Comments Add Comment

गाई फार्ममा १४ करोड लगानी, ५ हजार लिटर दुध उत्पादन लक्ष्य

Cow-Farm-Kavre-2

१६ चैत, काठमाडौं । करिव डेढ वर्ष अगाडि कार्भेको पात्लेखेतमा खोलिएको गौतमश्री गाई फार्मलाई थप विस्तार गरिएको छ । युवा व्यवसायी रामबहादुर गौतमले फार्ममा लगानी बढाई १४ करोड रुपैयाँ पुर्‍याएका छन् ।

फार्ममा उन्नत जातका गाई तथा बाख्रा पालन गर्नुका साथै अर्गानिक खेती गरिएको छ । अहिले फार्ममा तीन ५० वटा उन्नत र स्थानिय जातका गाईहरु रहेका छन् । जसमा होलस्टिन फ्रिजियन र जर्सी गाईको बाहुल्यता रहेको गौतमले बताए ।

विस्तार गरिएको गौतमश्री अर्गानिक तथा गाई फार्म मुख्यसचिव लिामणि पौडेलले शनिबार उद्घाटन गरेका थिए । ‘यो गाई फार्म अन्य व्यक्तिका लागि प्रेरणाको स्रोत बन्न सक्छ’ उनले भने- ‘ठूला-ठूला व्यवसायिक कृषि फार्म खोलेर मुलुकको आर्थिक विकासका साथै स्वदेशमै प्रशस्त रोजगारी सिर्जन गर्न सकिन्छ ।’

फार्ममा रहेका ६० प्रतिशत गाईहरु ब्याउने अवस्थामा रहेको गौतमले जानकारी दिए । जसले गर्दा हाल २२ सय लिटरमात्र दुध उत्पादन भइरहेको छ । गौतमले फार्ममा उत्पादित दुध काठमाडौंको कुलेश्वर र मैतीदेवीस्थित आफ्नै बिक्री केन्द्रमार्फत बिक्री गर्दै आएका छन् ।

GoutamShree-Cow-Farm

दुधको माग बढेसँगै उनले ५ सय गाईपालन गर्ने योजना बनाएका छन् । आगामी ६ महिना भित्रमा ५ हजार लिटर दूध उत्पादन गर्ने लक्ष्यका साथ काम अगाडि बढाएको गौतमले जानकारी दिए ।

सुरुमा कच्चा दूध बेच्दै आएका गौतमले अहिले नौनी, घ्यू, पनिर, रसवरी लगायतका वस्तुहरु उत्पादन तथा बिक्री गर्दै आएका छन् । स्थानीय किसानलाई निःशुल्क गाई दिने र उत्पादित दूध अरु व्यवसायीले भन्दा बढी मूल्यमा किन्ने घोषणा गरेको भएपनि स्थानीयले भने खासै चासो नदिएको उनको गुनासो छ ।

फार्ममा ७५ हजारदेखि तीन लाख रुपैयाँसम्मका गाईहरु रहेका छन् । गाईको आहाराका लागि ३ सय रोपनीमा घाँस खेती गरिएको छ । उनको फार्ममा ५० भन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् भने कामदारले मासिक २० हजार रुपैयाँसम्म पारिश्रमिक पाउने गरेका छन् ।

फार्मका प्रबन्ध निर्देशक रामबहादुर गौतमले फार्मलाई अन्य जिल्लामा विस्तार गर्दै लैजाने योजना रहेको बताए । उनले निकट भविश्यमै हेटौंडामा नयाँ फार्म खोल्ने तयारी भइरहेको जानकारी दिए ।

Cow-Farm-Kavre

अहिले सञ्चालनमा रहेको फार्ममा भैसीपालन पनि सुरु गर्ने उनका तयारी छ । छिट्टै तीनसय वटा भैंसी थप्ने बताउँदै उनले भैंसीपालनका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण भइरहेको जानकारी दिए ।

नेपाल ट्रष्टका सचिव नरबहादुर रजवारले गौतमश्री फार्म कृषिमा व्यवसायिकरणको नमूना भएको बताए ।

आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्माले कृषिको व्यवसायिकरण सँगसँगै औद्योगिकरणमा पनि जोड दिनुपर्ने बताए । कृषि क्षेत्रको व्यवसायिकरणमा युवा व्यवसायी गौतमको योगदानको प्रंशसा गर्दै उनले उद्यमशीलता प्रवर्द्धनमा कर प्रसाशनले भरपूर सहयोग गर्ने आश्वासन दिए ।

युएसएडको ‘फार्मर टु फार्मर’ कार्यक्रमअन्तर्गत अमेरिकाबाट नेपाल आएर १५ दिन तालिम दिएका गाई विशेषज्ञ डा. आर्ची एल डेभोरले नेपालमा गाईपालनको प्रचुर सम्भावना रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment