Comments Add Comment

मनको मान्छे खोजिसकेँ, बिहे गर्दैछु

Coffee-guff-with-Sunita Dulal-650देश विदेशमा हुने स्टेज कार्यक्रममा उच्च माग छ सुनिता दुलालको । पछिल्ला केही वर्षयता उनको बसाइ विदेशमै बढी हुन थालेको छ । रुपकी रानी सुनितालाई आफु उत्पात राम्री भएजस्तो चाहिँ लाग्दैन । तैपनि ऐना अगाडि उभिएर हेर्दा रमाइलो लाग्छ उनलाई ।

सिन्धुपाल्चोकको जलबिरेमा जन्मेकी सुनिताको सांगीतिक करिअर एसएलसीपछि सुरु भएको हो । एफएफ र टेलिभिजनमा कार्यक्रम प्रस्तोता भएकी सुनिताले तीजको गीतमा विषेश ख्याती कमाएकी छिन् । उनै गायिकासँग अनलाइनखबरले गरेको कफी गफः

तपाईंको नजरमा प्रेम ?
मेरो बुझाइमा प्रेम भनेको माया हो । हरेक ब्यक्तिलाई जिन्दगी जिउनका लागि पनि प्रेम आवश्यक हुन्छ ।

तपाईंले त्यस्तो प्रेमको अनुभव गर्न पाउनुभयो ?
त्यो क्रममै छु । शायद अर्को वर्ष प्रेम विवाह नै गर्छु होला । अहिले आफ्नो मनको मान्छे खोजिसकेँ भन्दा पनि फरक पर्दैन ।

जीवन कसैसँग साट्न पाए समकालीन संसारमा कोसँग साट्नु हुन्थ्यो ?
म आफुलाई एकदम भाग्यमानी ठान्छु । जे छु त्यसैमा खुसी छु । कसैसँग पनि जिन्दगी साटन चाहँन्न । मिल्ने हो भने त अर्को जन्ममा पनि सुनिता दुलाल नै भएर जन्मिन चाहन्छु ।

गहिरो पश्चाताप कहिले र केमा गर्नुभएको छ ?
मैले अहिलेसम्म कुनै कुरामा पछुतो गर्नुपरेको छैन । र, सायद पछुताउने काम गरिसकेको छैन, त्यसैले होला ।

सबैभन्दा बढी खुसी भएको कुनै क्षण ?
जतिवेला म स्कुल पढाउथें । एफएफमा कार्यक्रम चलाउथें । मलाई गीत गाउने रहर थयो । स्ट्रगल गर्दै थिएँ । तीजको गीत निकालेँ, ‘आमाले पकाको मीठो दर खानलाईंं…। गीत सफल भयो । मिडियाले पनि राम्रो सपोर्ट गर्‍यो ।
म आफै एफएफकर्मी भएकाले अरु कलाकारको अन्तर्वाता लिन्थेँ तर, यो गीत आएपछि मलाई नै अरुले अन्तर्वार्ताका लागि बोलाउन थाले । त्यसपछि मैले पछाडि फर्केर हेर्नुपरेन । त्यही समय हो, म सबैभन्दा धेरै खुसी भएको ।

कुनै बेला रुनुभएको छ ?
कसैले मेरो मन दुखायो भने आँशु आइहाल्छ । रोइहाल्छु ।

भिडियो

पछिल्लो समय सबैभन्दा रोएको क्षण ?
‘न्युज-२४’ टेलिभिजनको ‘आमा’ भन्ने कार्यक्रममा मेरो ममीको अन्तरवार्ता आएको थियो । त्यो हेरेपछि रोएँ । मेरी ममी सानै हुँदा हजुरआमा बित्नु भएको रहेछ । ममीका दुःखका अरु कुरा सुन्दा निकै नरमाइलो लाग्यो ।

ठट्टा/रमाइलो गर्न कत्तिको मन पराउनुहुन्छ ?
साथीभाइसँग अलि अलि रमाइलो गरिन्छ । प्रोग्रामका लागि बाहिर गएका बेला कहिले काँही ठट्टा पनि गर्छु ।

तपाईंलाई सबैभन्दा रीस उठाउने कुरा ?
बोलेको कुरो पूरा नगर्ने मान्छे देख्दा रीस उठ्छ । म चाहिँ बोल्दिँन, बोलेपछि पूरा गरेरै छाड्छु ।

अति रीस उठेका बेला मनलाई कसरी शान्त पार्नुहुन्छ ?
एकछिन बोल्दिँन, फोन उठाउँदिन । पानी खान्छु । एक्लै बस्छु । त्यसपछि मन शान्त भैहाल्छ ।

झुट कत्तिको बोल्नुहुन्छ ?
प्राय त झुट बोल्दिँन । मैले बोलेको झुटले अरुलाई असर गर्दैन भने बोल्दा पनि केही फरक नपर्ला । ल ल म आइहालें, आइपुगिसकें भनेर त बेला बेलामा झुटो बोल्ने गरेकी छु । किनकि काठमाडौंमा हुने जामले समयमा पुग्न अलि गार्‍है हुन्छ ।

समय र फुर्सद् पाए नेपालको कुन ठाउँमा गएर समय बिताउन चाहनुहुन्छ ?
मलाई ताप्लेजुङ असाध्यै राम्रो लाग्छ । अस्ति भर्खर पाथिभरा मन्दिर गएर आएँ । पोखरा पनि मन पर्छ । अब चाहिँ मलाई मुस्ताङ जान मन लागेको छ । डोल्पा, रुकुम पनि जान मन छ । हेरौं, समयले कहिले जुराउँछ ।

sunita dulal (4)

खाना पकाउने र भाँडा माझ्नेमध्ये एउटा रोज्नु परे कुन रोज्नुहुन्छ ?
मलाई खाना बनाउन जाँगर लाग्छ । म होम साइन्सको विद्यार्थी पनि हो । त्यसकारण मलाई भाँडा माझ्न भन्दा खाना बनाउनमै जाँगर लाग्छ ।

आफ्नै नजरमा तपाईंका तीन कमजोरी ?
भावुक छु, जोसुकैलाई छिट्टै विश्वास गर्छु । अलि आत्तिएर काम गर्छु । त्यति नै हो अरु त नराम्रो छैन । (हाँसो)

आफ्नो जीवन र कर्मको मूल्याङ्कन एक वाक्यमा गर्नुस् न ?
म एउटा भाग्यमानी गायिका, धेरै दर्शकको माया पाएकी छु ।

हार्ड ड्रिंक्स र धुमपान गर्नुहुन्छ ?
त्यस्तो केही पनि गर्दिँन । सफ्ट ड्रिंक्स पिउँछु ।

मनले चाहेको, तर अहिलेसम्म पूरा गर्न नपाएको संकल्प ?
त्यस्तो खासै छैन । भविष्यमा चाहिँ आफ्नै गाउँ सिन्धुपाल्चोकको जलबिरेमा एउटा बृद्धाश्रम खोल्ने योजना छ । धेरै युवा बिदेशिएकाले कतिपय परिवारमा बुढाबुढीलाई पानी खुवाउने मान्छे समेत छैन । म चाहन्छु, एउटा यस्तो वृद्धाश्रम होस्, जहाँबाट हरेक बृद्धले सहज जीवन यापन गर्न पाउन् ।

तपाईंको दृष्टिमा प्रेम र सेक्सबीचको सम्बन्ध ?
जीवन चलाउनका लागि पनि आवश्यक छ जस्तो लाग्छ ।

तपाईं सबैभन्दा बढी विश्वास केमा गर्नुहुन्छ ?
भगवानप्रति आस्था राख्छु । कर्ममा विश्वास गर्छु ।

कुन भगवानलाई मान्नु हुन्छ ?
यो धर्म र उ भन्ने छैन । मन्दिरदेखि चर्च समेत जान्छु । हरेक धर्मको सम्मान गर्छु । मंगलवार गणेशको ब्रत बस्ने गरेकी थिएँ । तर, अहिले ब्रेक भएको छ ।

सुनिता दुलाल अब अमेरिकामै बस्छिन् भन्ने हल्ला पनि चल्यो नि एकताका ?
समयमा गएर समयमा फर्किने मध्ये म पनि एक हुँ । २०१० मा जतिबेला म संघर्ष गर्दै थिएँ, बस्न खोजेको भए त त्यतिबेलै बस्थेँ होला । अहिले त मलाई अमेरिका बस्नुपर्ने जरुरी नै छैन । फेरि म बिदेश गएर बसें भने नेपाली दिदी बहिनीहरुलाई तीजै आउँदैन ।

तपाईको पहिलो

sunita dulal (3)पत्रिकामा आफ्नो फोटो पहिलोपटक कहिले छापिएको थियो ?
सन् २००८ मा ग्ल्यामर भन्ने पत्रिकामा एउटा फोटो छापिएको थियो । निकै खुसी भएकी थिएँ । त्यतिबेला मेरो ब्लोअप छापिएको थियो । अहिले पनि भित्तामा टाँसेर राखेकी छु ।

पहिलो डेटिङ ?
हा हा … सन् २०१५ मा । डेटिङ भनेर केलाई भन्ने ? त्यसरी स्पेशल डेटिङ जानै पाएको छैन । ब्वाइफ्रेण्डसँग डेटिङ त जानै भ्याएको छैन ।

पहिलो चुम्वन ?
ममीसँग

तपाईलाई पठाइएको पहिलो प्रेमपत्र ?
कक्षा ८ मा पढ्दा एउटा पत्र आएको थियो । अहिले पनि स्याहार गरेर राखेकी छु । निकै राम्रा-राम्रा सायरी छन् । केही ज्ञानगुनका कुरा पनि छन । त्यो चाँही पत्र भन्दा पनि एउटा डायरी नै थियो ।

पहिलो कमाइ ?
एसएलसी दिने बित्तिकै आफैले पढेको स्कुलमा पढाएँ । ३५ सय रुपैयाँ कमाइ भएको थियो ।

राजनीति ? तपाईंको विचारमा राजनीति के हो ?
अहिले नेपालको राजनीति डर्टी गेमजस्तै भइरहेको छ । देश र जनतालाई सुख दिने कुरामा नेताहरु चुक्नु भएको छ । नेताहरु अलि बढी अवसरवादी भएकी जस्तो लाग्छ ।

राम्रो क्षमता भएर पनि माथि जान नसकेका राजनीतिज्ञहरूको नाम लिनुपर्दा ?
गगन थापा हो । मलाई गगन थापा मन पर्छ । खासमा योङहरुलाई स्थान दिनुपर्ने हो ।तर, हाम्रोमा रिटायर्ड भएर बस्नुपर्नेहरु राजनीतिमा सक्रिय हुनुहुन्छ । नेताहरु कुर्सिमै केन्द्रित हुनुभयो ।

कलाकारहरु धमाधाम राजनीतिमा लागिरहेका छन् । तपाई के सोच्दै हुनुहुन्छ ?
म त जसले राम्रो गर्छ, उसैलाई सपोर्ट गर्छु । कलाकार हुँदैमा राजनीति नै गर्नुहुँदैन भन्ने चाहिँ छैन ।

देशमा आज नै चुनाव भए कसलाई भोट हाल्नुहुन्छ ?
अहिले त यसलाई भोट दिनुपर्छ भन्ने नै छैन । सबै जनता जस्तै म पनि निराश छु ।

मन पर्ने ब्राण्ड ?

घडीः रोलेक्स
जुत्ताः यही ब्राण्ड चाहिन्छ भन्ने छैन ।
मोवाइलः आइफोन सिक्स, मोबाइल र ल्यापटप नयाँ आउने बित्तिकै किन्न मन लागिहाल्छ ।
क्रिमः ल्यानकन
साबुनः साबुन म त्यति धेरै प्रयोग गर्दिँन । प्रायः जेल प्रयोग गर्छु ।

कलाकार नभएको भए ?
शायद शिक्षिका बन्थें होला ।

आफ्नो जीवन कत्तिको सफल भएको महसुस गर्नुहुन्छ ?
म आफुलाई भाग्यमानी मान्छु ।

आफ्नै सबैभन्दा बढी मन परेको गीत ?
अब त मैले नि झुम्का लगाउँछु …भन्ने गीत असाध्यै मन पर्छ । किनकि मलाई त्यही गीतले चिनायो । यो गीत गाएपछि कहिल्लै पछि फर्केर हेर्नु परेन ।

अरुको नि ?
धेरै छन् । नाम नलिउँ, भो ।

मन पर्ने नायक/नायिका ?
जीबन लुइटेल, अकेषा विष्ट

गायक /गायिका ?
रामजी खाँण, मिलन अमात्य, रजिना रिमाल, टीका पुन अरु पनि छन् ।

आफूले बिताएका पुराना दिनमध्ये कुनै एक पल पुनरावृत्ति हुने भए ?
जीवनमा अझै धेरै गर्नु छ । त्यसकारण म पछाडि फर्किन चाहन्न । अझै नयाँ अनुभुति गर्नै बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment