Comments Add Comment

पच्चिस करोड लगानीमा सुर्खेतमा खुल्दै छ अहिलेसम्मकै स्तरीय होटल

Suvakamana-hotel-Surkhet
सुभकामना होटलको निर्माणाधिन भवन ।

भरतबन्धु थापा
१६ चैत, सुर्खेत । मध्यपश्चिमको सदरमुकाम सुर्खेतमा स्तरीय पर्यटकलाई  लक्षित गर्दै डिलक्स होटल सञ्चलन हुने भएको छ ।

मध्यपश्चिमका चर्चित पर्यटकीय स्थलको दर्शनका लागि आउने स्वदेशी तथा बिदेशी पर्यटकलाई लक्षित गर्दै स्थानीय तीन जना ब्यबसायिले होटल संचालन गर्न लागेका हुन् ।

आगामी दशैंसम्म सञ्चालनमा आउने होटलको ८० प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको प्रबन्धक राजबहादुर शाहीले बताए । मध्यपश्चिम क्षेत्रका रारा, डोल्पा, जुम्ला, दैलेख, जाजरकोट, मानसरोबर लगायतका गन्तव्यमा जाने पर्यटकलाई लक्षित गर्दै होटल निर्माण गर्न लागिएको हो ।

स्थानिय टेकबहादुर भण्डारी, पदमबहादुर शाही र प्रकाश उप्रेतीले संयुक्त लगानीमा झण्डै २५ करोड रुपैयाँको लागतमा होटल सञ्चालन गर्न लागेका हुन् । भण्डारी नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य समेत हुन् ।

सुबिधा

साढे १४ रोपनी क्षेत्रफलमा फैलिने निर्माणाधीन होटलको भवन ४ तलाको हुनेछ । जहाँ ६० वटा रुमहरु रहनेछन् । प्रबन्धक शाहीका अनुसार ३ वटा प्रेसिडेन्सियल स्वीट रुम, ७ वटा फेमिली स्वीट रुम, २० वटा सुपर डिलक्स र ३० वटा डिलक्स रुमहरु रहनेछन् ।

होटलमा तीन सय जना अटाउने पार्टी हल,  सय र पचास जना अटाउने दुईवटा सेमिनार हल पनि बनाइने छ । यसका साथै ब्याङ्क्वेट, जीम हल, स्वीमिङ पुल, टेनिस कोर्ड, फरक स्वादका दुइवटा रेष्टुरेन्ट, ब्युटिपार्लर लगायतका सुविधाहरु रहने प्रबन्धक शाहीले अनलाइनखबरलाई बताए ।

Suvakamana-hotel-Surkhet-2
निर्माणाधिन होटलको स्केच ।

होटलभित्र सुर्खेतमै सबैभन्दा ठूलो दुई हजार स्क्वायर फिटमा आकर्षक स्वीमिड पुल बनाउन लागिएको छ । स्वीमिङ पुलको माध्यमबाट होटलमा ग्राहक आकषिर्त गर्ने उद्देश्य सञ्चालकहरुको छ ।

होटलमा बास बस्नका लागि प्रेसिडेन्सियल स्वीट रुमको सेवा शुल्क र भ्याट बाहेक प्रतिरात १० हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ । फेमली स्वीट रुमका लागि प्रतिरात ७ हजार रुपैयाँ, सुपर डिलक्सका लागि ४ हजार रुपैयाँ र डिलक्स रुमका लागि २ हजार रुपैयाँ तिर्नुपर्ने प्रबन्धक शाहीले बताए ।

स्तरीय पर्यटक लक्षित 

सुर्खेतमा आएका पर्यटकलाई उचित बासको व्यवस्था गर्न सुविधा सम्पन्न होटल खोल्न लागेको सञ्चालक भण्डारीको भनाई छ । उनका अनुसार मध्यपश्चिममा आउने पर्यटकका लागि सुर्खेतमा स्तरीय होटलको खाँचो छ ।

अहिले होटलको निर्माण कार्य तिब्र गतिमा भइरहेको छ । आगामी सिजनमा होटल सञ्चालनमा आइसक्ने भण्डारीले जानकारी दिए । होटल सञ्चालनमा आइसकेपछि मध्यपश्चिमको पर्यटन प्रर्वद्धनमा ठूलो टेवा पुग्ने उनको विश्वास छ ।

अर्का सञ्चालक प्रकाश उप्रेतीले गुणस्तरीय पर्यटक भित्राउन होटल निर्माण गर्न लागेको बताए । सुर्खेत उद्योग बाणिज्य संघका कोषाध्यक्ष समेत रहेका उनले स्वदेशी तथा विदेशी, एनजिओ, आइएनजी र विकासे योजनाका कर्मचारीहरु आफ्ना ग्राहक हुने जानकारी दिए ।

मध्यपश्चिमका रारा ताल, फोकसुण्डो ताल, हिन्दूहरुको पवित्र तिर्थस्थल मानसरोवर, ज्वालाहरुको क्षेत्र दैलेख, नेपाली भाषाको उद्गमस्थल जुम्लाको सिंजा लगायतका गन्तव्यमा सुर्खेत हुँदै जानुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment