Comments Add Comment

१९ गतेको नेपाल बन्द फिर्ता लिने प्रचण्ड मोर्चाको निर्णय

  • फाइल तस्वीर

१६ चैत, काठमाडौं । एकीकृत नेकपा माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको ३० दलीय १९ गतेको नेपाल बन्दसहितको आन्दोलन फिर्ता लिएको छ । तर, २४, २५ र २६ गतेको आमहड्ताल भने कायमै छ ।

सिंहदरवारमा बसेेको ३० दलीय मोर्चाको बैठकमा संयोजक प्रचण्डले २४, २५ र २६ गतेको आमहड्ताल बाहेकका अन्य कार्यक्रम स्थगितको प्रस्ताव राखेका हुन्, जसलाई बैठकले अनुमोदन गरेको छ ।

यससँगै १९ गतेको नेपाल बन्दसहित २३ गतेसम्मको आन्दोलन फिर्ता भएको छ । पूर्व घोषित कार्यक्रम अनुसार १८ गते सरकारी कार्यालय घेराउ, १९ गते नेपाल बन्द र २३ गते सरकारी कार्यालय बन्द तथा नाकाबन्दी गरेर कर असुली रोक्ने कार्यक्रम थियो ।

अब सानोतिनो कार्यक्रम गरेर हुँदैन

बैठकमा ३० दलीय मोर्चाका संयोजक प्रचण्डले अब लामो संघर्षको तयारी गर्नु पर्ने बताए । धर्ना, घेराउ जस्ता कार्यक्रम फिर्ता लिएर सशक्त आन्दोलनको तयारीको तयारीमा जुट्नु पर्ने उनले बताए ।

‘कांग्रेस र एमाले सहमतिमा संविधान बनाउन चाहँदैनन् भन्ने प्रष्ट भयो’ प्रचण्डले भने-‘अब सानोतिनो कार्यक्रम गरेर हुँदैन । सशक्त आन्दोलन गर्नुपर्छ ।’

उनले ३० दलका नेताहरुलाई जिम्मेवारी दिएर फिल्डमा पठाउने समेत बताए । यसको प्रस्ताव तयार पार्ने जिम्मा सचिवालयलाई दिइएको छ ।

संविधानसभा बहिस्कार

प्रचण्ड नेतृत्वको मोर्चाले २३ गते बोलाइएको संविधानसभा बैठकमा नजाने निर्णय गरेका छन् । सभाध्यक्षले एकपक्षीय रुपमा बोलाएको बैठकमा नजाने मोर्चाको निर्णय छ ।

दलहरुबीचको सहमति प्रयास असफल भएपछि सभाध्यक्षले २३ गते संविधानसभा बैठक बोलाएका छन् ।

ठोस आधार विना वार्तामा नबस्ने

३० दलीय मोर्चाको बैठकले अब ठोस आधार तय नभएसम्म सत्ता पक्षसँग वार्तामा नबस्ने निर्णय गरेको छ । एमाओवादी अध्यक्ष प्रचण्डले आफूहरु इमान्दार भएर वार्तामा बसेको तर, कांग्रेस र एमालेेले आन्दोलन कमजोर पार्ने षड्यन्त्र मात्र गरेको उनले बताए ।

३० दलीय मोर्चाको बैठकमा सामाजिक लोकतान्त्रिक पार्टीका नेता पासाङ शेर्पाले तराईका पाँच जिल्लाबारे दलहरुबीच भइरहेको छलफलबारे आपत्ति जनाए ।

झापा, मोरङ, सुनसरी, कैलाली, कञ्चनपुरको सारोकारबाला लिम्बुवान र थरुहटसँग परामर्श नगरी कुनै सम्झौता नगर्न उनले चेतावनी दिए । ‘केपी ओली र शेबहादुर देउवा होइन, लिम्बुवान र थरुहट सरोकारबाला हुन्’ साना सात पार्टीको मोर्चाका नेता शेर्पाले भने-‘अबदेखि उनीहरुको परामर्श र सहभागिता विना छलफल गर्नुहोस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment