Comments Add Comment

चराबाट जोगिन त्रिभुवन विमानस्थलमा नयाँ प्रविधि

विनोद घिमिरे

१८ चैत, काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा विमान उडान र अवतरण गर्दा चरा ठोक्किएर दुर्घटना हुने क्रम बढिरहेको छ । जसले गर्दा नेपालको एकमात्र अन्तराष्ट्रिय विमानस्थल उडान अवतरणका लागि जोखिमपूर्ण बन्दै गएको छ ।
airport-5
यही जोखिम कम गर्न सरकारले झण्डै २० करोड रुपैयाँ खर्चेर विमानस्थलमा नयाँ प्रविधि जडान गर्ने तयारी गरिरहेको छ ।

‘बर्ड डिटेक्सन राडार’ भनिने यो प्रविधि विमानस्थलमा जडान गरेपछि चराहरुको गतिविधि पाइलटले सजिलै थाहा पाउँछन् र हवाइ उडान सुरक्षित हुनसक्छ ।

नेपाली आकाश विश्वमै असुरक्षितको सूचीमा परेकोबेला अत्याधुनिक यो प्रविधि खरिदका लागि टेन्डर खोल्ने प्रक्रिया अघि बढाइएको छ ।

‘अहिले डकुमेन्टहरु तयार पार्दैछौं सम्भवतः यही चैत महिना भित्र टेन्डर खुल्छ,’ नेपाल नागरिक उड्डयन प्राधिकरणका महाप्रवन्धक वीरेन्द्रप्रसाद श्रेष्ठले अनलाइनखबरसँग भने, ‘६-७ महिना भित्र नेपाल ल्याइसक्छौं ।’

के गर्छ यो प्रविधिले ?

यो एक प्रकारको राडार हो । यसमा भर्टिकल र होरिजेन्टल राडार हुन्छ । यसमा क्यामरा पनि जडान गर्न मिल्छ । यसले १० देखि ११ किलोमिटर टाढाका चरालाई ‘डिटेक्ट’ गर्छ र पाइलटलाई जानकारी हुन्छ ।

‘कुन चरा हो, कत्रो छ ? कतातिर फर्केको छ, कहाँ बसेको/उडेको छ भन्ने सबै कुरा यो मेसिनले डिटेक्ट गर्छ,’ श्रेष्ठले भने, ‘अनि पाइलटलाई विमान उडाउन सहज हुन्छ ।’

यस्तो प्रविधि विकसित भनिएका सबै मुलुकका सबै विमानस्थलमा समेत छैन । छिमेकी मुलुक भारतमा सेनाको एयरपोर्टमा प्रयोगमा आएको छ । यसैगरी जापानका तीनवटा विमानस्थलमा यो प्रविधि प्रयोग गरिएको छ ।

९६ पटक ठोक्कियो चरा

विश्वमै चरा ठोक्किनु विमान दुर्घटनाको मुख्य कारण मानिन्छ । २०४६ सालदेखि हालसम्म नेपालमा करिब ९६ पटक चरा ठोक्किएको तथ्यांक नागरिक उड्डयन प्राधिकरणसँग छ । तिमध्ये आधा भन्दा धेरै त्रिभुवन विमानस्थल नजिकै चरा ठोक्किएका छन् ।

पछिल्लोपटक चैत ८ गते थाई एयरको बोइङ ७७७ विमान अवतरणको क्रममा चरा ठोक्किएको थियो । सौभाग्य नै मान्नुपर्छ ठूलो दुर्घटना भने भएन । चरा ठोक्किएर ०६९ असोज १२ गते सबैभन्दा ठूलो दुर्घटना भयो । त्रिभुवन विमानस्थल नजिकै मनोहरा खोला किनारमा चरा ठोक्किएर सिता एयरको विमान दुर्घटना हुँदा १३ विदेशीसहित १९ जनाको मृत्यु भएको थियो ।

यस्ता छन् चरा भगाउने उपाय

त्रिभुवन विमानस्थल वरपर चरा धपाउन छुट्टै कर्मचारीको व्यवस्था गरिएको छ । त्यसबाहेक ५ जना शिकारी परिचालन गरिएको छ । कर्मचारीहरुले टावरबाट हेर्ने र चरा देख्नेबित्तिकै सो ठाउँमा पुगेर धपाउने गर्दछन् । साथै शिकारीले विमानस्थलमा आएका चरालाई बन्दुकले हानेर मार्छन् ।

यी मानवीय साधन बाहेक बिभिन्न प्रविधि पनि प्रयोगमा आएका छन् । बर्ड स्केयरिङ, अल्ट्रासोनिक साउन्ड, एलपी ग्यास क्यानन्स, स्केयर क्रो, बर्ड गार्ड लगायतका प्रविधि विमानस्थलमा प्रयोग गरिन्छ ।

‘अल्ट्रासोनिक साउन्ड डिभाइस’ले विभिन्न थरिका आवाज निकाल्छ र ति आवाज सुनेर चरा भाग्छन् । यसले बन्दुक पड्केको जस्तो आवाजसमेत निकाल्छ । यसैगरी एलपी ग्यास क्यानन्समा टाईमिङ सेट गर्न मिल्छ र त्यही समयमा तोप पड्केको जस्तो आवाज निस्किन्छ ।

तर, यो परम्परागत तरिका प्रभावकारी हुन सकेको छैन । ‘यस्तो आवाज सुन्दा सुन्दा चरालाई पनि बानि पर्दोरैछ,’ श्रेष्ठले भने, ‘सर्टेन डेजपछि चराले पचाइसक्छ र भाग्दै भाग्दैन । यस्तो अवस्थामा शिकारी प्रयोग गर्नुको विकल्प हुँदैन ।’

फोहोरले समस्या

नागरिक उड्डयन नियमावली २०५८ मा विमानस्थलबाट ३ किलोमिटर वरपर मासुजन्य पदार्थ किनबेच गर्न, वधशाला खोल्न, मासुजन्य पदार्थ वा फोहोर फाल्न नपाउने स्पष्ट व्यवस्था छ । तर, काठमाडौं उपत्यकामा लामो समयसम्म फोहोर उठ्न सक्दैन ।

त्यतिमात्रै होइन काठमाडौंमा नाम चलेका मःमः र सेकुवा कर्नर बिमानस्थलको गेटै अगाडि खुलेआम चलिरहेका छन् । यसले नियमावलीको खिल्ली उडाएको छ र काठमाडौंको आकाशलाई थप असुरक्षित बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment