Comments Add Comment

मोर्चाको बैठकमा ओलीले राँगा ढाल्न खोजेको चर्चा

१७ चैत, काठमाडौं । प्रचण्ड नेतृत्वको ३० दलीय मोर्चामा आवद्ध मधेसवादी दलहरुबीच मोर्चाको बैठकमै आरोप प्रत्यारोप चलेको छ ।

फाइल तस्वीर
फाइल तस्वीर

मोर्चाको अधिकांश बैठकहरुमा फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार एकातिर तथा फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र सदभावना अध्यक्ष राजेन्द्र महतो अर्कातिर हुने गरेका छन् ।

प्रचण्ड मोर्चाको सोमबारको बैठकमा पनि गच्छदार र अरु मधेसी नेताबीच जुहारी चलेको सहभागी एक नेताले बताए ।

बैठकमा फोरम अध्यक्ष यादवले केही नेताको घर घर गएर वार्ता गर्नुको आचित्य नभएको बताए । उनले प्रचण्ड र गच्छदारप्रति संकेत गर्दै बल्ल अहिले आएर कांग्रेस र एमालेले वार्ताको नाममा फसाएको बुझ्न थालेका छन् भन्ने व्यंग्य गरेका थिए ।

बैठकमा गच्छदारले त्यसको जवाफ मात्र दिएनन् मोर्चाकै नेताहरुबाट आफ्नो उछित्तो काढ्ने काम भएको गुनासो समेत गरे । उपेन्द्र यादव र राजेन्द्र महतोले विभिन्न सञ्चार माध्यमहरुलाई दिएको अन्तरवार्ताप्रति संकेत गर्दै उनले भने-मैले प्रचण्डलाई रसातलमा पुर्‍यायो रे ?’

आफूलाई कांग्रेस र एमालेसँग नजिएको आरोप लगाएर खेद्ने काम भएको भन्दै उनले असन्तुष्टि जनाए । उनले भने-मैले कांग्रेसमा ४० वर्ष विताएको छु । मेरो आफ्नो व्यक्तिगत सम्वन्ध छ । म कसैको दयाले बालुवाटार गएको होइन, मैले बनाएको हौसियत हो ।’

आफूलाई सरकारमा जान लालायित भएको भन्ने गरेको भन्दै उनले आफ्नै साथीहरुलाई तेजोवध गरेर मोर्चा अघि अगाडि बढ्न सक्छ ? भनेर प्रश्न गरेका थिए ।

बैठकमा उनले एमाले अध्यक्ष केपी ओलीको घरमा आफूले मात्र नभई सबै मधेसी नेताले भोजन गरेको बताए ।

नेता नेताबीचको सम्वन्धका कारण भेटका लागि घरमा गएको विषयलाई धेरै उछाल्न नहुने भन्दै उनले भने-म मात्र गएको हो र ? सबै गएका हुन् । सबैले मिठो भनेकै हुन् ।’

‘अझै एमाले अध्यक्ष ओलीले सबै मधेसीहरु आउँछन् भने राँगा नै काटेर खुवाउँछु भन्नु भो,’ गच्छदारले यसो भन्दा बैठकमा हाँसो छाएको थियो ।

गच्छदारले आफू मुलुकलाई मुठभेडमा जान नदिने र सहमतिका लागि प्रयासरत रहेको बताए । आम हडताल बाहेक आन्दोलनका अरु कार्यक्रम फिर्ता गर्ने कुरामा पनि गच्छदार प्रचण्डसँग सहमत थिए भने यादव र महतोले विरोध जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment