Comments Add Comment

पशुपति गर्भगृहमा भारतीयद्वारा नापजाँच

१९ चैत, काठमाडौं ।विधि, परम्परा र मान्यताविपरीत पशुपतिनाथ गर्भगृहमा प्रवेश गरी मूल शिवलिंगको नापजाँच भारतका पुरातत्त्व विभागका अधिकारीहरूबाट भएपछि असहज परिस्थिति उत्पन्न भएको छ।

pashupati-2

गोप्य रूपमा भारतीय टोलीले त्यस्तो काम गरिरहेका बेला जानकारी पाएका उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले तत्काल रोक्न संस्कृतिमन्त्री दीपकचन्द्र अमात्यलाई आदेश दिएपछि परम्परागत रूपमा निषेधित उक्त कार्य बुधबार दिउँसोदेखि रोकिएको अन्नपूर्ण पोस्टमा खबर छ ।

अत्यन्त गोप्य रूपमा दुई दिनसम्म सञ्चलित नापजाँच कार्य पशुपति क्षेत्र विकास कोषको अगुवाइमा भएको तथ्य खुलेको छ। त्यसमा मूल भट्टलगायत पुजारीसमेतको संलग्नता स्पष्ट भएको छ।

मूलभट्ट, भट्ट र भण्डारी तथा विशेष पर्वमा राजा/राष्ट्राध्यक्षबाहेक गर्भगृह प्रवेश अरूका लागि पूर्ण निषेध छ। पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव गोविन्द टन्डनले काम रोक्न आदेश आएपछि रोकिएको स्वीकारे।

उनले भने, ‘सर्भे सुरु भएपछि भारत नै पशुपतिनाथभित्र पस्यो भन्नेजसरी हल्ला फैलाएर अनावश्यक र नकारात्मक टीकाटिप्पणी भयो। तत्कालका लागि काम रोक्नू भन्ने सूचना आएकाले बुधबार दिउँसैदेखि काम रोकेका छौं।’

उपप्रधानमन्त्री गौतमले मन्त्री अमात्यलाई भनेपछि अमात्यले सदस्यसचिव टन्डनलाई फोन गरी काम रोक्न निर्देशन दिएका थिए। भारतीय टोलीले मूल मन्दिर प्रवेशका लागि आवश्यक पर्ने न्यूनतम धार्मिक प्रक्रियासमेत पूरा गरेन।

मन्दिरका भण्डारी केदारमान राजभण्डारीले अन्नपूर्णसँग भने, ‘नियमअनुसार कपाल खौरिएर र धोती बेरेर प्रवेश गर्नुहोस् भनी आग्रह गर्दासमेत भारतीय टोलीले मानेन।

पूजामा विधिपूर्वक खटिने व्यक्तिबाहेक नेपालीले नै प्रवेश नपाउने ठाउँमा भारतीय टोलीले प्रवेशमात्र होइन ढुकुटीको समेत नापनक्सा र तस्बिर लिने काम गर्‍यो’, उनले भने।

उनले सर्भेका लागि कोषको परिषद्ले समेत निर्णय नगरेको दाबी गरे। उनले भने, ‘दुईचारजना कर्मचारी र भण्डारी बसेर निर्णय गर्दैमा हुने विषय होइन यो, संवेदनशील क्षेत्रमा किन विदेशीलाई खुलेआम पस्न दिइयो?

दुई देशका सम्बन्धित निकायबीच समझदारीपत्रमा समेत हस्ताक्षर नभई पशुपतिनाथ मन्दिरमा रोमलसिंह जाम्वालको नेतृत्वमा आएको भारतीय टोलीले प्रवेश पाएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment