Comments Add Comment

सुर्खेत जान विमानस्थल पुगेका प्रधानमन्त्रीलाई पाइलटले उडाउन मानेनन्

१८ चैत, काठमाडौं । भेरी-बबई डाइभर्सन आयोजनाको शिलान्यासका लागि सुर्खेत जान त्रिभुवन विमानस्थल पुगेका प्रधानमन्त्री सुशील कोइराला नेपाली सेनाका पाइलटले उडान गर्न अस्वीकार गरेपछि फर्केका छन्।
Susil-koirala
प्रधानमन्त्री कोइराला मंगलबार साँझ ५ बजे विमानस्थल पुगेका थिए। कार्यक्रममा भाग लिन उपप्रधानमन्त्री एवं गृहमन्त्री वामदेव गौतम पनि उनीसँगै सुर्खेत उड्न विमानस्थल पुगेको अन्नपूर्ण पोस्टमा खबर छ ।

दिनभरको मौसम सुर्खेत उडानका लागि योग्य भए पनि प्रधानमन्त्रीले उड्ने समय मिलाउन सकेका थिएनन्। उनको उडान बिहान ९ बजेका लागि तय गरिएको थियो तर नभ्याएको भन्दै समय सार्दै साँझ पारिएको थियो।

विमानस्थल कार्यालयले भने साँझ ५ बजे पनि उडानयोग्य मौसम भएको जानकारी प्रधानमन्त्री कार्यालयलाई दिएको थियो। तर सैनिक पाइलट महासेनानी भुवन श्रेष्ठले सुर्खेतको निर्धारित ठाउँमा पुग्दै अँध्यारो भइसक्ने र फर्केर आउन नसकिने कारण देखाउँदै उडान गर्न मानेनन्।

सैनिक स्रोतका अनुसार मिलेसम्म उडान गर्न सैनिक पाइलटलाई भनिएको थियो। तर अतिविशिष्ट व्यक्तिको उडानमा दबाब र ‘रिस्क’ लिन समस्या पर्ने तथा जाँदा र फर्कंदा कम्तीमा पाँच घन्टा समय आवश्यक पर्ने भन्दै उडान गर्न अस्वीकार गरिएको थियो।

नेपाली सेनाको हवाई महानिर्देशनालयले मंगलबार साँझको उडान हुन नसक्ने कारणसहितको रिपोर्ट प्रधानमन्त्रीको सचिवालयलाई मौखिक रूपमा दिए पनि त्यसको बेवास्ता गर्दै कोइराला विमानस्थल पुगेका थिए। पाइलटले बबई जाँदा अवतरण गर्नुपर्ने हेलिप्याड दुई डाँडाको बीच खोंचमा रहेकाले अँध्यारोको उडान उपयुक्त नहुने तर्क गरेको स्रोतले बतायो।

पुगेर शिलान्यासमात्र गरी नेपालगन्जसम्म फर्कन सकिने वा साँझ नेपालगन्ज बसेर बुधबार बिहानै शिलान्यास गर्न पुग्नेगरी कार्यक्रम बनाउन सेनालाई भनिए पनि दुवै अनुपयुक्त भएको जबाफ दिइएको थियो।

बुधबार बिहान मौसमले साथ नदिए राष्ट्रपति चीनबाट फर्कंदा स्वागत गर्न विमानस्थलसम्म पुग्न कठिनाइ हुने अर्को कारण पनि थपिएपछि प्रधानमन्त्री विमानस्थलबाट बालुवाटार फर्किएका थिए।

उपप्रधान एवं गृहमन्त्री गौतम भने बिहानदेखि नै प्रधानमन्त्रीलाई कुर्दै विमानस्थलमा बसेका थिए। दुई घन्टा बस्दा पनि प्रधानमन्त्री आउने छाँट नभएपछि समय बिताउन उनले अन्तर्राष्ट्रिय टर्मिनल क्षेत्रका अध्यागमन र प्रहरी कार्यालय निरीक्षण गरेका थिए।

प्रधानमन्त्री र उपप्रधानमन्त्री दुवै सोमबार नै शिलान्यास गर्न सुर्खेत जाने भन्दै आयोजकले खसी नै ढालेर तयारी गरे पनि मौसम प्रतिकूलताले उडान हुन सकेको थिएन। प्रधानमन्त्रीले शिलान्यास कार्यक्रम बिहीबार सार्न आयोजकलाई निर्देशन पठाएर विमानस्थलबाट फर्केको स्रोतले बतायो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment