Comments Add Comment

डा. केसीलाई भेट्न एमाले नेता किन गए ?

१६ चैत, काठमाडौं । पार्टी उपमहासचिव घनश्याम भुसाल र सचिव योगेश भट्टराई सहितका केही नेताले डा. गोविन्द केसीको अनसनस्थलमा गएर उनका मागमा समर्थन जनाएको भन्दै एमाले नेता राजेन्द्र पाण्डे लगायतले असन्तुष्टि जनाएका छन् ।

Dr Govinda KCमनमोहन मेडिकल कलेजका अध्यक्ष समेत रहेका पोलिटव्यूरो सदस्य पाण्डे, अर्का पोलिटव्यूरो सदस्य डा. वंशीधर मिश्र लगायतका नेताले भुसाल र भट्टराईसँग असन्तुष्टि पोखेका हुन् ।

केसीले एमाले विरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएर पार्टीको बदनाम गर्न खोजेको भन्दै पाण्डेले एमाले बिरोधी अभियानमा पार्टीका नेताहरु किन गएको भन्दै प्रश्न गरेको स्रोतले जनाएको छ ।

‘एमाले विरुद्ध संस्थागत रुपमा आन्दोलन घोषणा गरेर पार्टी र पार्टीका श्रद्धेय नेता मनमोहन अधिकारीको अपमान गर्ने व्यक्तिलाई भेटेकोमा मैले सम्बन्धित व्यक्तिसँग असहमति राखेको हुँ,’ पाण्डेले अनलाइनखबरसँग भने, ‘जो व्यक्तिले एमाले विरुद्ध आन्दोलन गरेको छ, उसैलाई किन भेट्ने ?’

पाण्डेले यस विषयमा बरिष्ठ नेता नेपालसँग समेत असन्तुष्टि जनाएका छन् । भुसाल, भट्टराई, पाण्डे र डा. मिश्र सबै पार्टीभित्र नेपाल पक्षधर मानिन्छन् ।

भुसाल लगायतका नेताहरुले भने आफूहरु केसीका मागमा समर्थन जनाउन भन्दा पनि एमालेप्रतिको आक्रोश मत्थर पार्न गएको जवाफ दिएको स्रोतले जनाएको छ ।

केसीको अनसन अभियानमा सामेल रहेका एमाले निकट चिकित्सक डा. प्रदीप ज्ञवालीको आग्रहमा आफूहरु त्यहाँ गएको जवाफ नेताहरुले दिएका थिए ।

‘त्यहाँ एमाले निकट डाक्टरमाथि अभद्र व्यवहार समेत भएकाले डा. ज्ञवालीको सुरक्षाका लागि पनि जानु जरुरी थियो,’ नेताहरुको भनाई थियो ।

डा. ज्ञवाली पहिले मनमोहन अस्पतालमै कार्यरत थिए । पछिल्लो समय उनी मनमोहन अस्पताल छाडेर केसीसँग निकट रहेका छन् ।

केसीको आन्दोलन मनमोहन मेडिकल कलेजलाई सम्वन्धन नदिनमात्र सिमित भएको भन्दै एमाले नेताहरुले उनको अनसनलाई एमाले विरोधी अभियान भनेका छन् ।

राजेन्द्र पाण्डे भन्छन्-अनसन हैन तमासा

‘उहाँको अनसनस्थलमा उहाँका समर्थक बाहेक अरुलाई प्रवेश छैन, वास्तवमा त्यहाँ अनसन भएकै छैन, तमासा भइरहेको छ,’ पाण्डेले भने, ‘अनसन बसेको एक घण्टामै स्वास्थ्य गम्भिर भयो भनेर प्रचार गरिन्छ, खाएर पनि अनसन हुन्छ ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment