Comments Add Comment

यी हुन् बर्षका उत्कृष्ट ५ नायक

बि.स. २०७१ ले भोलिदेखि हामीबाट बिदा लिँदैछ । नयाँ बर्ष २०७२ को आगमनको उमंगसँगै हामीले वित्दै गरेको बर्षमा नेपाली चलचित्र उद्योग कस्तो रह्यो भन्ने समिक्षा गर्दै छौं ।

बर्ष ७१ नेपाली चलचित्रका लागि सुनौलो बन्न सकेन् । प्रतिशतको आधारमा हेर्ने हो भने ९० प्रतिशत चलचित्र पूर्ण रुपमा असफल भए । तर, पनि निर्माताहरुले लगानी गर्न छाडेनन् । कलाकार व्यस्त भैराखे ।
यो बर्ष केही फिल्मी नायकहरुलाई निकै फलिफाप भयो । फिल्मले लगानी उठाउन नसके पनि उनीहरुले काम पाइराखे, राम्रै आम्दनी गरे र बर्षभरी चर्चामा रहे ।

हामीले कलाकारको काम, बक्स अफिस कलेक्सन, मिडिया कभरेज, अभिनय र चलचित्र क्षेत्रमा पारेको प्रभावलाई आधार मानेर सफल ५ जना अभिनेताको सूची तयार पारेका छौं ।
1_OK top -5-Aaryan sigdel
१. आर्यन सिग्देल : बर्ष २०७१ मा सर्वाधिक गाली र ताली पाउने नायक हुन्, आर्यन सिग्देल । चलचित्र सफलता र असफलताले आर्यनलाई चर्चामा ल्याइदियो । बर्षको सुरुवातमै प्रेमिका सपना भण्डारीसँग बिहे गरेपछि आर्यनको भाग्य चम्केजस्तै भयो ।

उनले अभिनय गरेको चलचित्र ‘नोभेम्बर रेन’ले बक्स अफिसमा राम्रो कमाई गर्‍यो । अर्को फिल्म ‘लज्जा’ पनि अपेक्षाकृत राम्रै चलेपछि उनलाई फिल्म लिन चाहने निर्माता-निर्देशकको लाइन बढ्न थाल्यो । उनले एक्सन गरेका दुई चलचित्र ‘नाईके र ‘अलबिदा’ असफल भएपनि उनलाई केही परक परेन ।

चलचित्र ‘माला’ पनि ब्यबसायिक रुपमा असफल रह्यो । अर्को फिल्म ‘पूनर्जन्म’ले लगानी उठाउन मात्र सक्यो । आर्यन सिग्देललाई निर्देशक विकास आचार्यले पत्याए र ‘नाई नभन्नु ल ३’ मा खेलाए । यो चलचित्रले २ दिनमा बम्पर ब्यापार गरेपछि आर्यन सिग्देलको भाग्य यो बर्ष चम्कियो ।

व्यापारिक रुपमा आर्यनका लागि यो बर्ष खराब रहेन भन्न सकिन्छ । संचारमाध्यममा आर्यनका खबरहरु प्रकाशन भैरहे । टेलिभिजन, पत्रिका, अनलाइनमा आर्यनका आलोचना र प्रशंसा गरिएका थुप्रै समाचार छापिए । निर्माताका लागि आर्यन नेपाली चलचित्रको एक मात्र नायकको रुपमा देखिए । ‘चलेपनि आर्यन, नचलेपनि आर्यन’ को अवस्था आयो ।

खुट्टाको अप्रेशनपछि आर्यन केही समय बेड रेस्टमा बसे, तर निर्माताले उनलाई १ बर्षसम्म कुर्न तयार भए । आर्यनको बढ्दो लोकप्रियताका आधारमा उनलाई हामीले यो बर्षको नम्बर १ नायकको स्थानमा राखेका छौं ।  2_OK top -5-Dayahang Rai
२. दयाहाङ राई : नायक भन्दा पनि अभिनेताको रुपमा चर्चित कलाकार दयाहाङ राइलाई दर्शकले बर्षको सुरुवातमै साथ दिए । उनले अभिनय गरेको चलचित्र ‘कबड्डी’ मल्टिप्लेक्समा खुबै चल्यो । सिंगल थिएटरदेखि मल्टिप्लेक्ससम्म रुचाइने कलाकार बने दया ।

यो बर्ष दयाले अभिनय गरेका ‘नागबेली’, ‘टलकजंग भर्सेस टुल्के’ र ‘सम्बोधन’ सफल हुन सकेनन् । तर, पनि दयाहाङलाई कामले पछ्याइरहयो । यो बर्ष दयाहाङको हातमा प्रशस्त चलचित्र आए, जुन आउँदो बर्ष प्रदर्शनमा आउनेछन् । नेपाली चलचित्र क्षेत्रमा दयाहाङलाई दमदार अभिनय गर्ने कलाकारको रुपमा लिइन्छ ।
3_OK top -5-Jiwan Luitel
३. जीवन लुइँटेल : गत बर्ष र यो बर्ष पनि जीवन लुइँटेल अभिनित चलचित्रले बक्स अफिसमा धुम मच्चाउन सकेनन् ।

बर्षको अन्त्यमा प्रदर्शनमा आएको चलचित्र ‘भुल भूलैया’को सुखद ओपनिङले जीवनलाई राहत दियो । उनले अभिनय गरेका चलचित्रहरु ‘शिशा’, ‘ठूली’, ‘स्टूपिड मन’ले व्यापारिक सफलता हाँसिल गर्न सकेनन् । तर, जीवनको माग चलचित्र क्षेत्रमा घटेको छैन ।

यो बर्ष उनी २ पटक अमेरिका पुगे । अमेरिकाका विभिन्न शहरमा जीवन अभिनित ३ चलचित्र प्रदर्शनमा आए, जुन यसअघि कुनै नायकको आएका थिएनन् । चलचित्र खासै नचले पनि जीवनको व्यस्तता कम भएन । उनी अर्को बर्ष पनि नेपाली चलचित्रको बजारमा छाउने देखिन्छ ।

संचारमाध्यममा पनि जीवन छाइरहे । कहिले अमेरिका यात्रा र ग्रिनकार्ड अप्लाईको प्रसंग, कहिले एप्समार्फत जोडिएको फ्यानसँगको सम्बन्ध त कहिले सामाजिक संजालमा उनको सक्रियता । सधैजसो उनले संचारमाध्यमको ध्यान तान्न सफल भए ।
4_OK top -5-Anmol KC
४. अनमोल केसी : नायक भुवन केसीका छोरा अनमोल केसीलाई नेपाली चलचित्रमा उदाउँदो सुपरस्टारको रुपमा हेरिएको छ । गतबर्ष चलचित्र ‘होस्टेल’ सफल भएपछि अनमोलको उचाई बढेको हो । यो बर्ष चल्ने कम चलचित्रको सूचीमा अनमोलको ‘जेरी’ अगाडि आउँछ ।

यो बर्ष उनको एउटा मात्र चलचित्र प्रदर्शनमा आयो, जसलाई हेर्न दर्शक हलमा ओइरिए । अनमोलको फ्यान पेजमा फलोअरको संख्या ह्वात्तै बढेको छ । अनमोल नेपाली नायकहरुमा सवैभन्दा धेरै फेसबुकमा फ्यान भएका कलाकार हुन् । यो बर्ष उनी र ‘जेरी’ नायिका आना शर्माको प्रेम प्रसंगले पनि चर्चा पायो ।

उनले कुन चलचित्र साइन गर्छन र कुनबाट ब्याक हुन्छन जस्ता सानातिना खवरले पनि पाठकको ध्यान तान्ने गरेको छ । अनलाइनखरमा अनमोलबारे प्रकाशित सवैजसो समाचार लोकप्रिय बने । पाठकको यही क्रेजका कारण अनमोल नेपाली चलचित्र क्षेत्रका नयाँ सुपरस्टार हुन् ।
5_OK top -5-Saugat malla
५. सौगात मल्ल : सौगात मल्ल अभिनयका हिसावले नेपाली फिल्म उद्योगमा निकै वजनदार नाम बनिसक्यो । उनले जति पनि चलचित्रमा काम गर्छन, जुन जुन भूमिका गर्छन, ती सवै समकालिन नेपाली समाजमा राम्रैसँग स्थापित भइदिन्छन् ।

यो बर्ष उनले ‘मुखौटा’, ‘श्री ५ अम्बरे’ र ‘षडङ्ग’ बक्स अफिसमा सर्वाधिक असफल चलचित्र हुन् । तर, यी ३ वटै चलचित्रमा उनले गरेको कामको खुबै चर्चा भयो, अर्थात फिल्म असफल भए पनि सौगात सधै सफल रहे । चलचित्र ‘षडङ्ग’बाट सौगातले ‘कालु’ नामक पात्र जन्माएका छन् । नेपाली चलचित्रमा पात्रमा भिजेर अभिनय गर्ने कलाकार सौगात जस्तो सायदै अरु होलान् ।

संचारमाध्यममा आउन नचाहने सौगात यो बर्ष पनि पछि परे । लो प्रोफाइलमा रहेर उन्नत अभिनय गर्ने भएपनि उनी संचारमाध्यम, सामाजिक संजाल र फ्यानसँगको अन्तरक्रियामा पछि परेका कारण हामीले उनलाई पाँचौं स्थानमा राख्यौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment