Comments Add Comment

‘पुलिस बन्छु भन्ने लागेको थियो, लेखक बनें’

Anbika-Giri

२८ चैत, काठमाडौं । साहित्यकार आन्विका गिरी मोफसलबाट आफ्नो उर्जाशील जीवनमा सफलताको सिँढी चढ्न काठमाडौं आएकी हुन् । जीवनका सपनाहरु परिमार्जन हुँदै अहिले उनी लेखकका रुपमा स्थापित हुने क्रममा छिन् । ‘कम्युनिष्ट’ कथा संग्रहपछि ‘मान्छेको रंग’ उपन्यास लेखेपछि उनको कृतिमाथि विभिन्न टीकाटिप्पणी भइरहेका छन् । यसै सिलसिलामा उपन्यासबारे उठेका प्रश्नलगायतका विषयमा अनलाइनखबरले साहित्यकार गिरीसँग कुराकानी गरेको छ :

आफूलाई अब साहित्यकार नै भनेर चिनाउन थाल्नुभएको हो ?

दुईवटा किताब आएको छ । मलाई के लाग्छ भने मैले गर्न सक्ने काम भनेको लेख्ने नै हो । अहिले साहित्यकारका रुपमा फिक्सन लेखिरहेकी छु । भोलि नन फिक्सन पनि लेख्न सक्छु । तर, मलाई के लाग्छ भने सानामा म भोलि यो बन्छु, त्यो बन्छु भन्ने सपनाहरु, उद्देश्यहरु परिर्वतन हुँदै ०६६ सालमा कम्युनिष्ट सार्वजनिक गर्दा मैले भनेकी थिएँ कि अब म लेखक हुनेतिर जाँदैछु । अब मेरो यो उद्देश्य परिर्वतन हुँदैन होला भनेको थिएँ । मलाई अहिले गर्न सक्ने काम लेख्ने हो भन्ने लाग्छ । तर, आर्थिक रुपमा बाँच्न अरु-अरु काम पनि गर्छु ।

पाठकलाई आफ्नो पृष्ठभूमि बताइदिन मिल्छ ?

म सुनसरीको मधेसा गाविसमा जन्मिएकी हुँ । ०५८ सालमा एसएलसी दिएँ । जिल्लामै आइए पढेपछि म काठमाडौं आएकी हुँ । स्कुल कलेजमा हुँदा कविता सुनाउने गरेकी थिएँ ।

वाल्यकाल र किशोरावस्थाको सपना के थियो ?

सानोमा पुलिस बन्छु भन्ने लागेको थियो । पुलिससँग पावर छ । चोरलाई ठेगान लगाउँछ, पावर छ भन्ने सोचले मलाई पुलिस बन्छु भन्ने लाग्यो होला ।

एक दिन हजुरबाले साथीहरुसँग कुरा गर्दा मेरी नातिनी त खतरा पढ्छे, बोल्छे पनि । मेरी नातिनी वकिल हुन्छे भन्नु भयो । म हजुरबासँग एकदमै नजिक थिएँ । त्यसपछि मैले म वकिल बन्छु भनेँ । र, पुलिसको कुरा बिर्सिएँ ।

पछाडि काठमाडौं आएँ । हजुरबा त बितिसक्नुभएको थियो । उहाँको निधनसँगै उहाँले रोपिदिएको सपनालाई मैले गम्भीर रुपमा लिइँन । कानून पढिँन । काठमाडौं आएपछि कथा लेखें ।

पत्रकार पनि बन्नुभयो हैन ?

पत्रकार बन्छु भनिँन । लेखनसँग जोडिएकाले पत्रकारिता गरेँ । युवराज घिमिरे दाइको समय साप्ताहिकमा काम गरेँ । एउटा अनलाइनमा काम गरेँ र पछि अन्नपूर्ण पोष्टमा काम गरेँ । साढे ३ वर्ष काम गरेँ । नर्भेजियन सरकारले सञ्चालन गरेको एफके एन्सचेन्ज कार्यक्रम थियो, जस अन्तरगत केही समय अफि्रकामा गएँ । अन्नपूर्णमा हुँदा पत्रकार साटासाट गर्ने कार्यक्रम अन्तरगत म गएको हो ।

anbika-Giri-2

पढाइ कहाँ पुर्‍याउनुभयो ?

मास्टर्स पढेर छाडेको । कोर्षबुक पढ्न बोझजस्तो भएर आयो । अहिले भने पढौं पढौं भन्ने भएको छ ।

नेपाली समाजमा एकजना लेखक व्यवसायिकरुपमा लेखकै भएर बाँच्न सक्छ ?

आर्थिक विषयमा भन्दा तपाई के विषयमा लेख्नुहुन्छ, कतिको राम्रो लेख्नुहुन्छ र तपाई लेखनमा कतिको सक्रिय हुनुहुन्छ भन्ने हेर्नुपर्छ । जस्तो, मैले ०६६ सालमा कम्युनिष्ट कथा संग्रह लेखेँ । ५ वर्षपछि मान्छेको रंग लेख्दा त्यो कम्युनिष्टले म यहाँसम्म बाँच्न सक्ने अवस्था हुँदैन ।

फेरि, मैले के विषयमा लेखिरहेको छु भन्ने पनि हुन्छ । मैले लेखिरहेका विषयहरु लेखन साहित्यको केन्द्रमा भएका विषयहरु हुन् । सीमान्तकृत वर्गका बारेमा लेख्ने हो । जसको आवाज उठेको छैन, त्यसको बारेमा लेख्ने हो । भइरहेका राजनीतिक परिस्थितिमा आफूलाई चित्त नबुझेको कुरा लेख्ने हो । तर, त्यो बजारको केन्द्रमा छैन ।

बजारको केन्द्रमा सेक्स छ, प्रेमका साहित्यहरु छन् । बजारको केन्द्रमा मैले लेखिरहेको विषय छैन । त्यही भएर मैले लेेखेको विषय, मैले जसरी एउटा ०६६ सालमा लेख्ने र अर्को अहिले ०७१ सालमा लेख्ने हो भने यसैबाट आर्थिकरुपमा बाँच्न सक्ने स्थिति छैन ।

तर, लेखेरै बाँच्न सकिने सम्भावना ?

सम्भावना देख्छु ।

तपाईले भनेको बजारलाई छोडेर पनि ?

त्यो सम्भावना छ । तर, लेखकले काठमाडौंमा घर जोड्ने, कारमा चढ्ने, रेष्टुराँमा खाने र छोराछोरीलाई महंगो स्कुलमा पढाउने सोच्ने हो भने त्योचाँही सम्भव छैन । त्यो म अबको कति वर्षपछि पनि सम्भव देख्दिँन ।

तपाईको लेखन राजनीतिसँग बढी जोडिएको छ, किन यही विषय रोज्नुभयो ?

सबै विषयको केन्द्र नै राजनीति हो । त्यसले हामी सबैको जीवनमा बढी प्रभाव पर्ने हो । हामी सानैदेखि राजनीतिक माहोल जस्तोमा हुर्काइ भएको कारणले पनि होला । राजनीति नै रुचीको विषय हो । अरु विषयमा पनि लेखिरहेको हुन्छ । तर, मुख्य राजनीति नै हो ।

यी दुई पुस्तकमध्ये आफैंलाई सबैभन्दा मन छोएको कुनै प्रशंग ?

मैले एउटा कथा लेखेको छु बेपत्तासम्वन्धी । त्यो आफैले पढ्दा पनि एकचोटि मेरो आँखामा आँसु आउँछ । सम्झँदा मात्र पनि त्यस्तो हुन्छ । त्यो कथा पढेपछि एकजना भेट्न आउनुभएको थियो । उहाँले के सोच्नुभएछ भने मेरो आफ्नै भाइ त्यसरी बेपत्ता भएको होला भनेर सोच्नुभएछ । जबकि मैले यो विषयमा अध्ययन र खोजी पनि गरेको होइन ।

मान्छे मरेको पनि छैन र जिउँदो पनि छैन भन्ने अवस्थामा कस्तो होला भनेर सोचेर मैले त्यो कथा लेखेको हो । म अरु धेरै लेख्दा पनि यसलाई अलग स्थानमा राख्छु होला जस्तो लाग्छ ।

तपाईलाई गर्न मन लागेको तर, नसकेको काम ?

अल्छीपन । म एकदमै धेरै न अल्छी छु । म अलिकति जाँगरिलो भएको भए धेरै नै गर्न सक्थेँ भन्ने लाग्छ ।

अहिले के किताब पढ्दै हुनुहुन्छ ?

मोहन मैनालीको मान्ठा डराएको जुग ।

रुचाएको पुस्तक ?

सुरुमा म गोर्कीको आमाबाट एकदमै प्रभावित । अहिले पनि कहिलेँकाँही पढ्छु । त्यसले एकदमै प्रभाव पारेको । त्यसपछि केही पुस्तक पढियो । काठमाडौं आएपछि पत्रिका किन्ने पैसा हुँदैन । पुस्तक किनेर पढ्ने वा लाइब्रेरीमा गएर पढ्ने भन्ने त्यस्तो पनि धेरै स्थिति थिएन । जगदीश घिमिरेको लिलाम पढेँ । त्यसको भाषा, प्रस्तुती, त्यसले जसरी सिधै हिर्काएर भनेको छ, त्योबाट म धेरै प्रभावित भएँ ।

पैसा नभएर नै किताब किन्न नसकेको क्षण ?

कतिचोटि छ । अहिले पनि म पूर्ण बेरोजगार छु । किताब किन्नेबेला धेरैपटक सोच्छु । पुस्तक पसलमा गएपछि यो पनि किनौं, त्यो पनि किनौं भन्ने हुन्छ । मैले एकैपटक १०/१२ हजारको पुस्तक पनि किनेको छु । अहिले के सजिलो भएको छ भने यो किताब मन पर्‍यो । तर, मसँग पैसा छैन, पछि दिन्छु है भनेर लैजान मिल्छ ।

मन पर्ने लेखक ?

यो नै भनेर नभनौं । यो लेखकको सबै किताब मन पर्छ भनेर भन्दिँन । एउटा लेखक असाध्यै मनपर्छ भनेर भन्छु । अर्को किताब झुर लेखिदिन्छ । त्यसैले म कुनै लेखकभन्दा पुस्तक मनपर्छ भन्छु ।

वास्तवमा माओवादीले पढ्ने नपढ्ने भन्दा आम मान्छेहरुले त्यसबेला मर्ने, मार्ने मान्छेहरुका बीचमा म यो मुद्दालाई समर्थन गर्नेहरुको कथा हो ।

‘मान्छेको रंग’ उपन्यास ‘विद्यार्थीले पढ्नैपर्ने तर माओवादीले नपढे पनि हुने’ भन्ने टिप्पणी अनलाइनखबरमै छापिएको थियो, यसमा तपाईको प्रतिक्रिया के छ ?

माओवादीले पढ्नै नपर्ने भन्ने टिप्पणी मलाई अचम्म लाग्यो । माओवादीले पढ्न नहुने भनेर भनिएको छैन । यो-यो कारणले माओवादीले पढ्न नहुने भनिएको भए म सोच्थेँ होला यहाँ मेरो ल्याक होल्ड भएछ भनेर ।

यो पुस्तक माओवादी मात्रका लागि भनेर लेखिएको पनि होइन । दश वर्षे जनयुद्धमा जो प्रत्यक्ष संलग्न भएननन् तर, प्रभावित समूह थिए । उनीहरुले सानोतिनो सहयोग गरेका थिए, उनीहरुको कथा हो यो ।

वास्तवमा माओवादीले पढ्ने नपढ्ने भन्दा आम मान्छेहरुले त्यसबेला मर्ने, मार्ने मान्छेहरुका बीचमा म यो मुद्दालाई समर्थन गर्नेहरुको कथा हो । त्यसैले विद्यार्थीले पढ्नै पर्ने, माओवादीले नपढे पनि हुने भनेर कारणसहित दिएको भए अलि चित्त बुझ्थ्यो होला ।

Anbika-Giri-3

तर, उपन्यासमा माया भन्ने पात्रले सानै उमेरमा मार्क्सदेखि कम्युनिज्मबारे धेरै बुझेको देखाइएको छ । त्यस्तो पनि हुन्छ र ?

यो विषयमा मलाई धेरै मान्छेहरुले प्रश्न गर्नु भो । ८/९ वर्षको उमेरको कुरा छ । म कुन पृष्ठभूमिबाट आएको भने ७ वर्षकी दिदी आमा हुने पृष्ठभूमिबाट आएकी हो । भाइबहिनी जन्मनासाथ त्यो सात वर्षकी दिदीले दिसा धोइदिने, सिंगान पुछिदिने, लिटो खुवाइदिने अर्थात व्यवहारिक रुपमा त्यतिको परिपक्क हुनुपर्ने अवस्था पार गरेको आएको हो म पनि ।

हाम्रो समाजमा १२/१३ वर्षको किशोर हलो जोत्न जानुपर्छ । आज काठमाडौंमा बसेर यो किताब पढ्दा १२/१३ वर्ष अगाडिको त्यो कुरालाई बिर्सिएर त्यसो हुन सक्छ र भनेर प्रश्न गरिरहेका छौं ।

मायाको पृष्ठभूमि प्रष्ट छ । उनका बाबु शिक्षक हुन् । एउटा शिक्षक, जो राजनीतिक गतिविधिमा संलग्न छ । उसकी छोरीले आमा उपन्यास छिट्टै पढ्नु कुन आश्चर्यको कुरा भयो र ? यो प्रश्न मान्छेहरुले किन सोधे भनेर म अचम्म मान्छु ।
मैले मेरी बहिनीलाई भनेँ, मान्छेहरुले यस्तो प्रतिक्रिया दिए । ऊ हाँसी । हामीले पाँच कक्षाभन्दा अगाडि नै आमा पढेको होइन ? यसो भनेर ऊ हाँसी । सिवानी सिंह थारुले पनि मैले पनि यस्ता किताब पढेँ भन्दा साथीहरुले कसरी पढिस् यस्तो किताब भनेर सोधे भन्छिन् ।

यही उपन्यासबारे अर्को एउटा समीक्षामा भनिएको छ, यसले तपाईको अघिल्लो कथा संग्रह ‘कम्युनिष्ट’ लाई न्याय गरेन । यसमा के भन्नुहुन्छ ?

एउटा पाठकको रुपमा तुलना गर्न पाइने भयो । तर, म आफैंलाई भने पहिलाको कथाहरु भन्दा म यसमा कमजोर भएँ, मैले चाहेका कुरा भन्न सकिँन भन्ने लागेको छैन । यद्यपि यो उपन्यास धेरै मोटो छ, धेरै पात्रहरु छन्, सुधार गर्नुपर्ने ठाउँ जहिले पनि रहन्छ । तर, म आफैंले तुलना गर्दा कमजोर भएँ भन्दा पनि सानो-सानो कथा लेखिरहेको मान्छेले यति ठूलो उपन्यासमा पत्रहरुलाई व्यवस्थित रुपमा अगाडि बढाउन सकें भन्ने लागेको छ ।

राजनीतिक विषयमा लेख्नुहुन्छ, कुनै नेताको भाषण सुन्न धाएर जानुभएको छ ?

गएको छु । अहिले पनि समय भयो भने जान्छु । मेरो रुचीको विषय मान्छेहरु भएको हुनाले ठूलो जमघटमा विभिन्न कुरा सुन्ने अवसर हुन्छ, त्यसैले जान्छु ।

तपाईसँग पाठकहरुले पहिलोपटक भेट्दा कस्तो प्रतिक्रिया जनाउँछन् ?

ए ठूलो मान्छे होला भन्ने ठानेको त सानै मान्छेको रहेछ भन्छन् । त्यस्तै हुन्छ । तर, धेरै पाठकहरुसँग भेट हुने कार्यक्रम भयो भने म जान्छु । धेरै घुलमिल भने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment