Comments Add Comment

नेपालमा ‘हिंसारहित शिक्षा’ प्रवर्द्धन गर्दै अष्ट्रेलियन क्रिकेटर

Ryan Carter (5)

राजकुमार श्रेष्ठ

१ बैशाख, काठमाडौं । सोमबार बिहानै सिमसिम पानी परिरहेको थियो । अष्ट्रेलियन क्रिकेटर रायन कार्टरलाई पानीको कुनै परवाह थिएन ।

उनमा एकखालको हतारो र उत्सुकता थियो । सिमसिम पानीका वीच उनी झण्डै १० बजेतिर बाफलस्थित हार्टल्याण्ड एकेडेमीमा पुगे ।

रायनका साथमा थिए प्याट्रिक प्राइज । उनी सीएलसीआरका संस्थापक हुन् । प्राइसले हार्टल्याण्डका प्रिन्सिपल किरणसिंह गोयल र एकेडेमिक कोअर्डिनेटर भीम साउदले संयुक्त रुपमा कार्टरलाई स्कुलमा घुमाए ।

रायन कार्टर र नेपालको नाता

झण्डै दुई वर्षअघि जब प्याट्रिक प्राइसले अष्ट्रेलियन क्रिकेटर रायन कार्टरलाई भेटे, त्यहीँदेखि नेपालसँग उनको नाता जोडियो ।

हामीले जम्मा गरेको पैसाबाट यहाँ जे भएको छ, त्यो निकै ठूलो कुरा हो । मानिसहरुको जीवनमा जे परिवर्तन ल्याएको छ, त्यो मेरा लागि निकै हृदयस्पर्शी छ

अष्ट्रेलियाको घरेलु क्रिकेट बिग ब्यास लिग खेलिरहेका कार्टरले ब्याटिङ फर चेन्ज अभियान चलाएका छन्, जसले क्रिकेटमा विकास गरिरहेको देशको शिक्षामा सघाउँछ ।

प्याट्रिकले स्थापनना गरेको सीएलसीआर फाउण्डेनले भने अष्ट्रेलियामा रकम संकलन गरेर नेपालमा हार्टल्याण्ड एकेडमी सञ्चालन गरिरहेको छ । कार्टर भन्छन्-प्याट्रिक प्राइसलाई सिड्नीमा भेटेँ । उनले हार्टल्याण्ड स्कुलबारे बताए, फोटोहरु देखाए । त्यसपछि मैले नेपाललाई छनोट गरेँ ।’

खासमा हिंसा तथा यतना नदिई शिक्षा दिने पद्दति र पछाडि परेका समुदायका बालबालिकालाई शिक्षा दिने कुराले कार्टरलाई निकै प्रभावित गर्‍यो ।

हृदयस्पर्शी परिवर्तन

Ryan Carter (1)
कार्टरलार्इ स्कुलमा भएको कामबारे जानकारी गराउँदै किरण सिंह गोयल

हरेक कोठामा प्रवेश गर्दा कार्टर के छ भन्ने भावमा निकै उत्सुक हुन्थे । उनले म्युनिक, स्पोट्स एण्ड आर्ट हुँदै हरेक कक्षा कोठाको भ्रमण गरे । प्याट्रिक उनलाई एक एक ब्रिफिङ गरिरहेका थिए । कार्टर बेलाबेला ग्रेट भन्दै मुस्कुराउँथे ।

जब कार्टर कक्षा कोठामा प्रवेश गरे, सबै विद्यार्थीले उभिएर एकै स्वरमा ‘गुड मर्निङ सर । वि आर फाइन, हाउ आर यू ?’ भन्दा उनी मुस्कुराए । नमस्कार गरे ।

उनले विद्यार्थीहरुले बनाएको कृषि फर्मको अनुगमन गरे । जहाँ हरेक कक्षाका विद्यार्थीहरुले लगाएका केही लसुन, काउली, मकै र काउलीका बिरुवा थिए ।

त्यसपछि ल्याब रुम भ्रमण सुरु भयो । प्याट्रिकले उनलाई यो तपाईको हो भन्दै देखाए । कार्टरको अगुवाइमा सुरु भएको ब्याटिङ फर चेन्ज अभियानबाट संकलन भएको रकमले भवनमा तला थपिएको रहेछ ।

अब त्यहाँ आगामी शैक्षिक सत्रबाट प्लस टु सुरु गर्ने तयारी स्कुलको छ । साइन्स र म्यानेजमेन्टको कक्षा सञ्चालनका लागि तयार पारिएका ल्याबहरु भ्रमण गर्दा कार्टर कहिले भावुक हुन्थे र कहिले खुलेर हाँस्थे ।

उनलार्इ नेपालमा हालै मात्र एसएलसी परीक्षा सकिएको थाहा रहेछ । उनले प्लस टुमा कस्ता विद्यार्थीहरु राख्ने योजना छ भनेर सोधे । प्याट्रिकले सरकारी स्कुलहरूबाट अाएका विपन्न, दलित र महिलालार्इ प्राथिमकता दिन बताए ।

स्कुलमा भएको काम देखेपछि क्रिकेटर कार्टर दंग परे । अनलाइनखबरसँग कुरा गर्दै उनले भने- ‘म र ब्याटिङ फर चेन्ज अभियानमा सहयोग गर्नेहरुका लागि यो अर्थपूर्ण छ कि हामीले जम्मा गरेको पैसा कहाँ गइरहेको छ ।’

हेरेपछि कस्तो लाग्यो भन्ने प्रश्नमा उनले भने- ‘हामीले जम्मा गरेको पैसाबाट यहाँ (हार्टल्याण्ड) मा जे भएको छ, त्यो निकै ठूलो कुरा हो । मानिसहरुको जीवनमा जे परिवर्तन ल्याएको छ, त्यो मेरा लागि निकै हृदयस्पर्शी छ ।’

इलियट र चार्लीको साथ

क्रिकेटर कार्टरले लगेजमा केही ब्याट र केही दर्जन बल पनि लिएर गएका थिए । ब्रेकको समयमा उनले विद्यार्थीहरुलाई जम्मा गरे । जतिबेला अर्का क्रिकेटर म्याथु इलिडट र हङकङका प्रशिक्षक चार्ली  पनि त्यहाँ पुगिसकेका थिए ।

Ryan Carter (11)
म्याथु इलियट, कार्टर र चार्ली

कार्टरले आफूसँगै इटियट र चार्लीलाई विद्यार्थीहरुसँग परिचय गराए । त्यसपछि उनी विद्यार्थीहरुलाई बल दिएर ब्याटिङ गर्न नेटमा गए । विद्यार्थीहरु बलिङका लागि निकै हतारिएका थिए ।

कार्टर अब अर्को बर्ष नेपाल आउँदा अन्य साथीहरुलाई पनि हार्टल्याण्डमा ल्याउने सोचेका छन् । उनले भने- ‘क्रिकेट अष्ट्रेलियाले अब हरेक वर्ष हृयूजको सम्झनामा नेपालमा क्रिकेट खेल्ने बताएको छ । म चाहन्छु कि अष्ट्रेलियाका हरेक क्रिकेटरले हार्टल्याण्ड स्कुलको भ्रमण गरुन् ।’

सिड्नीमा रहेको कार्टरको ब्याटिङ फर चेन्ज फाउण्डेसनले देशभरबाट रकम संकलन गर्छ र क्रिकेटमा विकास गरिरहेका सात देशमा शिक्षामा सहयोग गर्दै आएको छ । कार्टर भन्छन्-‘हामीले १३-१४ मा हार्टल्याण्डलाई छनोट गरेका थियौं । तर, अब म यसलाई निरन्तरता दिन चाहन्छौं ।’

विदा मनाउन आएका प्याट्रिकको उदाहरणीय काम

प्याट्रिक प्राइस भने विदा मनाउने र टिचर ट्रेनिङका लागि सन् २००५ मा पहिलो पटक नेपाल आएका रहेछन् । त्यसक्रममा उनले नेपालका स्कुलहरुको शिक्षालाई नियाले ।

शिक्षामा पैसा हुने र नहुनेबीचको बढ्दो असमानता र हिंसाले उनलाई चिमोट्यो । त्यसपछि उनले नेपालमा केही गर्ने सोच बनाए । प्राइसले भने-‘विदा मनाउन आएको तर, त्यसपछि मैले कहिल्यै विदा मनाएको छैन ।’

त्यही क्रममा किरण सिंह गोयलको टीमसँग उनको भेट भयो र सुरु भयो हार्टल्याण्ड प्रोजेक्ट ।

अष्ट्रेलियाको रकम नेपालको शिक्षामा लगानी

अहिले प्राइस सीईओ एवं संस्थापक रहेको सीएलसीआरले अष्ट्रेलियामा रकम जम्मा गरेर नेपालको शिक्षामा लगानी गरिरहेको छ । यसमा कार्टरको ब्याटिङ फर चेन्जले साथ दिएको छ ।

सन् २००८ मा सुरु भएको स्कुलमा अहिले कक्षा १ देखि १० सम्म झण्डै चार सय विद्यार्थी अध्ययन छन् । स्कुलको आर्थिक श्रोत अष्ट्रेलियन संस्था सीएलसीआरले जुटाउँछ र उसैले अनुगमन गर्छ ।

Ryan Carter (10)
किरण सिंह गोयल

‘हाम्रो उद्देश्य कमाउने भन्दा पनि गुणस्तरीय शिक्षा दिनु हो’ प्रिन्सिपल गोयलले भने । भर्नाको समयमा एक हजार रजिस्टेशन शुल्क तोकिएको छ भने मासिक शुल्क कक्षा १ मा एक हजार र १० मा १६ सय छ ।

अष्ट्रेलियन र नेपाली विज्ञहरुको सुझावमा केही नयाँ प्रयोग गरिएको छ र यो निकै सफल पनि देखिएको छ ।

एकेडेमिक को-अर्डिनेटर साउदका अनुसार कक्षा १ देखि ६ सम्मका विद्यार्थीहरु कक्षा कोठामा किताब लैजाँदैनन् । कक्षामा नै विभिन्न पुस्तकहरुको ब्यवस्था गरिएको छ । अन्य स्कुलमा जस्तै कोर्षको मात्र पढाइ हुँदैन ।

७ देखि १० सम्म पनि कोर्षलाई भन्दा आफ्नै पाठ्यक्रमलाई जोड दिइएको छ । स्कुलको आफ्नै लाइब्रेरी छ, जहाँ चाहे अनुसारका किताब पाइन्छन् ।

स्कुल आफैंले अष्ट्रेलियन र नेपाली विज्ञहरुको सहयोगमा पाठ्यक्रम बनाएका छन् । ‘हामी व्यवहारिक ज्ञानमा बढी जोड दिइरहेका छौं’ उनले भने-‘एक दिनमा पाँचवटा मात्र कक्षा हुन्छन् ।’

‘हिंसारहित शिक्षा’ नारा दिइएको छ र विद्यार्थीहरुलाई गाली तथा यातना दिन प्रतिवन्ध लगाइएको छ । बरु केही समस्या भए परामर्श दिन परामर्शदाताको व्यवस्था गरिएको छ ।

हरेक बिहीबार ‘डेमोक्रेटिक थर्स डे’ हुन्छ । त्यो दिन नियमित कक्षा हुँदैन । उक्त दिन विद्यार्थीहरुले आफूले चाहेको क्रियाकलाप गर्न पाउँछन्, जसका आधारमा उनीहरुको मूल्याकंन समेत गरिन्छ ।

Ryan Carter (9)
हार्टल्याण्डका विद्यार्थीहरूले गरेको खेती

कृषिबारे चासो भएकाहरुले काउली, लसुन, मकै लगायतका विरुवा लगाएका छन् । त्ससको गोडमेल गर्ने जिम्मा सम्वन्धित विद्यार्थीकै हुन्छ । ‘उनीहरुले लगाएको विरुवा सप्रियो भने राम्रो अंक पाउँछन् । राम्रो भएन भने त्यहीअनुसार मूल्यांकन हुन्छ’ साउदले भने ।

सुरुमा केही गाह्रो भए पनि अहिले विद्यार्थीहरु पनि यो नयाँ प्रणालीमा रमाएका छन् । बरु अझै पनि अभिभावकहरुलाई सम्झाउन हम्मेहम्मे हुन्छ । साउद भन्छन्- ‘हाम्रा सफलता असफलताको मूल्यांकन भनेको विद्यार्थीहरुको प्रदर्शनमा भर पर्ने हो । यो अहिलेसम्म राम्रो छ ।’

गत वर्ष एसएलसीमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्, त्यो पनि विशिष्ट र प्रथम श्रेणीमा । एसएलसीपछि कलेज अध्ययनका क्रममा पनि हार्टल्याण्डका विद्यार्थीहरुले राम्रो प्रभाव छाडेको गोयलको दाबी छ ।

पढाइका अतिरिक्त लिडरसिप, प्रोजेक्टहरुमा आफ्ना विद्यार्थीहरु अब्बल पाइएको उनले सुनाए । ‘यो हाम्रो नयाँ प्रयोग थियो । यसले सामाजिक रुपान्तरण र सबैका लागि शिक्षा भन्ने अभियानलाई टेवा पुर्‍याएको छ’ हार्टल्याण्डका प्रिन्सिपल गोयलले भने-‘मलाई के विश्वास छ भने अबको ५/१० वर्षमा अरु स्कुलहरु पनि यो प्रणालीमा आउनुको विकल्प छैन ।’

स्कुलले पाएको सफलताले प्राइससँगै क्रिकेटर कार्टर पनि निकै खुसी देखिए ।

भिडियो हेर्नुस् 

Ryan Carter (3)

Ryan Carter (13)

Ryan Carter (14)

 तस्वीरः श्रीधर पौडेल/अनलाइनखबर 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment