Comments Add Comment

सिके राउतलार्इ लिम्बुवानको चिठी

कुमार लिङदेन

डा. सिके राउत ज्यु,

तपार्इ विद्द्वान र मधेसको एक अभियन्ता हुनुहुन्छ | मैले लेखिरहेका यी शब्दहरु मित्रवत अनुरोध र सुझावहरु मात्र हुन् | हामी बसिरहेको दक्षिण एशियाली उपमहाद्वीपमा जन्मेका धर्महरुले र्इश्वरका नाममा आफुलाई त्याग, आफुलाई साधु सन्त बनाउ, बैराग्य जीवन बिताउ भन्ने आशयको शिक्षा दिन्छ | तर, पहिला आफुले केही ज्ञान, सीप र धन आर्जन गर र एउटा मिशनका लागि त्यो आफुले आर्जन गरेको कुरा त्याग भन्दैन |

Kumar Lingden Limbu 1एउटा मान्छेसँग साधारण सीप र ज्ञान छैन भने उसले र्इश्वरका नाममा जीवनलार्इ त्यागेर वा साधु बनेर के फाइदा हुन्छ र ? तर, यदि कोही मान्छेसँग केही महत्वपूर्ण ज्ञान सीप छ र उसले ती चिजहरुलाई  र्इश्वरका नाममा त्याग गर्यो भने त्यसले समाजलार्इ  ठूलो फाइदा पुग्छ र समाजमा एक प्रकारको हलचल ल्याउँछ |

मानौ कुनै राम्रो डाक्टर, इन्जिनियर, ब्यबसायी, अभिनेता वा खेलाडीले आफुले कमाएको सबै कुरा जनताका लागि खर्च गर्ने वा त्याग गर्ने सोच गर्यो भने त्यसले समाजमा एक प्रकारको बहस ल्याउँछ |

त्यसैले हाम्रा धर्महरुले पहिले केही कुरा आर्जन गर अनि जनता र्इश्वरका नाममा त्यसलाई त्याग गर भनेर सिकाउन सक्नुपर्छ  । यो चुरो कुरा हो | नत्र र्इश्वरका नाममा त्यतिकै साधु ब्रमचारी भएर मात्र आजको युग सुहाउँदो हुँदैन |

प्रसंग धर्म, राजनीति, विज्ञान र संविधान निर्माणको कुरा हो | पृथ्वीको निर्माण हुँदै युरेनियम भन्ने तत्वले एउटा गह्रौं शक्ति हासिल गरिसकेको हुन्छ | र, युरेनियमको त्यो शक्ति वा विकिरणहरु त्याग हुँदा चारैतिर असर पर्छ, एटम बम बन्छ |

यहाँ भन्न खोजेको के हो भने जसले केही हासिल गरेको हुन्छ, उसले निश्चित मिशनका लागि उक्त कुरा त्याग्ने निर्णय गर्यो भने त्यसले समाजमा जबर्जस्त हलचल सिर्जना गर्छ । त्यो हलचलको स्थायित्व कति रहन्छ भन्ने कुरा अरू धेरै चिजले निर्धारण गर्दछ | जस्तो, जनयुद्ध शुरु हुनुअघि डा बाबुराम भट्टरार्इजीहरु जंगल जाने निर्णय गर्दा उहाँले हासिल गरेको शिक्षाको पनि धेरै चर्चा भयो | यत्रो पढेको मान्छे, महिनाको लाखौं कमाउन सक्ने मान्छे, जंगल जाने निर्णय गर्छ भने यसमा केही सत्य र शक्ति लुकेको छ भनेर गाउँ घरका धेरै युवायुवतीहरु जनयुद्धमा होमिन उत्प्रेरित गर्यो |त्यो भिन्नै कुरा हो कि उहाँले डा लेख्न छोड्नुभएन र अरुलाई बुर्जुवा शिक्षा भन्न पनि छोड्नुभएन  । यो उहाँको द्विविधा हो । तर, त्यसबेलाका बेरोजगार युवा युवतीहरुको फोकस उहाँमा परेकै हो | आफुले केही ज्ञान हासिल गर्ने र त्यो ज्ञान जागिर खानलाई होइन जनता मिशनका लागि त्याग गर्ने भन्ने अलिक नयाँ बाटो डा. भट्टरार्इले समातेकै हुन्, जुन कुरा हाम्रो परम्परागत धार्मिक बुझाइ र शिक्षाभन्दा अलिक फरक र नयाँ पक्कै हो  । त्यसैले राजनीतिमा डा भट्टरार्इहरुले चर्चा पनि राम्रै पाइरहेकै अवस्था हो |

अहिले तरार्इ मधेसतिर खास गरी पढेलेखेका युवाहरु बीचमा त्यस्तै अलिक नयाँ प्रकारको हलचल शुरु भएको छ डा सिके राउतजीको अभियानलार्इ लिएर |अमेरिकामा महिनाको १५ लाख तलब खाने बैज्ञानिक तरार्इ मधेसको गाउँ गाउँमा पुलिसको लाठ्ठीसँग संघर्ष गर्दै हिँडिरहेको अवस्था छ । डा सिके राउतजीको यो अभियानले जबर्जस्त धेरैको ध्यान खिचेको छ । त्यहाँ केही भएकै छैन भन्ने अवस्था होइन | कि त डा सिकेलार्इ कसैले पठाएर आएको हो, कि त डा सिकेले तरार्इ मधेसमा भैरहेको शोषण पीडाको गहिराइसँग आफ्नो आत्मालार्इ साक्षात्कार गर्न सकेको हो  । यी दुर्इमा एक हो भनेर त्यहाँका मान्छेहरु सोच्न बाध्य भैरहेका छन् |

महिनाको १५ हजार तलब खाने मान्छेको कत्रो धक्कु हुन्छ यहाँ । अनि १५ लाख तलब खाने मान्छे पुलिसको पिटाइ खाँदै गाउँ गाउँ घुमी हिँड्दा पक्कै पनि बहसको हलचल आउँछ नै |जब पनि कुनै मान्छेले दुख परिश्रम गरेर आफुमा केही आर्जन गर्छ र जनताका लागि उक्त आर्जनलार्इ त्याग गर्छ भने त्यसले एउटा हलचल ल्याउछ नै |

०५२ सालबाट शुरु भएको जनयुद्दमा भित्र प्रचण्ड, बैद्य, बादलहरु थए, तर बाहिरी रुपमा हामीले डा भट्टराइहरुलाई देख्यौं | जेहोस्, त्यसबेलाका युवा हृदयहरूलाई हलचल ल्याउन डा भट्टरार्इहरुको इन्ट्रीले काफी काम गर्यो | त्यस्तै अहिले तरार्इ मधेसको राजनैतिक आन्दोलन तातिनमा डा सिकेहरुको इन्ट्रीले काफी काम गरेको छ |

डा साबहरुको यो इन्ट्रीले राजनीतिमा हलचल ल्याएको थियो र ल्याइरहेको  छ भन्ने कुरामा हामी स्पस्ट छौं |तर , त्यो हलचलको सहि गन्तब्य र स्थायित्वका बारेमा चाहिँ छलफल हुनै पर्छ |

साम्यवादी गणतन्त्र भनेर हिँडेको जनयुद्धको यात्रा संघीय लोकतान्त्रिक गणतन्त्रमा आइपुगेको छ ,यो त हिँउ त हिँउ नै भए पनि मुस्तांगमाथिको हिमाल चढ्छु भनेर हिँडेको यात्रा पूर्वको कन्चनजंघा हिमालमा पुगेको जतिकै हो नि | शुरुमा नै कन्चनजन्घा जाने निश्चित गरेर हिँडेको भए यत्रो धनजनको क्षति हुँदैनथ्यो कि ? सहि टार्गेट मापन गर्न नसक्दा भएको थप क्षतिको जिम्मेवारी कसले लिने ?

साधारणतया जनता के सोच्छन् भने यत्रा यत्रा विद्वान हरुले देश काल परिस्थिति अनुसार सही विश्लेषण गरेर नै आन्दोलन क्रान्तिको लक्ष्य तय गरेका होलान् | अनि जनताको त्यो अपेक्षा विपरीत पछि गएर ए त्यसबेलाको विश्लेषण गलत थिएछ भन्नुपर्ने स्थिति आयो भने त्यो दुखद स्थिति हुनेछ । किनकि त्यसबेलासम्म धेरै क्षति भैसकेको हुनेछ |

CK-rautडा. सिके जी,

हुन त साइन्स पृष्ठभूमिको मान्छेहरु अलि थोरै नै राजनैतिक आन्दोलनको नेतृत्वमा आएका हुन्छन् । जति आएका हुन्छौं हामी अलि मुडी हुन्छौं | हामीले बुझेका हुन्छौं  बिग ब्यांगसंगै ब्रहमाण्डको शुरुवात भयो र ब्रहमाण्डको अन्त्य बिग क्रंचमा हुन्छ । यो पृथ्बी, यो ग्रह, यो तारा एटम, इलेकट्रोंन, किरण र तरङ्गहरुको गोलमाल हो । मान्छेहरु इलेक्ट्रोनका  झुप्पाहरु मात्र हुन् | यी बुझाइहरुले साइन्स पृष्ठभूमिका हामी नेताहरुमा एक प्रकारको रेडिकलनेस, एक प्रकारको बैराग्य र सत्य हामीले बुझिसकेका छौं भने किन झुक्ने भन्ने एक प्रकारको भावना बिकसित हुँदोरहेछ |

तर, समाजको अर्को पाटो पनि छ । पद, पैसा, आफ्नो परिवारका लागि आफ्नै मातृभूमि र आफ्नै अस्तित्वहरुलाई कुल्चन सक्ने अवसरवादीहरु र आफु राम्रो देखिनुका लागि आफ्नो साथीलाई जसरी भए पनि पछार्ने महत्वाकांक्षीहरुको ठूलो जमात छ समाजमा, यो कुरा त डा सिकेजीले आफ्नो फेसबुक स्टाटसमा लेखिसक्नु भएको छ |

सायद त्यसैले होला, महान भौतिकशास्त्री अल्बर्ट आइन्स्टाइनलार्इ इजरायलका रास्ट्रपति हुन् आग्रह गर्दा म विज्ञानको जस्तोसुकै समस्याको उत्तर खोज्न तयार छु, तर मान्छेहरुको महत्वाकांक्षा समाधान गर्न सक्दिँन । किनकि मान्छेको महत्वाकांक्षा समाधान गर्ने सुत्र नै छैन भनेका थिए |

यहाँ भन्न खोजिएको के हो भने समाजको अर्को पक्ष छ– मायाजाल, लोभजाल, षडयन्त्रजाल, खुट्टातानातान गर्ने जाल, आफ्नो करिअरका लागि जे पनि गर्न सक्ने कथित करिअरिस्टहरुको जाल | यी जालहरुले हामीले बुझेका सबै सत्य कुराहरु लागु गर्न दिँदैनन् | त्यसैले अधिकतम बुझ्ने हो र एकाउन्न प्रतिशतबाट क्रमशः लागु गर्न सुरु गर्ने हो |

सिंहदरबारमा बस्ने एकात्मकतावादीहरू र तिनीहरुका अरौटे भरौटेहरुले यो नेपाल देशमा ताण्डव नृत्य मच्चाइरहेको देख्दा जो कसै राष्ट्रवादी नेपालीहरुको मन रुन्छ | ३६ लाख युवाहरु रोजगारीका सिलसिलामा विदेशमा छन्, देशलाई कुनै विपत्ति भयो र देश रक्षाका लागि युवाहरु आउनुपर्यो भने र प्लेनबाट दिनमा एक हजार आउने हो भने पनि विदेशिएका युवाहरु आउन जम्मा दश वर्ष लाग्छ | हाम्रै लागि त कुनै पनि देशले थप प्लेनको व्यवस्था गरिदिँदैन होला | अनि दश वर्षमा यहाँ के भइसक्छ ? यसरी नै दुर्इ लाख नेपाली चेलीहरु बम्बैमा बेचिएका छन्, आसामको कोइला खानीमा माटोले पुरिएर मर्ने नेपाली कामदारहरुको सायद कसैसँग आँकड़ा छैन  ।

विश्वको दोस्रो गरिब देशमा नेपाल दर्ज भएको छ | आदिबासी, मधेशी, दलित, महिलाहरुको पहिचान दिनानुदिन नष्ट पार्दै लागिएको छ | देशको कर्मचारीतन्त्र, अर्थतन्त्र, मिडिया, शिक्षा, राजनीतिमा सत्तासीन जाति वर्गको एकछत्र हालीमुहाली छ | सिंहदरबारबाट ७५ जिल्लामा खटिएर जाने सिडिओहरुले छोटेराजाका रुपमा प्रत्येक जिल्लामा औपनिवेशिक शासन चलाउँछन् | सुरक्षा निकायहरुका टेबलहरु देशको रक्षा कसरी गर्ने भन्ने होइन, यहाँ उठ्न खोजेको पहिचानसहितको संघीयवादीहरुलाई कसरी दबाउने भन्ने क्रुर योजनाका फाइलहरुले भरिएका हुन्छन् | यस्तो अवस्थामा देशमा निराशता, आक्रोश र बिद्रोह नजन्मेर के जन्मन्छ त ?

आन्दोलन क्रान्तिबाट उठेका नेताहरु पनि त्यही एकात्मक सिंहदरबारको दलदलमा फसेका छन् । यसले जनतामा झन् निराशता र आक्रोश थपेको छ |

लिम्बुवान र तरार्इ मधेश उपर पञ्चायतकालको शुरुको दिनदेखि नै एकात्मक राज्यले गिद्दे दृष्टि राखेको थियो | ऐतिहासिक पृष्ठभूमि, आ-आफ्नै भाषिक तथा सभ्यताहरुको दह्रो पकड र सीमाना क्षेत्र भएको भू-राजनैतिक कारणले पनि लिम्बुवान र तरार्इ मधेसमाथि राज्यले कड्के नजर राखेको थियो | यी दुवै ठाउँमा ००७ सालको जनक्रान्तिपछस आ-आफ्नो स्वायत्तताका लागि आवाजहरु पनि जोडदारले उठिरहेको थियो | तिनै स्वायत्तताको आवाजलाई निस्तेज गर्न पञ्चायत कालदेखि नै नेपालकै सबैभन्दा बढी सेना प्रहरी लिम्बुवानमा थुपारियो र तरार्इ मधेशलार्इ आधुनिक विकासदेखि टाढा राखियो | तर, पनि यी दुवै ठाउँमा आफ्नो पहिचान र स्वायत्तताको आवाज उठ्न छोडेन | वास्तवमा  लिम्बुवान र तरार्इ मधेसको आन्दोलनका कारणले गर्दा नै अन्तरिम संविधानमा संघीय नेपाल लेखियो |

यी एकात्मकवादीहरुले पहिचान, अधिकार, संघीयता केहि दिँदैनन्  ।यिनीहरुसँग झगडा गरी बस्दा युग बित्छ, त्यसैले भिन्नै खालको आन्दोलन अघि बढाउँ भनेर लिम्बुवान र तरार्इ मधेसमा स्वतन्त्रताको केही आवाजहरु नउठेको होइन |

लिम्बुवानमा चन्द्रप्रसाद योङया लिम्बु, जो हाल भारतमा निर्वासित छन् र तरार्इ मधेसमा डा सिके राउत जो आफ्नै घरमा नजरबन्द जस्तै रुपमा छन्, उनीहरु यी दुर्इ ठाउँमा उठेका कडा आवाजहरुको प्रतिनिधि हुन् |

परिस्थिति आक्रोशित नै छ, यसमा दुइमत छैन |त्यसमा पनि डा सिकेहरुको इन्ट्रीले हलचल ल्याएकै छ | तर, त्यो आक्रोश त्यो हलचललाई कुन गन्तब्यसम्म लाने भन्ने विवेक हामी अगुवाहरूमा हुनु पर्दछ |

प्राकृतिकरुपमा नै मान्छेहरु स्वतन्त्रताप्रेमी थिए । तर, उनीहरुको त्यो स्वतन्त्रता उपर प्राकृतिक, जैविक र मानवीय शक्तिले धावा बोल्दथ्यो । त्यसैले मान्छेहरुले समुदाय बनाएर बस्न थाले | अलिक टाढाको समुदायले आफ्नो समुदायलार्इ आक्रमण गर्दथ्यो र आफ्नो समुदायको रक्षाको लागि अलिक नजिकको समुदायसंग एउटा सम्झौता गरेर गठबन्धन निर्माण गरी बस्नु पर्दथ्यो । यसरी मान्छे मान्छेमा, समुदाय समुदायमा र राज्य राज्यमा सह–अस्तित्व कायम गरेर समाज अघि बढ्यो | सह–अस्तित्ववादको राजनैतिक व्यवस्थापन नै पहिचानमा आधारित पूर्ण संघीय शाशन ब्यबस्था हो |संघीय शाशन भनेको सेल्फ र शेयर्ड रुल  (self and shared rule ) हो । आफ्नो स्वायत्त राज्य आफै चलाउने र सबै मिलेर  देश पनि चलाउने हो | जस्तो पृथ्बी आफै पनि घुम्छ र नौ वटा ग्रहहरुसहित सूर्यलाई पनि घुमिरहेका हुन्छन् | वास्तमा गहिरिएर हेर्ने हो भने जगत नै संघीय रहेछ |

एकात्मक राज्यको दमन र त्यस बिरुद्धको मुक्ति आन्दोलन पछिको गन्तब्य पूर्ण संघात्मक शासन व्यवस्था हुन सक्यो भने सबैका लागि मध्यम मार्ग हुन सक्दछ | संयुक्त रास्ट्र संघमा विश्वका प्राय सबै देशहरु सदस्य हुन्छन्, सबैको संघीय सरकारको रुपमा युएनओले काम गरिरहेको छ | वास्तकमा विश्व नै संघीय सह –अस्तित्ववादी विचारले चलिरहेको छ |

डा सिकेजीको पीडाबोधलाइ साल्युट छ । वास्तवमा नै लिम्बुवान, मधेस पीडामा डुबेका छन्, यो पीडालाई थोरै हृदयहरुले मात्र भित्रैबाट बोध गर्न सक्छ | तर, मुक्ति आन्दोलनको राजनैतिक गन्तब्यका बारेमा अलिक विवेकपूर्ण तरिकाले छलफल गरौं भन्ने मात्र हो | त्यसो त हामी साइन्स पृष्ठभूमिका नेताहरू अलि मुडी हुन्छौं र अहिलेको समाज धेरै मायाजालहरुले बेरिएको हुन्छ, त्यसैले अलिक सोचेर परिस्थितिपरक निर्णयहरु गर्न सक्यौं भने बिबेकपूर्ण हुन्छ भनेर हामीले माथि उल्लेख गरिसकेका छौं |

 दुइवटा झन्डा, दुर्इवटा संविधान, दुर्इवटा नागरिकता (संघ/केन्द्र र राज्यको आ आफ्नै) सहितको पुनः संघात्मक नेपालका लागि डा सिकेजीहरु पनि तयार हुने हो भने उहाँहरु र लिम्बुवान सबैभन्दा भरपर्दो संघीयमित्र हुने छौं | डा साब, यो कुरा समकक्षी साथीहरुको अनुरोध र सुझाब मात्र हो, अन्तिम निर्णय यहाँहरुकै हुन्छ । एउटा असल मित्र, त्यसमा पनि मित्रताका लागि संसार कहलाएका लिम्बुवानहरु कहिले रिजर्बेशन राखेर बोल्दैनन् । जस्तो आत्माले देख्यो, त्यो बोल्ने हो |

यदि प्रस्तुत बिषयहरुमा केही लचकताका साथ छलफल गर्न सकिने हो भने हामी तुरुन्त तपार्इहरुलाई भेट्छौं | डा साब, आज देशले बिकल्प खोजेको छ, देशको माटोको अखण्डता कायम राख्दै सिंहदरबारियाहरुको एकात्मक शासन/राज्यलार्इ ध्वस्त गरी नयाँ संघीय नेपालको जग उठाउन सक्ने अभियन्ताहरु खोजेको छ |

अलिकता लचकता अपनाउने हो भने हामी लिम्बुवान र तपाईहरु संघीय अभियानका भरपर्दो साथीहरु बन्न सक्नेछौं | प्रतिउत्तरको प्रतीक्षासहित अहिलेलाई कलम बन्द |

(लेखक संघीय लिम्वुवान नेपालका अध्यक्ष हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment