Comments Add Comment

सिचुवान एयरलाइन्सको छेङ्दु- काठमाडौं उडान सुरू

Sichuan-Airlines-Airbus-A319-100

नविन अर्याल

१८ चैत, काठमाडौं । चिनियाँ वायुसेवा कम्पनी सिचुवान एयरलाइन्सले आजदेखि छेङ्दु-काठमाडौं उडान सुरु गरेको छ । सिचुवानको एयरबस ‘ए ३१९’ सिरिज जहाज १३१ यात्रु बोकेर करिव एक बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्‍यो ।

विमानस्थल व्यस्त हुँदा जहाज केहीबेर आकाशमा होल्ड भएर अवतरण गरेको विमानस्थल कार्यालयले जानकारी दियो । सिचुवानको जहाज विहान १० बजेर १० मिनेटमा काठमाडौंमा अवतरण गर्ने तालिका रहेपनि प्राविधिक कारणले करिव साढे २ घण्टा ढिलो आइपुगेको हो ।

चीनको छेङ्दुबाट बिहान उडेको जहाज तिब्बतको राजधानी ल्हासा हुँदै काठमाडौंमा आएको हो । जहाज ९५ जनाको हाराहारीमा यात्रुहरू बोकेर काठमाडौंबाट ल्हासा हुँदै छेङ्दु फर्किएको छ । छेङ्दुबाट काठमाडौं आइपुग्न करिव ४ घण्टा लाग्छ ।

सिचुवानले आजदेखि नेपालमा दैनिक उडान सुरू गरेको जनरल सेल्स एजेन्ट (जीएसए) सोसाइटी ट्राभलका अध्यक्ष रवीचन्द्र सिंहले जानकारी दिए ।

‘छेङ्दुबाट उडेको जहाज ल्हासा विमानस्थलमा करिव ४५ मिनेट रोकिने छ, ल्हासामा रहेका यात्रुलाई पिकअप गरेर जहाज काठमाडौं आउनेछ’ सिंहले अनलाइनखबरसँग भने- ‘हाम्रो उद्देश्य भनेको ल्हासालाई ट्रान्जिट प्वाइन्ट बनाउने हो ।’

हिमाली दृश्यावलोकन

जहाज काठमाडौंबाट ल्हासा हुँदै त्यहाँका यात्रु पिकअप गरेर छेङ्दु प्रस्थान गर्नेछ । सिचुवान एयरलाइन्सले ‘ट्रान्स हिमालय’ रुट हुँदै उडान गर्ने हुँदा यात्रुहरुले विश्वको सर्वोच्च शिखर सगरमाथासहित विभिन्न हिमालहरुको दृश्यावलोकन गर्न पाउनेछन ।

चीनबाट हिमाली रुट हुँदै काठमाडौं उडान गर्ने सिचुवान दोस्रो एयरलाइन्स भएको छ । यस अगाडि नै एयर चाइनाले हिमाली रुटबाट नेपाल उडान गर्दै आएको छ । सिचुवान एयरबाट यात्रा गर्दा माउन्टेन फ्लाइटमा गएजस्तै अनुभव हुने सोसाइटी ट्राभलका अध्यक्ष सिंहले दाबी गरे ।

सिचुवान एयरबाट छेङ्दु-काठमाडौं दुईतर्फी उडान गर्दा करिव ५६ हजार रुपैयाँ बुझाउनुपर्ने हुन्छ भने एकतर्फ उडान गर्दा करिव २७ हजार रुपैयाँ बुझाउनुपर्ने हुन्छ । यो कर बाहेकको भाडादर हो ।

चीन उड्ने वायुसेवा ६ पुग्दै

सिचुवानको उडान सुरु भएसँगै चीनबाट नेपाल आउने एयरलाइन्सको संख्या ४ पुगेको छ । एयर चाइना, चाइना साउर्दन र चाइना इष्टर्नले यस अघिदेखि नै नेपालमा नियमित उडान भर्दै आएका छन् ।

नेपालको ध्वजाबाहक नेपाल एयरलाइन्सले पनि निकट भविष्यमा चीनको ग्वोन्झाओ शहरमा उडान सुरु गर्दैछ । त्यस्तै, हिमालयन एयरलाइन्सले पनि तिब्बतको ल्हासा र चीनको छेङ्दू उडान गर्ने तयारी गरिरहेको छ ।

चीनबाट नेपाल आउने यात्रुको संख्यामा भएको भारी वृद्धिसँगै चिनियाँ वायुसेवा कम्पनीहरु नेपाल उडान गर्नका लागि आकषिर्त भइरहेका छन् । चीनबाट पर्यटकको आगमन बढ्न थालेपछि नेपालमा पर्यटकीय गन्तव्यहरुमा चिनियाँहरुले भरिन थालेको छ ।

कुनै समय यूरोप तथा अमेरिकाबाट आउने पर्यटकको भर पर्नुपथ्र्यो । तर, अहिले चिनियाँ पर्यटकले त्यो स्थान लिइसकेका छन् । अफसिजनमा समेत चिनियाँ पर्यटकहरुले होटलहरु भरिभराउ हुन थालेको होटल व्यवसायीहरुको भनाई छ ।

नेपाल सरकार पनि चिनियाँ पर्यटक बढाउन लागिपरेको छ । चिनियाँ पर्यटकलाई नेपालले अनअराइभल भिषा उपलब्ध गराउन थालेपछि उनीहरुले नेपाल भ्रमणलाई प्रथामिकतामा पार्न थालेका छन् ।

हप्ताको ६३ उडान अनुमति

गत वर्ष नेपाल र चीनबीच भएको द्धिपक्षिय हवाई सेवा सम्झौतामा दुई देशबीचको नियमित यात्रु उडान संख्यामा भारी वृद्धि गरिएको छ । त्यतिबेला गरिएको सम्झौता अनुसार यस वर्ष दुई मुलुकका वायुसेवा कम्पनीहरूले प्रतिहप्ता ६३ ओटा उडान गर्न पाउँछन् । सन् २०१६ मा नेपाल-चीन उडान प्रतिहप्ता ७० पुर्‍याइँदै छ ।

‘नेपालमा चिनियाँ पर्यटकको आगमन बढ्दै जान थालेपछि सिचुवान एयरलाइन्स नेपाल ल्याएका हौं’ सोसाइटी ट्राभलका अध्यक्ष सिंहले भने- ‘अहिले चीनबाट नेपाल आउने पर्यटकले टिकट नपाइरहेको अवस्था छ, यस्तो अवस्थामा सिचुवान एयरलाइन्स पूर्ण क्षमतामा सञ्चालन हुनेछ ।’

सिचुवानको पहिलो काठमाडौं उडान पूर्ण क्षमतामा हुन लागेको बताउँदै सिंहले फर्किदा कुल क्षमताको ८० प्रतिशत यात्रु बोकेर फर्किनेछ । सिचुवानसँग दुई किसिमका ‘ए ३१९’ जहाज रहेका छन् । एउटा जहाजमा १३१ यात्रु र अर्कोमा १३३ यात्रुहरु अटाउने उनले जानकारी दिए ।

पारो र ल्हासामा विशेष विमान

भुटानको पारो विमानस्थल र तिब्बतको ल्हासा बिमानस्थल हाई अल्टिच्यूट (उचाई)मा रहेको हुँदा एयरबसले विशेष इञ्जिन जडान गरिएका जहाजहरु निर्माण गरेको छ । दुबै अन्तर्राष्ट्रिय विमानस्थल जोखिमपूर्ण मानिन्छन् ।

सिचुवान एयरलाइन्सले एयरबस कम्पनीका ‘ए ३१९’, ‘ए ३२०’, ‘ए ३३०’ सिरिजका जहाजबाट विश्वका विभिन्न गन्तव्यमा उडान भर्दै आएको छ । सिचुवानसँग अहिले ९३ ओटा जहाज उपलब्ध छन् ।

सोसाइटी ट्राभलले भुटान एयरलाइन्स र भारतको गो एयरको पनि नेपालका लागि जनरल सर्भिस एजेन्ट (जीएसए)को काम गर्दै आएको छ । कम्पनीले करिव ढाई वर्षजती तत्कालिन राक एयरको जीएसएका रुपमा काम गर्‍यो । गत वर्ष एयर अरेवियाले राक एयर खरिद गरेपछि सोसाइटीले जीएसए छाड्नु परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment