Comments Add Comment

‘हामी भेडा हौं, राजेश हमालको पछाडि दौडदा बिग्रियौं : ऋषि लामिछाने

risi-lamichane
चैत्र २७ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘हवल्दार सुन्तली’का निर्देशक हुन्, ऋषि लामिछाने । नेपाली चलचित्रमा मन खोज्न दौडने यी निर्देशक अझै पनि आफूले मन फेला नपारेको बताउँछन् । चलचित्र ‘श्रीमान् श्रीमती, आफ्नो मान्छे आफ्नै हुन्छ, कही मिलन कही विछोड’ लगायतका चलचित्र निर्देशन गरेका ऋषि अझै पनि आफूले स्वतन्त्र भएर काम गर्न नपाएको बताउँछन् ।

उनै लामिछानेसँग चलचित्र क्षेत्र, यहाँको राजनीति अस्थिरता र उनको बारेमा अनलाइनखबरका लागि विजय आवाजले गरेको कुराकानी :

तपाइको परिचय निर्देशक भन्दा बाहिर के छ ?
एउटा सामान्य नेपाली, पहाडमा जन्मिएको र देशलाई बढी माया गर्ने मानिस हुँ म । चलचित्र भन्दा देश ठूलो हो भन्ने कुरा सोच्छु ।

निर्देशकको हिसाबले तपाइको परिचय के त ?
चलचित्र सिक्दै गरेको, संघर्ष गरेको र केही गर्नुपर्छ भन्ने चाहना भएको कर्मशिल योद्धा हुँ म । जबसम्म म मर्दिन तबसम्म सिकिरहन्छु ।

एउटा सिक्दै गरेको निर्देशकमाथि निर्माताले जोखिम किन मोल्ने त ?
विश्वमा जोपनि निर्देशक सिक्दै नै गरेको हुन्छ । जसले सिकिसके भन्छ, उसको त्यही नै पूर्णविराम लाग्छ । प्रविधी समय अनुसार परिवर्तन भएको छ । यसैले हरेक कुरा समय अनुसार सिक्न जरुरी छ ।

तपाइले सिरियल निर्देशन र चलचित्र निर्देशन गर्नुभयो, के पाउनुभयो त ?
मेरो मनमा भएको चाहना मैले विस्तृत रुपमा देखाउन पाएँ । सिरियलबाट मैले नाम, पैसा, प्रतिष्ठान पनि पाएँ । एन एसके टेलिभिजनले दक्षिण एसियाकै उत्कृष्ट सिरियल भनेर देखायो । तर, चलचित्रमा लडाई बढी छ । यहाँ झगडा बढी हुन्छ । मलाई त लाग्छ अब छलकपट पनि सिक्नु पर्ला जस्तो छ ।

तपाईले महा-सचिवबाट राजिनाम दिएको संस्था, नेपाल चलचित्र निर्देशक समाजको भाडभैलो के हो ?
त्यहाँ भित्र गलत काम भएको छ है भनेर मैले आवाज उठाएको हुँ । म पनि राजनीतिमा लागेको भएँ अहिले जुन अवस्था त्यहाँ छ त्यो हुदैनथ्यो होला ।

मलाई त्यहाँ भित्रका गलत क्रियाकलाप बाहिर ल्याउनु थियो, त्यो ल्याइदिएँ । गलत कामबाट मैले संस्थालाई बचाउन खोजेको मात्र हो । अब, बाँकी निर्णय गर्ने काम त चलचित्रकर्मी को हो ।

अनि, खै त चलचित्रकर्मीमा त निर्देशक समाजलाई लिएर कुनै छलफल नै भएनन् त ?
मेरो चाहना गलत काम हुनु हुदैन भन्ने थियो । सायद, चलचित्रका मानिसले त्यो कुरा सुनेनन् होला । यहाँ मानिसहरु प्लस र माइनसको खेलमा रुमलिएका छन् ।

केही साथीहरुले त राजिनामा नै फिर्ता लिनुभयो । यही जोड र घटाउको खेलले चलचित्र क्षेत्रलाई ध्वस्त बनाइदियो । राम्रो कुराको विजयीको लागि मानिसहरु दौडिएका नै छैनन् ।

नेपाली चलचित्र क्षेत्र चरम राजनीतिमा डुबेको हो ?
आफ्नो स्वार्थ पुरा गर्नका लागि मानिसहरुले यो क्षेत्र डुबाएका छन् । चलचित्र क्षेत्रलाई स्वार्थी मानिसहरुको खेलले ध्वस्त बनाउँदैछ । यहाँ म मात्र एउटा मानिस हुँ, जसले यस्तो खेल खेलेको छैन । दिनेश डीसीको स्थानम म भएको भए, म त्यस्तो केही पनि काम गर्दैनथ्य ।

तपाइको वुझाइमा यहाँका कती प्रतिशत मानिस सही छन् ?
१० प्रतिशत मानिस मात्र सही छन् । अरु ९० प्रतिशत मानिस यो क्षेत्रको विनासका लागि लागेका छन् । सबैले आफूलाई मात्र ठूलो मान्छे भन्ने सोचका कारण यो क्षेत्र डुबेको हो । भेट्दा ठिक्क पार्ने, छुटेपछि कुरा काट्नेहरु हाबी भएका छन् । यहाँ मन छैन, मस्तिष्क मात्र छ । त्यो मस्तिष्कले आफ्ना लागि मात्र सोच्ने काम गरेको छ ।

तपाई चलचित्र बनाउन दौडिएको मानिस, यहाँ सन्तुष्ट हुने ठाउँ कती छ ?
यहाँ सन्तुष्ट हुने ठाउँ थोरै मात्र होला । चलचित्रमा मैले आफ्नो विचार खोज्ने कोशिश गरे । केही अरुको विचार खोजे होला त कही पैसाका लागि काम गरे होला ।

आफूलाई सन्तुष्ट हुने चलचित्र बनाउनका लागि निर्देशक, कलाकार वा अरु कसैलाई , आफै निर्माता बन्नुपर्छ रे हो ?
हुनसक्छ । नेपालको कुनै पनि चलचित्रमा निर्देशक निर्माताबाट स्वतन्त्र छैन । कही अलिकती खुल्न पायो होला त कही खुम्चियो होला । निर्देशकहरु कतै कलाकार त कतै निर्माताबाट दबिएका छन् ।

सन्तुष्ट हुनका लागि तपाई आफैले चलचित्र बनाउने संभावना पनि होला त ?
म  त्यही दिनको खोजीमा लागिरहेको छु । मैले अहिले निर्देशक गरेका चलचित्रले दर्शकको ताली पाउला, व्यापार गर्ला । तर, म देशले ताली पाउने, विश्वमा हाम्रो चलचित्रले एउटा उच्च स्थान पाउने समय कुर्दै छु ।

तपाइले सन्तुष्टी हुने गरि चलचित्र बनाउन पाउनु भएको छ त ?
मैले आत्मसन्तुष्टी हुनेगरि कुनै काम गर्न पाएकै छैन । कतै म बच्नु पर्ला, कते मेरो परिवारलाई बचाउनु पर्ला । मेरो देश, भाषालाई अगाडि बढाउन पाए हुन्थ्यो भन्ने छ । मैले मेरो चलचित्रमा मेरा अमुर्त चाहनाको खोजी गर्ने गरेको छु ।

यदि, तपाइको सत प्रतिशत स्वतन्त्रता हवल्दार सुन्तलीमा हुन्थ्यो भने, शिल्पा पोख्रेललाई लिनुहुन्थ्यो ?
म सुरुमा लिदैनथ्य । तर, जब मैले लज्जा चलचित्र हेरे, त्यसपछि उनलाई नै लिन्थे । सुरुमा मेरो दिमागमा रेखा थापा थिइन् । मैले धेरै नायिकालाई सोचे । म स्टार नायिकाको पछाडि दौडन पनि सक्दिन । मलाई चलचित्रमा पुरा समय दिओस् भन्ने नायिका खोजी थियो । तर, मैले ‘लज्जा’ चलचित्र हेरे, शिल्पालाई नै रोजे ।

ऋषि लामिछानेको दिमागमा कस्तो क्रियशन छ, जुन माथि निर्माता लगानी गर्न आउन् ?
यस्तो निर्माता आउनु पर्यो, जसले मेरो चलचित्र व्यापार मात्र होइन । व्यापार माथि देश, संकार, सभ्यता छ । यो तिनै कुरालाई अन्तरराष्ट्रिय रुपमा लैजान सक्ने सोच भएको निर्माता आए हुन्थ्यो । चलचित्र व्यापार हो, मात्र व्यापार मात्र होइन । चलचित्र देश हो, सुख हो, मर्म हो ।

हामीले चलचित्र नगरीमा के कुरा गुमाइरहेका छौ ?
हामी सिर्जनमा कमी छौ । राम्रो सिर्जनामा काम गर्न सकिरहेका छैनौ । हामी सिर्जनशिल होइन, मेसिन भएका छौ । राम्रो चलचित्र कसरी गर्ने भन्ने बारेमा सोचेका नै छैनौ । क्यामेराको लेन्समा हामी राम्रोपन खोजिरहेका छौ । क्यामेराको भाषामा हामी राम्रो कुरा खोज्दैछौ ।

चलचित्र बिचार हो । बल्ल यसलाई सहयोग गर्ने माध्यम हो प्रविधी हो । अहिले निर्देशक करोड खर्च गरेर उत्कृष्ट दृश्य खोज्छन् । त्यो राम्रो चलचित्र होइन । जब, तपाई राम्रो सोचमा चलचित्र बनाउनुहुन्छ, कलाकार, प्रविधी बल्ल आउँछ ।

नेपाली चलचित्र असफल हुनुको पछाडि, निर्देशकले कती प्रतिशत जिम्मा लिनुपर्‍यो होला ?
३३ प्रतिशत निर्देशक, ३३ प्रतिशत निर्माता र ३३ प्रतिशत पोलिसी बनाउने मान्छेले  जिम्मा लिनुपर्छ । कलाकार त पछि आउने कुरा हो । पहिले हामी कलाकार चयन गर्छौ यो गलत हो । पहिला हामी राजेश हमाललाई लिन्थ्यौ अनि मात्र कथा बनाउन थाल्यौ ।

यसैले त चलचित्र क्षेत्र बिगि्रयो नि । यो स्टार बिहिन देश हो अहिले । हिजो पनि मेसिन स्टार थिए । तीनै स्टारका कारण आज चलचित्र क्षेत्र बिग्रियो । हामीसँग स्टार होइन, कथा छैन । राजेश हमाल चल्यो राजेश हमालकै पछि लाग्छौ, ‘हाकु काले’ चल्यो हाकु कालेकै पछि लाग्यौ । हामी निर्देशक भेडा हौ । यसैले हाम्रो चलचित्र क्षेत्र बिग्रियो ।

ऋषि लामिछानेबाट दर्शकले गर्ने अपेक्षा के छ त ?
म सधै सकारात्मक कुरा सोच्छु । सकारात्मक कुराबाट नै अगाडि बढ्नुपर्छ भन्ने मानिस हुँ म । म अहिले नै के के नै गर्छु भन्न सक्दिन । जब आर्थिक रुपमा हामी सबल हुन्छौ अनि मात्र म मेरो खोजी गर्छु ।

तपाई जुन तरिकाले अगाडि बढ्नुपथ्र्यो, त्यो कतै गुमेको छ हो ?
मान्छे भित्र चाहना पनि हुन्छ, इच्छा पनि हुन्छ । मानिस जित्नकै लागि लागेको छ । यहाँ प्लस र माइनसको खेल बढी भयो । यसैले म पछि भएँ ।

जिवनको जोड र घटाउ नजानेर होला, म कतै पछाडि पनि परेको छु । तर, आम चलचित्रकर्मीहरु जसले नेपाली चलचित्रमा काम गर्नुभएको छ, तर म कही न कही पछाडि छु जस्तो लाग्दैन । कही न कही मैले गर्न बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment