Comments Add Comment

असफल भयो माओवादीको ‘मिडिया साम्राज्य नीति’

नारायण पंगेनी

सशस्त्र द्वन्द्वको समयदेखि नै इलेक्ट्रोनिक तथा छापा मिडिया चलाउँदै आएको माओवादीको ‘मिडिया साम्राज्य नीति’ असफल भएको छ । पार्टीको मिडिया नीति असफल भएपछि पार्टी मातहतका केही सञ्चार माध्यम व्यक्तिगतरुपमा सञ्चालनमा आएका छन् भने अधिकांश मिडिया बन्द हुन पुगेका छ ।

मिडिया नीति दस्तावेजमै सीमित
जनयुद्धपछि शान्ति प्रक्रियामा आएर मिडिया साम्राज्य फैलाउने बताएका माओवादी अहिले पाँच चिरामा छन् ।janadesjh

पार्टी विभाजनपछि पनि अहिले अस्तित्वमा रहेका माओवादीहरुको दस्तावेजमा पार्टी मातहतका मिडियालाई व्यवस्थित गर्ने उल्लेख गरिएको पाइन्छ ।

एमाओवादीको कार्यदिशामा मिडियालाई थप व्यवस्थित गर्ने उल्लेख छ भने वैद्य नेतृत्वको नेकपा-माओवादीको दस्तावेजमा एक दैनिक पत्रिका, एक एफएम रेडियो तथा मासिक पत्रिकाहरु थप व्यवस्थित गरी तीन महिनाभित्र सञ्चालन गर्ने उल्लेख छ ।

नेकपा-माओवादीबाट हालसालै अलग भई नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीको दस्तावेजमा पनि पार्टीका आन्तरिक मिडियाहरुलाई व्यवस्थित गर्ने र दैनिक पत्रिका चलाउने उल्लेख छ ।

विप्लव माओवादीले पत्रपत्रिका प्रकाशन र व्यवस्थित गर्ने तथा राजधानीबाट सञ्चालित हुँदै आएको रेडियो मिर्मिरेलाई सघाउने भनी आफ्नो दस्तावेजमै उल्लेख गरेको छ ।

जनयुद्ध पनि सकियो, माओवादी मिडिया पनि सिद्धिए

शान्ति प्रक्रियामा आएसँगै मिडिया साम्राज्य फैलाउने भन्दै देशभर मिडिया सञ्चालन गर्न कस्सिएको माओवादीको मिडिया अहिले शून्य प्रायः नै भएको माओवादी नेताहरु स्वीकार्छंन् ।

सशस्त्र युद्धकै बेला लुकिछिपी एफएम सञ्चालन गरेर मिडिया प्रचार बुझेको माओवादीले शान्ति प्रक्रियामा आएपछि देशैभर एक दर्जन बढी एफएम रेडियो सञ्चालन गरेको थियो ।

एफएम रेडियोमा मात्र होइन, छापा माध्यममा पनि वर्चश्व कायम गर्ने भन्दै माओवादीले सञ्चालन गरेका दैनिक पत्रिकादेखि पार्टीको मुखपत्रका रुपमा सञ्चालनमा ल्याइएका साप्ताहिक पत्रिकासमेत अहिले बन्द छन् ।download

देशैभर सञ्चालन गरिएका एफएम रेडियोहरु माओवादी विभाजनअघि सम्म मुस्किलले सञ्चालन हुँदै आएका थिए ।

मुस्किलले सञ्चालनमा आएका केही मिर्मिरे एफएम लगायतका रेडियोहरु पार्टी विभाजनपछि आ-आफ्नो कब्जा पार्ने दाउमा बन्द भए ।

निजीकरणतर्फ

पार्टीकाे मुखपत्र जनादेश बन्द छ, पार्टी विभाजनपछि एमाओवादीले किनेको मैत्री एफएम अजय सुमार्गीले किनेका छन् ।

माओवादीले राज्य स्तरीय समितिबाट सञ्चालन गर्ने गरी एफएम रेडियोहरु चलाएको थियो । अहिले अधिकांश रेडियोहरु निजीकरण गरिएका छन् । मिडियालाई पार्टीको राम्रो मुखपत्र बनाउन सकिने भन्दै अधिकांश क्षेत्रमा गणतन्त्र एफएमका नामबाट माओवादीले रेडियो सञ्चालन गरेको थियो भने कतिपय ठाउँमा पुराना एफएमहरु किनेर चलाएको थियो ।

शान्ति प्रक्रियामा आएलगत्तै किनिएको पाल्पाको रेडियो पश्चिमाञ्चल एफएम अहिले एकीकृत नेकपा माओवादीका पाल्पा सचिव नेत्र पाण्डेले आफैले किनेर व्यक्तिगतरुपमा सञ्चालन गरेका छन् ।

पार्टी विभाजनपछि एमाओवादी र वैद्य माओवादीको हानाथापले गर्दा यो एफएम अधिकांश समय बन्द भएको थियो ।

क्षेत्रीय सदरमुकाम सुर्खेतमा सामुदायिक एफएमका रुपमा दर्ता गरी सञ्चालनमा ल्याइएको हिमाल एफएम वर्षौदेखि बन्द छ । उक्त एफएमका ट्रान्समिटर, एक्साइडर तथा रेडियो उपकरणहरु सञ्चालक समितिका अध्यक्ष काशीचन्द बरालका घरमा थन्काइएका छन् ।

यस्तै, दाङको घोराहीमा सञ्चालन गरिँदै आएको रेडियो गणतन्त्र, राप्ती एफएम अधिकांश समय बन्द हुने गरेको छ भने पोखरामा सञ्चालित रेडियो गण्डकी मुस्किलले चलेको छ ।

सुनसरीमा सञ्चालित रेडियो गणतन्त्रको अवस्था पनि दयनीय छ भने अन्य माओवादीका अन्य एफएम बन्द नै भइसकेका छन् । हरेकजसो जिल्लामा प्रकाशित हुने पार्टीका मुखपत्रहरु त अहिले अधिकांश बन्द भएका छन् ।

मुखपत्र बन्द, मिर्मिरेमा लफडा

DSC_0585मोफसलका माओवादीका मिडिया मात्र होइन, राजधानीमै सञ्चालनमा रहेका केन्द्रीय मुखपत्रसमेत बन्द भएका छन् । |
जनयुद्धकालमा भूमिगत वितरण हुने जनादेश साप्ताहिक अहिले बन्दे छ । त्यसमा काम गर्ने पत्रकारहरुले व्यक्तिगत अनलाइन तथा पत्रिकाहरु चलाउँदै आएका छन् ।

एमाओवादीसँगको विभाजनपछि दुई माओवादीबीच नै मिडिया भिडन्त भएको थियो । एमाओवादीबाट मोहन वैद्य समूह अलग्गिएपछि वैद्य माओवादीले केही समय ‘जनदिशा’ दैनिक पत्रिका सञ्चालन गर्‍यो भने एमाओवादीले ब्रोडसिटमै ‘समाचार’ दैनिक निकाल्यो । तर, दुबै पार्टीका पत्रिकाहरु ६ महिना नपुग्दै बन्द भए ।

केन्द्रमा सञ्चालित इलेक्ट्रोनिक मिडियाको हालत पनि उस्तै छ । नेवाः राज्य समितिले सञ्चालन गर्दै आएको रेडियो मिर्मिरे पार्टी विभाजनपछि वैद्य माओवादीको कब्जामा पुग्यो भने एमाओवादीले मैत्री एफएम झण्डै करोड मूल्यमा किन्यो ।

तर, वैद्य माओवादीको भनिएको मिर्मिरे एफएम पार्टीले बनाएको कागजी सञ्चालक समितिले कब्जा गर्‍यो । पार्टीले खर्च गरेर चलाउने हविगत नभएपछि पार्टीले वेवास्ता गर्दा यस्तो अवस्था आएको स्वयम् माओवादी कार्यकर्ताहरु बताउँछन् ।

पार्टी विभाजनपछि एमाओवादीले किनेको मैत्री एफएम हालसालै अजय सुमार्गीले झन्डै एक करोड बढिमा किनेका छन । हालै एवीसी टीभीसमेत किनेका सुमार्गीले ‘थाहा’ ब्रान्डमा रेडियो र टीभी दुवै चलाउने तयारी गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment