Comments Add Comment

प्रचण्डले भने-आन्दोलन तुहाउने नियत देखियो

Prachanda  650

१५ चैत, काठमाडौं । एकीकृत नेकपा माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको ३० दलीय मोर्चाले सत्तारुढ कांग्रेस र एमालेका नेताहरु सहमतिका लागि तयार नभएको निष्कर्ष निकाल्दै आन्दोलन चर्काउने निर्णय गरेको छ ।

कांग्रेस र एमाले नेतृत्वसँगको चरणवद्ध छलफलपछि प्रचण्डले आइतबार ३० दलीय मोर्चाका प्रभावशाली नेताहरुको आकस्मिक बैठक बोलाएका थिए ।

बैठकमा उनले दलहरुसँग भएको वार्ताबारे ब्रिफिङ गर्दै सत्तारुढ दलहरुले आन्दोलन तुहाउन मात्रै वार्ताको नाटक गरेको बताएका छन् । ‘प्रधानमन्त्री सहमति गर्नुपर्छ भन्नुहुन्छ तर, मूर्त कुरा गर्नुहुन्न’ प्रचण्डले भने-‘कांग्रेस र एमाले अलिकति पनि लचिलो भएका छैनन् ।’

सत्तारुढ दलहरुले आफूहरुलाई भित्तामै पुर्‍याएको र उनीहरु सहमतिका लागि अलिकति पनि लचिलो नभएको प्रचण्डको आरोप थियो ।

आफूले सहमतिबाटै संविधान जारी गर्ने प्रतिवद्धता गर्दै संविधान जारी गर्ने मिति तोकौं भन्दा पनि कांग्रेस र एमाले तयार नभएको उनले बताए । ‘सहमतिको प्रतिवद्धता पनि नजनाउने र भएन भने प्रक्रियाबाट संविधान जारी गर्छौं भन्छन्’ बैठकमा प्रचण्डले भने- ‘यो आन्दोलन तुहाउने प्रयासबाहेक केही होइन ।’

बल प्रयोग गरेको आरोप

यसैवीच एमाओवादी अध्यक्ष प्रचण्डले आइतबार देशका विभिन्न स्थानमा भएको लाठी जुलुसमा समेत सरकारले बल प्रयोग गरेको भन्दै असन्तुष्टि जनाएका छन् ।

प्रधानमन्त्रीसँग कुरा गर्दा उनी सकारात्मक भए पनि गृहमन्त्री कडा रुपमा प्रस्तुत भएको प्रचण्डको गुनासो छ ।

बन्द लगायतका कार्यक्रम

मोर्चाको बैठकले चैत १९ गतेको बन्दसहितका आन्दोलनका कार्यक्रम जारी राख्ने निर्णय गरेको छ । तर, वीरगञ्जमा जैन धर्मावलम्बीहरुको कार्यक्रम रहेकाले उनीहरुलाई भने बन्दमा छुट दिनुपर्ने प्रचण्डले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment