टुरिजम मार्केटिङमा जानुपर्छ भन्छु । चीन, थाइल्यान्ड, मलेसिया, भारत लगायतका मुलुकहरुबाट पर्यटक भित्राउ कस्सिनुपर्छ । रसिया पनि हाम्रो लागि निकै पोटेन्सियल कन्ट्री हो । अरबी मुलुकबाट पनि प्रसस्त पर्यटक भित्राउन सकिन्छ ।

हामीले मार्केटिङ गर्दा ती देशहरुको अर्थतन्त्र राम्रोसँग बुझ्नुपर्छ । अष्ट्रेलियाले पछिल्लो समय आर्थिक क्षेत्रमा फड्को मारिसकेको छ, उनीहरुलाई भ्रमणमा ल्याउन सक्छौं । अमेरिका पहिलेदेखि नै पोटेन्सियल छ ।

नेपाल भ्रमणमा आउने पर्यटकको रुची र प्राथमिकतामा पहिले र अहिले कस्तो परिवर्तन पाउनुहुन्छ ? उनीहरुको प्राथमिकता फेरिएको छ कि छैन ?

पहिले र अहिलेका पर्यटकको रुची र प्राथमिकता पक्कै पनि चेञ्ज भएको छ । हामीसँग पनि पर्यटकीय प्रोडक्टहरु बढिरहेका छन् । पछिल्लो समय नेपाल आउने पर्यटकले एडभेञ्चर टुरिजममा बढी रुची राख्ने गरेको पाइन्छ ।

नेपालमा एडभेञ्जर्स गतिविधिहरु पनि बढ्दै गइरहेका छन् । ट्रेकिङदेखि बञ्जी जम्प गर्नेसम्मको भिड लाग्ने गरेको छ । केही समय अघिसम्म हिमाल र तालमा अडिएको नेपाली पर्यटनमा विविधता आइरहेको छ ।

यसको अलवा फर्मिङ र कृषि पर्यटनमा पनि विशेष रुची देखिन्छ । यही कारण कृषि पर्यटनको अवधारण बढ्दै गइरहेको हो । कतिपयले होटलमै फार्मिङ जोन बनाइरहेका छन् । यस्ता गतिविधिमा पर्यटकको आकर्षण देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment