Comments Add Comment

प्रचण्ड मोर्चाको लाठी जुलुसमा ठाउँ-ठाउँमा झडप

१५ चैत, काठमाडौं । एकीकृत नेकपा माओवादी नेतृत्वको ३० दलीय मोर्चाको लाठी जुलुसमा बिभिन्न जिल्लामा झडप भएको छ । काठमाडौंको भृकुटीमण्डपमा पनि प्रहरीले हस्तक्षेप गरेको छ । तर, कुनै अप्रिय घटना भने भएन ।

गृहमन्त्रालयले लाठी जुलुस निकाल्न प्रतिबन्ध लगाए पनि मोर्चाले आइतबार देशभर लाठीसहित प्रदर्शन गरेको छ ।

Bhairahawa-Jhadap-1

  • भैरहवामा प्रहरी र प्रदर्शनकारी आमने सामने । तस्वीर : सलमान खान

भैरहवा बन्द आह्वान

रुपन्देहीको भैरहवामा पनि मोर्चाको लाठी जुलुसमा प्रहरीले हस्तक्षेप गरेको छ । एकीकृत नेकपा माओवादी नेतृत्वको ३० दलिय मोर्चाले निकालेको लाठी जुलुसमा प्रहरीले हस्तक्षेप गरेको विरोधमा सोमबार भैरहवा बन्द घोषणा गरिएको छ ।

पूर्वनिर्धारित कार्यक्रम अनुसार मोर्चाले आइतबार भैरहवामा लाठी जुलुस निकालेको थियो । भैरहवाको बुद्ध चोकबाट निकाल्न थालिएको लठ्ठी जुलुसमा प्रहरीले हस्तक्षेप गरेको थियो । झडपमा मोर्चाका केही कार्यकर्ताहरु घाइते भएका छन् । उनीहरुले बोकेका बाँसका लठ्ठी प्रहरीले खोसेको छ ।

झडपपछि जिल्ला प्रहरी कार्यालय रुपन्देहीको अगाडि पुगेका केही कार्यकर्ताहरुले गृहमन्त्री बामदेव गौतम, प्रमुख जिल्ला अधिकारी तोयम रायमाझी र एसपी राजेन्द्र ढकालको विरोधमा नाराबाजी समेत गरेका थिए ।

प्रहरीले लाठीचार्ज गरेर आफ्ना कार्यकर्ता घाइते बनाएको विरोधमा मोर्चाले सोमबार भैरहवा बजार बन्द घोषणा समेत गरेको छ । मोर्चामा आबद्ध तराइ मधेश लोकतान्त्रिक पार्टीका रुपन्देही जिल्ला अध्यक्ष अजय वर्माले भने, ‘शान्तिपुर्वक जुलुस प्रदर्शन गर्दा समेत रुपन्देही प्रशासनले लाठीचार्ज गरी कार्यकर्ताहरुलाई घाइते बनाएको छ, सोको विरोधमा हामीले भोली भैरहवा बजार बन्द आह्वान गरेका हौँ । ‘
मोर्चाले भैरहवाको बुद्ध चोकबाट लाठी जुलुस निकालेर नारायणपथ, विद्रोही चोक, जिल्ला प्रहरी कार्यालय, मिलन चोक, जिल्ला प्रशासन कार्यालय हुदै देवकोटा चोकमा समापन गरेको थियो ।

प्रहरीले ६ बर्षे बालकलाई पनि छोडेन

काभ्रेपलाञ्चोकको बनेपास्थित चारदोबाटो चोकमा दिउँसो २ बजे ३० दलीय मोर्चा र प्रहरीबीच झडप हुँदा एक दर्जन घाइते भएका छन् । झडपमा आफ्नो आमालाई भेट्न भनि हिँडेका स्थानीय ६ वर्षीय विराज थापालाईसमेत प्रहरीले लाठीले हानेको छ ।

स्थानीय चाँदनी चोकबाट निस्केको लाठी जुलुसमा प्रहरीले हस्तक्षेप गरेपछि भएको झडपमा इलाका प्रहरीकार्यालय बनेपाका प्रहरी निरीक्षक दीपक भारतीसहित झन्डै एक दर्जन घाइते भएका हुन् । प्रहरी निरीक्षक भारतीको दाँहिने हातमा चोट लागेको छ भने अन्य केहीको खुट्टामा चोट लागेको छ ।

एमाओवादी नेतृत्वको मोर्चाले एमाओवादी जिल्ला कमिटी सदस्य खड्ग थापा लगायत ५ जना घाइते भएको जनाएको छ ।

चितवनमा आधा दर्जन घाइते

चितवनको नारायणगढमा ३० दलीय मोर्चाले लाठी जुलुस निकाल्ने क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा केहीबेर स्थिति तनावग्रस्त भएको थियो । दिउँसो सवा १२ बजे क्याम्पाचौरबाट लायन्सचोक पुगेको लाठी जुलुसलाई प्रहरीले हस्तक्षेप गरेको थियो ।

प्रहरीको लाठीचार्जबाट जिल्ला परिषद सदस्य ओमनाथ पाण्डेसहित आधा दर्जन नेता कार्यकर्ता घाईते भएको एमाओवादी चितवनका अध्यक्ष यमबहादुर परियार ‘ईन्द्रजीत’ले जानकारी दिए ।

यस्तै प्रहरीले पार्टी जिल्ला ईन्चार्ज ईश्वरी भट्टराई, अध्यक्ष परियार, केन्द्रीय परिषद सदस्य ठाकुर ढकाल, क्षेत्र नं. ५ का ईन्चार्ज अन्जान तिमल्सिना, क्षेत्र नं. ४ का ईन्चार्ज बाबुराम खरेल र वाईसीएलका माडी ईन्चार्ज सन्तोष पनेरुलाई गिरफ्तार गरेको अध्यक्ष परियारले जानकारी दिए । शान्तिपूर्ण ढंगबाट पार्टीको कार्यक्रमलाई अगाडी बढाउने क्रममा प्रहरी प्रशासनले ज्यादती गरेको भन्दै एमाओवादी चितवनले घोर भ्रर्त्सना गरेको छ ।

पोखराको न्यूरोडमा पनि झडप

कास्कीको पोखरामा लाठी जुलुस निकालेका एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाका कार्यकर्ता र प्रहरीबीच न्यूरोडमा झडप भएको छ ।

हातमा बाँसका भाटा बोकेका मोर्चाका कार्यकर्ताहरुको जुलुस बगर, चिप्लेढुंगा हुँदै न्यूरोड पुगेकाबेला प्रहरीले हस्तक्षेप गरेको थियो । प्रहरीको लाठी चार्जपछि जुलुस तितरबितर भएको छ । केहीको टाउको र अनुहारमा चोट लागेको छ ।

प्रत्यक्षदर्शीका अनुसार घाइतेहरुलाई मोर्चाकै कार्यकर्ताहरुले मोटरसाइकलमा राखेर अस्पताल पुर्‍याएका छन् ।

स्थानीय व्यवसायीहरुका अनुसार मोर्चाका कार्यकर्ताहरुले पसलका सटरहरुमा लाठी हान्दै बन्द गर्न दवाव दिएपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।

Ramechhap-Julus

  • लाठीसहित रामेछाप बजार परिक्रमा गर्दै मोर्चाका कार्यकर्ता । तस्वीर : नवराज पथिक

रामेछापमा प्रहरी र मोर्चाको ‘मिलेमतो’

रामेछापमा भने प्रहरी र प्रदर्शनकारीबीचको आपसी समझदारीमा शान्तिपूर्णरुपमा प्रदर्शन गरिएको छ । एमाओवादी केन्द्रीय सदस्य एवं रामेछाप जिल्ला इञ्चार्ज धावा लामाको नेतृत्व निकालिएको जुलुसले बजार परिक्रमा गरिसकेपछि प्रहरीलाई लाठी बुझाएर कोणसभा गरेको छ ।

व्यस्त बजारमा प्रदर्शनकारी लाठीसहित निस्किए पनि प्रहरीले कतै पनि हस्तक्षेप गरेन । देवकोटा चोक, मन्थली बजार हुँदै कटहर बोटमा जुलुस पुगेपछि प्रहरीले बाँसका लाठी मागेको थियो । त्यसपछि प्रदर्शनकारीहरुले पालैपालो प्रहरीलाई लाठी बुझाएर कोणसभा गरेका थिए । यसलाई स्थानीयले प्रहरी र प्रदर्शनकारीबीच मिलेमतो भनेर बुझे ।

कोणसभालाई सम्वोधन गर्दैै रामेछाप क्षेत्र नम्बर २ का एमाओवादी सभासद श्याम श्रेष्ठले लाठी प्रदर्शन अन्दोलनको पहिलो प्रदर्शन मात्र भएको बताए । उनले अब आन्दोलन सशक्त रुपमा अघि बढ्ने चेतानी समेत दिए ।

30-Daliya-Morcha-Dang

  • घोराहीमा प्रहरी र प्रदर्शनकारी धकेला धकेल गर्दै । तस्वीर : निमुसंगम घर्ती/अनलाइनखबर

दाङमा ५ सय मिटरसम्म मात्रै प्रदर्शन

दाङको घोराहीमा ३० दलीय मोर्चाले गरेको लाठी जुलुसमा प्रहरीले हस्तक्षेप गरेको छ । एमाओवादी पोलिटव्युरो सदस्य रेखा शर्माको नेतृत्वमा ट्राफिक चोकबाट सुरु भएको लाठी जुलुस ५ सय मिटर टाढा नपुग्दै प्रहरीले रोकेको थियो ।

करिब १० मिनेट प्रहरी र आन्दोलनकारीबीच धकेलाधकेल भएपछि अन्ततः आन्दोलनकारीले रझेनाचोकमै कोणसभा गरेका छन् । यसअघि लाठी जुलुस तुलसीपुर चोकमा पुगेर समापन हुने कार्यक्रम थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment