Comments Add Comment

अष्ट्रेलिया पाँचौं पटक विश्व च्याम्पियन

Australia-team-after-lifting-the-World-Cup

१५ चैत, काठमाडौं । न्यूजिल्याण्डविरुद्ध सहज जित हात पार्दै अष्ट्रेलिया पाँचौं पटक वन डे क्रिकेटको विश्व च्याम्पियन बनेको छ ।

आइतबार भएको फाइनलमा कप्तान माइकल क्लार्क र स्टिभ स्मिथको शतकीय साझेदारीको मदतमा न्यूजिल्याण्डलाई ७ विकेटले पराजित गर्दै अष्ट्रेलिया च्याम्पियन मात्र बनेन,  समूह चरणमा ब्यहोरेको हारको बदाला समेत लिएको छ । यससँगै क्लार्कले आफ्नो वन डे क्रिकेटको सुखद अन्त्य गरेका छन् ।

मेलबर्न क्रिकेट ग्राउण्डमा न्यूजिल्याण्डले प्रस्तुत गरेको १८४ रनको लक्ष्य अष्ट्रेलियाले ३३.१ ओभरमा ३ विकेट गुमाएर भेट्टायो । अष्ट्रेलियाको पहिलो विकेट भने सस्तैमा गुमेको थियो । मात्र २ रन जोड्दा एरोन फिन्च शुन्यमा नै आउट भए ।

दोस्रो विकेटका लागि डेभिड वार्नर र स्टिभ स्मिथले ६१ रनको साझेदारी गरे । दोस्रो विकेटका रुपमा आउट भएका वार्नरले ४६ बलमा ४५ रन बनाए ।

माइकल क्लार्कले तेस्रो विकेटका लागि स्मिथसँग ११२ रनको साझेदारी गरे । क्लार्क ७४ रनमा आउट भए । स्मिथ ५६ र बाट्सन २ रनमा अविजित रहे ।

खराव सुरुवात, १८३ मा अलआउट

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले ४५ ओभरमा सबै विकेट गुमाएर १८३ रन बनायो ।  उसको सुरुवात निकै खराव रहृयो । न्यूजिल्याण्डको स्कोर मात्र एक रन हुँदा कप्तान ब्रेन्डन म्याकुलम शुन्यमै बोल्ड आउट भए । यो विश्वकपमा न्यूजिल्याण्डको सबैभन्दा खराव सुरुवात थियो ।

उसका भरपर्दा ब्याट्सम्यान मार्टिन गुप्टिल ग्लेन म्याक्सवेलको बलमा १५ रनमै बोल्ड आउट भए । थप ६ रन जोड्दा केन विलियम्सन १८ रनमा आउट भएपछि न्यूजिल्याण्ड दबावमा आयो ।

तर, ग्राण्ट इलियट र रोस टेलरले शतकीय साझेदारी गर्दै न्यूजिल्याण्डको पारी सम्होलेका छन् । इलियटसँग १११ रनको साझेदारी गरेका टेलर चौथो विकेटका रुपमा व्यक्तिगत ४० रनमा आउट भए ।

चौथो विकेट गुमाउँदा न्युजिल्याण्डको स्कोर १५० रन थियो । त्यसपछि विकेट झर्ने क्रम तीव्र भयो ।  कोरी एण्डरसन शुन्यमै बोल्ड भए भने र लुक रोन्चीले पनि खाता खोल्न सकेनन् । ड्यानअल भिट्टारीले ९ रन मात्र जोडे ।

न्यूजिल्याण्डको स्कोर १७१ रन हुँदा आठौं विकेटका रुपमा इलियट ८३ रनमा आउट भए । माट हेनरी शुन्य र टीम साउदी ११ रनमा नै पभेलियन फर्किए ।

अष्ट्रेलियाका फल्कनर र मिचेल जोनसनले ३/३ विकेट लिए भने मिचेल स्टार्कले २ र म्याक्सवेलले एक विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment