Comments Add Comment

वर्षाका कारण हवाई उडान अवतरण प्रभावित

१६ चैत, काठमाडौँ । काठमाडौँ उपत्यका आसपासमा ठूलो वर्षा भएका कारण आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान अवतरण प्रभावित भएका छन् । ११ वटा अन्तर्राष्ट्रिय उडान ‘डाइभर्ट’ गरिएको छ ।

फाइल तस्वीर
फाइल तस्वीर

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ । बाक्लो हुस्सु, चट्याङका कारण उडानमा समस्या आएको हो ।

वर्षाका कारण त्रिभुवन विमानस्थलबाट सोमबारका लागि तय गरिएको सोलुखुम्बु, लामीडाँडालगायतका पहाडी क्षेत्रका उडान प्रभावित भए । लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलबाट पनि उडान अवतरण हुन सकेन ।

११ अन्तर्राष्ट्रिय उडान ‘डाइभर्ट’ 

विभिन्न ११ वटा अन्तर्राष्ट्रिय उडान भारतको नयाँदिल्ली, लखनउ र कोलकाता डाइभर्ट गरिएको छ । यस्तै टर्कीको इस्तानाबुलबाट आएको टर्किस एयरलाइन्स नयाँदिल्ली, भुटान एयरलाइन्स पारो, एयर अरेबिया कोलकाता, दिल्लीबाट आएको एयर इन्डियाको विमान वाराणसी ‘डाइभर्ट’ भएका छन् । विमानस्थलमा ड्युक एयर र सिल्क एयरको जहाज भने अवतरण गरे ।

मेघ गर्जने र पानी पार्ने बादल विमानस्थलमाथि रहेका कारण सबै उडान र अवतरणमा समस्या आएको हो ।

सामान्यतः आन्तरिक उडान-अवतरणका लागि कम्तिमा २ सय मिटर र अन्तर्राष्ट्रिय उडान-अवतरणका लागि कम्तिमा ३ सय मिटर ‘भिजिविलिटी’ आवश्यक पर्दछ । विमानस्थल कार्यालयका अनुसार विमानस्थलमा ‘भिजिविलिटी’ असाध्यै न्यून छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment