के भनेकि सानी ? जलेको तिम्रो मुस्कानले पो
एकै नजरमा, ढलेको तिम्रो मुस्कानले पो ।
अतिवृष्टी, अल्पवृष्टी, अनावृष्टी छिचोलेर
मंसिरे धान झैं, फलेको तिम्रो मुस्कानले पो ।
सुनसान एकान्त कल्पनामा एक्लै डुब्दा
पानसमा बत्ती बलेको तिम्रो मुस्कानले पो ।
के छ कुन्नि तिमीमा त्यस्तो दैवी शक्ति
लज्जावती झार गलेको तिम्रो मुस्कानले पो ।
अज्ञातको मनलाई शितल पारीदिने
सुस्तरी यो हावा चलेको तिम्रो मुस्कानले पो ।
– ‘अज्ञात’ ऋषि राई , कटारी नगरपालिका उदयपुर