Comments Add Comment

पुल्चोक क्याम्पसका विद्यार्थीलार्इ एनसेलले दियो छात्रवृत्ती र पुरस्कार

Ncell-Scolorship

१६ चैत, काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलले केन्द्रिय क्याम्पस पुल्चोक इन्जिनियरिङ कलेजका विद्यार्थीहरुलाई छात्रावृत्ती तथा उत्कृष्टता पुरस्कार प्रदान गरेको छ ।

कम्पनीले इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स तथा कम्युनिकेसन्स र कम्प्युटर इन्जिनियरिङ संकायका १२ विद्यार्थीलाई छात्रवृत्ति र ५ विद्यार्थीलाई उत्कृष्टता पुरस्कार प्रदान गरेको हो ।

एनसेलका प्रमुख कार्यकारी एरिम टाइलानलरले सोमबार एक कार्यक्रमबीच विद्यार्थीहरुलाई एनसेल छात्रवृत्ति र उत्कृष्टता पुरस्कार प्रदान गरेे ।

उच्च प्राविधिक शिक्षालाई प्रोत्साहन र दक्ष जनशक्ति विकासमा योगदान पुर्‍याउने उद्देश्यअनुरुप एनसेलले प्रदान गरेको प्रत्येक छात्रवृत्ति तथा उत्कृष्टता पुरस्कार राशी एक लाख रुपैयाँ रहेको छ ।

‘एनसेल छात्रवृत्तिले लगनशिल र उत्कृष्ट विद्यार्थीहरुलाई आर्थिक व्यवस्थापन भन्दा पढाइमा बढी ध्यान दिन मद्दत गर्ने विश्वास लिएका छौं’ टाइलानलरले भने- ‘एनसेल उत्कृष्टता सम्मानले उत्कृष्ट नतिजासहित उतिर्ण भएका विद्यार्थीलाई उच्च लगन, मनोवल र उत्साहका साथ व्यवसायिक करिअर शुरु गर्न हौस्याउने विश्वास छ ।’

छात्रवृत्ति र पुरस्कारले विद्यार्थी तथा क्याम्पसलाई सृजनशिलता र  इनोभेसनमा योगदान दिने टाइलानलरले बताए । छात्रवृत्ति तथा उत्कृष्टता पुरस्कार विद्यार्थीहरुको वाषिर्क परिक्षाको नतिजाका आधारमा प्रदान गरिएको हो ।

छात्रवृत्ति अन्तरगत शैक्षिक वर्षको वाषिर्क नतिजाको आधारमा इलेक्ट्रिकल, ईलेक्ट्रोनिक्स तथा कम्युनिकेसन र कम्प्युटर इञ्जिनियरिङका एक/एक जना उत्कृष्ट विद्यार्थीले र तीनै संकायका छात्राहरुमध्येबाट १ उत्कृष्ट छात्रा गरि प्रत्येक व्याचका ४ जना विद्यार्थीले एनसेल छात्रवृत्ति प्राप्त गरेका छन् ।

उत्कृष्टता पुरस्कार सर्वोत्कृष्ट नतिजासहित ती संकायबाट पढाई सिध्याएका एक/एक विद्यार्थी तथा तीनै संकायका छात्राहरुमध्येबाट उत्कृष्ट ठहरिएकी छात्राले पाएकी छिन् ।

यस वर्ष तीन संकायका दुई छात्राले बराबर नम्बर ल्याएर टप गरेकाले उत्कृष्टता सम्मान संयुक्त रुपमा ग्रहण गरेका छन् ।

‘छात्राहरुलाई प्रोत्साहन गर्नको लागि भनेर नै एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मानमा छात्राहरुको लागि अलग्गै क्याटेगोरी राखिएको हो’ टाइलानलरले भने ।

एनसेलले सन् २०१० देखि नै शैक्षिक क्षेत्रलाई उच्च प्राथमिकता दिँदै सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । जसमा कर्णाली अञ्चलका सम्पूर्ण जिल्ला र अन्य जिल्लाका समेत गरेर १४ जना छात्राहरुलाई ११ देखि स्नातक तहसम्म अध्ययनका लागि पाँच वर्षको छात्रवृत्ति प्रदान गर्दै आएको छ ।

यसैगरी, एनसेलले डिजिटल पद्धतीबाट पठनपाठनका लागि १४ वटा विद्यालयमा ई-पुस्तकालय र ४३ वटा सामुदायिक विद्यालयहरुमा कक्षाकोठा, शौचालय तथा खानेपानी निर्माण, विद्यालय व्यवस्थापन र शैक्षिक सामग्री पनि प्रदान गरेको छ ।

जसबाट पच्चिस हजार भन्दा बढी विद्यार्थीहरुले प्रत्यक्ष लाभ लिइरहेका छन् । एनसेलले हालसम्म शिक्षाको क्षेत्रमा करिब साढे ७ करोड रुपैयाँ सहयोग प्रदान गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment