Comments Add Comment

देशैभरका चिकित्सकहरु आजदेखि रिले अनसनमा

१७ चैत, काठमाडौ । त्रिवि शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीको आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै देशैभरका चिकित्सकहरुले मंगलवारदेखि रिले अनसन थाल्ने भएका छन् ।
Dr-Govinda-Kc
राजधानीको त्रिवि शिक्षण अस्पतालमा चिकित्सक संघका अध्यक्ष डा. अन्जनीकुमार झाकै नेतृत्वमा मंगलवार अपरान्ह ४ बजेदेखि रिले अनसन सुरु गर्ने कार्यक्रम रहेको संघले जनाएको छ ।

संघले डा. केसीको आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै देशभरका शाखाहरुलाई ब्यवस्थित ढंगले रिले अनसन जारी राख्न निर्देशन दिइसकेको छ ।

केसीको आन्दोलनलाई समर्थन जनाउँदै संघमा आवद्ध देशैभरका चिकित्सकहरुले अस्पताल तथा क्लिनिकबाहिरै बसेर ओपीडी सेवा सञ्चालन गरेका थिए ।

संघले डा.केसीको मागप्रति वेवास्ता गरिए देशैभर आकस्मिकबाहेकका सेवा ठप्प पार्ने योजना बनाएको छ । उनको माग सुनुवाई नभए सम्भवतः बुधवारदेखि नै देशैभर आकस्मिकबाहेकका सवै सेवा ठप्प पार्ने गरी कार्यक्रम ल्याइने संघले जनाएको छ ।

केसीले उठाएको माग सम्बोधन गर्न माग गर्दै सोमवार शिक्षण अस्पताल महाराजगञ्जका आवासीय चिकित्सकहरु तथा विद्यार्थीहरुले र्याली निकालेर प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिएका थिए ।

धर्नामा राजधानीका विभिन्न मेडिकल कलेजहरुमा अध्ययनरत विद्यार्थीहरुको पनि उल्लेख्य उपस्थिति थियो ।

डा. केसीले थप निजी मेडिकल कलेजलाई तत्काल सम्बन्धन दिन नहुने, नयाँ चिकित्सा शिक्षा नीति, स्वास्थ्य क्षेत्रमा भएका अनियमितताको छानविन, विगतमा आइओएमलाई बाइपास गरेर फ्याकल्टी बोर्डको निर्णयविरुद्ध अनुगमनमा जाने र पूर्वाधार पुग्यो भनेर फर्जी रिपोर्ट दिने व्यक्तिहरुमाथि पनि तुरुन्त छानविन तथा कारवाही गर्नुपर्ने लगायतका १० बुँदे माग राख्दै नौ दिनदेखि आमरण अनसनमा बसेका छन् ।

केसीको आन्दोलनप्रति विभिन्न राजनीतिक दलका नेताहरुले एकयवद्धता जनाएका छन् भने सरकारले शिक्षामन्त्री, स्वास्थ्य मन्त्री र मुख्य सचिवलाई समस्या समाधानका लागि पहल गर्न जिम्मेवारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment