Comments Add Comment

म छविकी होइन, देशकै नायिका हुँ : शिल्पा पोख्रेल

chabi-and-shilpa
नायिका शिल्पा पोख्रेल म्यूजिक भिडियो हुँदै चलचित्रको रंगिन दुनियाँमा प्रवेश गरेकी हुन् । तर, चलचित्रमा  प्रवेश गरेसँगै उनी निर्माता छविराज ओझासँग जोडिएर गसिपमा हराइरहेकी छिन् । सयौ म्यूजिक भिडियोमा काम गरेर चलचित्रमा आएकी शिल्पा पोख्रेलसँग छविसँग जोडिएका गसिपका बिषयमा विजय आवाजले अनलाइनखबरका लागि गरेको कुराकानी :

१. तपाई भाग्यमा विश्वास गर्ने मान्छे हो या होइन ?
म भाग्यमा विश्वास गर्छु । भाग्य र काम सँगसँगै हो जस्तो पनि लाग्छ । तर, राम्रो काम भयो भने त भाग्यले साथ दिने हो नि होइन ।

२. निर्माता छवि ओझासँग सुरुवातमा नै काम नगरेको भए के हुन्थ्यो होला, के तपाइले यती धेरै चर्चा पाउनुहुन्थ्यो त ?
त्यो त म भन्न सक्दिन । अरु ब्यानरमा काम गरेको भए भन्न सकिदैनथ्यो होला । जुन खालको चर्चा भयो, स्क्यान्डल भयो चलचित्र चलाउनका लागि, यसका कारण पनि केही चर्चा त भयो । तर, पनि सायद यती धेरै चर्चा अरु ब्यानरमा काम गरेको भए नहुन पनि सक्थ्यो ।

३. तपाइको चर्चा कामले भयो या गसिपले ?
चलचित्र ‘लज्जा’ चल्नु भन्दा अगाडि गसिपले नै भयो  चलेपछि कामले भयो ।

४. छवि ओझासँग शिल्पाको बिहेको चर्चा चल्दा, तपाई भने के सोच्दै हुनुहुन्थ्यो ? भलै त्यो चलचित्र चलाउनका लागि मात्र थियो ?
सुरुमा समाचार आउँदा सबैले चलचित्र चलाउनका लागि मात्र हो भन्नुभयो । तर, पछि हजुरबा र हजुरआमाले तनाव दिन थाल्नुभयो । यतिबेला त म ढोका थुनेर पनि धेरै पटक रोएकी थिएँ । पछि ममी ड्याडीलाई यो चलचित्र चलाउनका लागि मात्र हो भनेर संझाएपछि उहाँहरुले साथ दिनुभयो । यसपछि भने केही आनन्द भयो ।

५. छवि ओझाले यस्तो स्क्यान्डल गर्नुहुन्छ भन्ने थाहा थिएन र ?
म  म्यूजिक भिडियो गर्ने मोडल थिएँ । म नेपाली चलचित्र खासै हेर्दिनथ्यँ । हेरेपनि एक दुइवटा मात्र हेरेको छु । म छवि ओझालाई नै चिन्दिनथ्यँ । नायिका रेखा थापाको श्रीमान् हो भनेर मात्र चिनेको थिएँ ।

चलचित्र ‘लज्जा’ खेल्ने बेलामा पनि म छवि ओझाका लागि आएको थिइन । म रेखा थापाको श्रीमान्को चलचित्र खेल्न लागेको हुँ भन्ने सोचेर आएको थिएँ । १२ बर्षदेखि रेखालाई लिएर चलचित्र बनाइरहेको मान्छेले कसरी मलाई लिन्छ भनेर सुरुवातमा पत्याइन पनि । तर, पछि निर्देशन नवल नेपाललाई भेटेपछि मात्र थाहा भयो म यो चलचित्र खेल्दैछु भनेर ।

६. तपाइलाई मानिसहरु छवि ओझाकी नायिका भनेर चिन्छन् नि ?
त्यो त मानिसको आ-आफ्नै सोच हो ।

७. तर यो छायाँ हटाउन पनि जरुरी होला नि हैन ?
पक्कै पनि छ । म एउटा कलाकार हो । म छवि ओझाको नायिका होइन, देशकै नायिका हो । मैले सबैको चलचित्र खेल्नु छ । यसैले, छवि ओझाकी मात्र नायिका भनेर चिनिन चाहन्न ।

८. तर पनि छवि ओझाका एक पछि अर्को चलचित्रमा तपाई नै हुनुहुन्छ ?
सायद उहाँलाई मेरो काम मन पर्‍यो होला । मलाई ‘किस्मत २’ मा काम गर्ने कुरा थाहा छ । अरु चलचित्रको बारेमा कुरा भएको छैन । म ‘किस्मत २’ गर्दा अरु चलचित्रको बारेमा सोच्दिन पनि । म काममा सिरियस भएर लाग्ने भएकाले पनि होला, उहाँ मलाई लिनुहुन्छ ।

९. छवि ओझाले अनलाइनखबरसँगको कुराकानीमा, आफूले भनेको मानेसम्म र आफ्नो सर्त स्विकार गरेसम्म अन्य नायिका लिन्न भन्नुभएको छ, के छविले नछोडेसम्म तपाई पनि छोड्नुहुन्न त ?
त्यो म भन्न सक्दिन । यदि, मैले अरु नै चलचित्र गर्ने समयमा उहाँको पनि चलचित्र गर्नु पर्‍यो भने सायद, छविराज प्रोडक्शनमा अर्को नायिका आउन सक्छे । कि त उहाँले मलाई कुर्नुहुन्छ । आखिर, मेरो काम मन परुन्जेल त हो उहाँले लिने भनेको । यसपछि त अर्को नायिका आइहाल्छे नि ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment