Comments Add Comment

‘हो, म कुमारी आमा बन्न चाहन्थें, तर सकिँन’ (भिडियोसहित)

pujana pradhan

 पूजना प्रधान, नायिका

यो १२/१४ वर्षको फिल्मी करिअरमा धेरै उतार चढाव आए हगि ?

सबैको जीवनमा आउँछ, मेरो मात्र होइन । मान्छे हो मान्छेको लाइफमा सँधै उतार चढाव आइरहन्छ । म मात्र त होइन होला । (हाँसो)

एउटा सेलीब्रेटी त धेरैको आइकन हुन्छ । त्यस्ता मानिसको जीवनमा आउने उतार चढावले धेरैलाई प्रभाव पार्छ । तपाईले कस्ता उतार चढाव भोग्नु भो  ?

मैले सामान्य रुपमा हेर्ने गरेको छु । हो म सेलिब्रेटी हुँ । सेलिब्रटीको लाइफमा पनि उचारचढाव आउँछ तर, देखाउनु ठूलो कुरा हो । मलाई केही लुकाउन आँदैन, त्यसैले म देखाइदिन्छु ।

म एउटा खुला किताब हुँ । सबैले पढुन् भन्ने चाहन्छु । त्यसैले म सामाजिक सञ्जालहरुमा पनि आफ्ना भावनाहरु शेयर गरिरहेकी हुन्छु ।

तपाईको बोल्ड फोटो शुट र सिन दिनुुभयो । धेरै खालका प्रतिक्रिया पनि आए । तपाईलाई याद छ पहिलो बोल्ड फोटो शुटको ?

मैले साइबर संसारका लागि बिकीनीमा फोटो सुट गराएकी थिएँ । धेरैले प्रसंसा गर्नुभयो । वाह नेपाली नायिका पनि यति हिम्मतवाली हुँदो रहेछ भनेर धेरैले तारिफ गरे । सानो दिमाग भएका मान्छेले छ्या यस्तो पनि फोटो सुट गर्ने भने । मान्छेहरुको आफ्नो आफ्नो हेर्ने दृष्टिकोण हो । आफ्नो वुझाई हो ।

त्यो फोटो आउँदा विदेशमा अध्ययनरत विद्यार्थीहरुले कलेजमा लगेर टाँसेर हेर हाम्रो नेपालको मोडलहरु यस्ता छन् भने रे । नेपालका मान्छेहरुले नेपाली हिरोइन भएर यस्तो फोटोसुट गर्ने पनि भने होलान् । मलाई त्यो फोटो सुट गरेकोमा दुःख छैन । समयको माग थियो । म आफूलाई बोल्ड, सेक्सी एक्ट्रेसको रुपमा चिनाउन चाहन्थें, त्यही भएर फोटो सुट गरेँ । मैले गरेपछि धेरैले गरे । त्यसलाई तपाईहरु बिग्रिएको भन्नु होला । म भन्दिनँ । मैले गरेर उनीहरुलाई आँट आयो । मैले लगाएँ, मलाई सुट गर्‍यो, सबैलाई नगर्न सक्छ ।

त्यो फोटो सुटपछि परिवार, साथीभाई वा अरु कसैले दिएको राम्रो वा नराम्रो प्रतिक्रिया ?

परिवारका सदस्य र साथीभाईले त कहिल्यै पनि त्यस्तो गाली गर्दैनन् । जो मेरो प्रतिद्वन्द्वी थियो होला, मेरो भलो नचिताउनेहरु होला, उनीहरुले नराम्रो कमेन्ट गर्‍यो होला । त्यो प्रति कुनै गुनासो छैन ।

म आफूलाई बोल्ड, सेक्सी एक्ट्रेसको रुपमा चिनाउन चाहन्थें, त्यही भएर विकिनी फोटो सुट गरेँ ।

त्यसपछि पनि केही सिनेमामा बोल्ड सिन दिनु भयो ?

त्यसपछि फोटोशुट त गरेकी छैन । तीर्खा र रक्षा भन्ने फिल्ममा बेडसिन गरेकी छु । धेरै नायिकाहरुले त्यस्ता सिनलाई कथाले मागेको भन्ने गरेका छन् ।

त्यो सिन त्यत्तिकै काफी थियो वा चाहिने भन्दा बढी थियो ?

कथाले मागेको भन्दा पनि कथामा राखिएको थियो । तर, रक्षाको प्रिजेन्टेशन नराम्रो भयो कि जस्तो लाग्छ । फिल्ममा त त्यो दृष्य छैन ।  तर, अनलाइनखबरमा जसरी आयो, तपाईलाई धेरै धन्यवाद (हाँसो) त्यसले मलाई धेरै हिट बनाईदिनु भयो । त्यो चाँही अलि धेरै नै भएको हो कि ?

जे थियो त्यही खिचिएको त हो नि ?

तपाईहरुको क्यामेराको फोकश के मा गर्नु भएको थियो भन्ने महत्वपूर्ण हुन्छ । तपाईहरुको क्यामेरा चाँही राख्न नहुने ठाँउमा थियो कि भन्ने हो । त्यसले नेगेटिभ चर्चा पायो । त्यो दृष्यले मलाई भन्दा मेरो फ्यानलाई दुःखी बनायो । मैले त्यो फिल्म छनोटमा गल्ती स्वीकार गरेर माफी मागिसकेकी छु । भोलिको दिनमा त्यस्तो फिल्म देख्नु नपर्ला भन्ने आशा छ ।

अब पूजना प्रधान विगतमा जस्तो बोल्ड सिनमा नआउने हो ?

त्यस्तो पनि हैन । म आफूलाई सेक्सी एण्ड बोल्ड नै भन्न चाहन्छु । म आफूलाई हट, सेक्सी र ब्युटिफुल नै सम्झन्छु, त्यस्तै फिल्म खेल्न चाहन्छु । रक्षाको प्रस्तुती राम्रो थिएन । भोलीको दिनमा टाईटानिक जस्तो चलचित्र बन्ला रे, त्यहाँ नेकेड हुनु पर्ला रे, बेड सिन दिनुपर्ला रे । तर, त्यसलाई कलात्मक तरीकाले खिच्न पर्‍यो, भल्गर होइन । नेपालमा मात्र होइन, बलिउड, हलिउडमा पनि बेड सिन धेरैले गरेका छन् । उनीहरुको राम्रो प्रस्तुती छ । त्यसैले नेपालमा पनि राम्रो स्टोरी छ । बेडसिन बिना कथाको मर्म मर्छ भने त्यस्ता सिनमा अभिनय गर्छु । होइन मनोरन्जनका लागि हो भने गर्दिँन ।

आम पाठक, दर्शकले भन्ने सेक्सी र तपाईले भन्ने सेक्सीविच केही फरक बुझाई हो ?

अफकोर्स । म अहिले बोलिरहेको छु, यो मेरो ग्लामर हो । मेरो कुनै पनि कुरा आफ्नो भ्वाइस बढी ल्याङ्गवेल सेक्सी हो नि । मान्छेले छोटो लुगा लगाउँदैमा सेक्सी देखिने होइन । मान्छे आफैंमा हट, ग्लामर र सेक्सी भएको जे लगाए पनि सुहाउँछ त । मेरो र केही मान्छेको बुझाइमा अहिले पनि फरक छ ।

तपाईले त बल्ल लक्का जवान हुँदैछु भन्नुभयो । आफ्नो कमजोरी थाह भएर पनि सच्चाउन नसकेको केही छ ?

म अलिकति इमोसनल छु । सानो सानो कुराले पनि हर्ट गर्छ । म त्यसलाई कन्ट्रोल गर्न चाहन्छु । तर, भइरहेको छैन । म आफु मात्रै हैन, अरुको दुःख देखेर इमोसनल हुन्छु, रुन्छु । यो हुनु राम्रो पनि हो तर, कहिले काँही नराम्रो पनि हुँदो रहेछ ।

सबै भन्दा बढी पश्चाताप लागेको क्षण ?

त्यस्तो छैन । एकदमै पश्चाताप लाग्ने त्यस्तो कुनै काम गरेकी छैन । हा…हा… हा….रक्षा फिल्म बाहेक ।

छोरी ११ महिनाको मात्र थिई । त्यसबेलादेखि आफू नसुती नसुती, आफूसँगै राखेर ममीले आफ्नो बच्चालाई स्याहार गर्न के-के गर्छ सबै गरेँ ।  संसारमा सबैभन्दा माया लाग्ने मेरो छोरी हो ।

सब भन्दा खुसी भएको क्षण ?

म सानो-सानो कुराले खुसी हुन्छु । सबभन्दा धेरै खुसी मैले मेरो छोरी तेजस्वी एडप्ट गर्दा भएकी थिएँ । किनकी म सानो उमेरमा नै ममी भएको थिएँ । अनि उसलाई एडप्ट गरेपछि खुसी भएँ ।

छोरा छोरी दुई जना एडप्ट गर्नु भएको छ । किन ?

म ७ वर्षदेखि जयसंगत आश्रममा थिएँ । त्यहाँ कसरी दुःखीलाई माया गर्ने भनेर सिकाइन्थ्यो । त्यसपछि मलाई फिलिङ्स आयो । मैले म बच्चा एडप्ट गर्छु भन्ने भयो र छोरा एडप्ट गरेँ ।

त्यतिवेला कति वर्षको हुनुहुन्थ्यो तपाई ?

अहिले मेरो छोरी नै पाँच वर्षकी भइन भनेपछि २०/२१ वर्षकी थिएँ । मैले १० वर्षको छोरा लिएँ । बुटवलवाट पवन भन्ने । छोरा अलि ठूलो थियो । १० वर्षसम्म आफ्नो परिवारसँग बसेको भएर मसँग अट्याच हुन अलि टाइम लाग्यो । उसलाई आफ्नो ममी ड्याडी को हो भन्ने थाहा भइसकेको थियो ।

तर, छोरी ११ महिनाको मात्र थिई । त्यसबेलादेखि आफू नसुती नसुती, आफूसँगै राखेर ममीले आफ्नो बच्चालाई स्याहार गर्न के-के गर्छ सबै गरेँ । त्यो भएर उ मसँग धेरै अट्याच छ । अहिले पनि मलाई एकदमै माया गर्छ र म पनि उ भनेपछि हुरुक्कै हुन्छु । संसारमा सबैभन्दा माया लाग्ने मेरो छोरी हो ।

जतिवेला तपाई २०/२१ वर्षको हुनहुन्थ्यो । धेरैले त्यो बेला आफ्नो करियर, विवाह, हुनेवाला पतिका बारेमा सपना देख्ने बेला हो । तर, तपाई आमाको भूमिका निभाउनु भयो । किन ?

-बिहे गर्नुपर्छ भन्ने म मेरो फिलिङ त नै आउँदै आएन । एक त करिअर उन्मुख थिएँ । मानिसहरुले विवाह गर्छन् । के का लागि भन्दा घरजम गर्न, बच्चा पाउन । बिहे नगरी बच्चा जन्माउँदा के हुन्छ भन्ने सोच आएको थियो (फेरि लामो हाँसो) । तर, समाजमा नपच्ला कि भनेर एडप्ट गरेकी हुँ ।

कुमारी आमा बन्ने सोच थियो ?

त्यही त । त्यस्तो गर्दा के हुन्छ र ? बच्चा पाउनकै लागि किन बिहे गर्ने । बिबाह नगरी बच्चा जन्माउदा चाँही के हुन्छ भन्दा विवाह नगरे पनि प्रक्रियामा त जानुपर्‍यो । हा हा हा….. त्यसले नकारात्मक सन्देश जाला भनेर छोरा-छोरी एडप्ट गरेको हो ।

बिहेप्रतिको वितृष्णा हो ?

त्यस्तो हैन । म पहिला अफेयरमा थिएँ, ब्रेकअप भयो । त्योबाट थाहा भयो कि लभ लाइफ कस्तो हुन्छ । बिहे भन्ने कुरा साथीभाइले गरेका छन् र फिल्म उद्योगमा पनि धेरै जनाले विवाह गर्नु भएको छ, टुटेको छ । त्यो हरेर पनि विवाह गरेर पनि आखिर के हुँदो रहेछ र ? ५/१० वर्ष लभ गरेर पनि छुटिँदा रहेछन् भन्ने लाग्यो ।

मेरा साथीभाइको पनि धेरै देखेकी छु । बिहे गरेका छन्, छुटि्टएका छन्, झगडा गरेका छन् । त्यो सबै झन्झट किन बेहोर्ने भन्ने लाग्यो ।

यो सोचाई आउनुमा तपाईको जीवनमा आएको ट्रेजेडीले भुमिका खेलेको हो ?

ट्रेजेडी एउटा ठाउँमा छ । यो धेरैको जीवनमा आउँछ । सबैको पहिलो प्रेम नै सफल हुन्छ भन्ने छैन । जसले बिबाह गरेर जीवन बिताँउछन्, मैले उनीहरुको जीवन अध्ययन गरें । उनीहरु कतिको खुसी छन् त ? विवाह गरेका छन्, तर बाहिर किन खुसी खोज्छन् त भन्ने चिजहरु हरेर, सोचेर, सम्झिएर विवाह अहिले नै गरिहाल्ने होइन भन्ने ठानेँ । परिपक्व भएपछि, मैले मेरो दिमागमा राखेको जस्तो मान्छे आएपछि बल्ल विवाह गर्ने रहेछ भन्ने लागेरै नगरेको हो ।

भनेपछि कुनै दिन बिबाह बन्धनमा चाहिँ बाँधिने योजना छ ?

बिहे त गर्छु । तर, म अहिले नै मानसिक रुपमा तयार छैन । बिहे गर्ने भनेको एकअर्कासँग जीवन विताउन हो । विश्वास छैन, माया छैन, त्यस्तो भएर भएन । मैले भनेँ नि म इमोसनल छु । मलाई फिल्मी लभ चाहिन्छ । हिरोले हिरोइनले ट्रु लभ गरेको हुन्छ नि त्यस्तै बुढो चाहिन्छ मलाई ।

तपाईले कल्पना गरेजस्तो फिल्मी हिरो छानिसक्नु भयो कि बाँकी छ ?

छान्ने क्रममा छु । छान्दैछु । फिल्मी हिरो देखिसकेको छैन । आफ्नो प्रेमिकाका लागि क्रेजी लभर खोज्दैछु ।

बिहे त गर्छु । तर, म अहिले नै मानसिक रुपमा तयार छैन । मलाई फिल्मी लभ चाहिन्छ । हिरोले हिरोइनले ट्रु लभ गरेको हुन्छ नि त्यस्तै बुढो चाहिन्छ मलाई ।

भेटिन्छ भन्नेमा विश्वस्त हुनुहुन्छ ?

अफकोर्स भेटिन्छ । संसारमा ९५ प्रतिशत नराम्रो भएपनि ५ प्रतिशत राम्रा मान्छे छन् । म त्यो ५ प्रतिशतबाट छान्नेवाला छु ।

त्यो फिल्मी हिरो मान्छे फिल्म उद्योगमै होला कि बाहिर ?

फिल्म उद्योगमा त नहोला । आउट अफ फिल्म इन्डष्ट्री कै होला । फिल्म इन्डष्ट्रीलाई मैले बुझेको छु । एउटै फिल्ड भए पनि मान्छेहरुमा शंका बढी गर्ने प्रवृत्ति बढी हुन्छ । कस्तो हुन्छ भने नि गायकले गीत गाएको सुनेर फ्यानहरुले वाह् वाह् गरेको देखेर विवाह गर्छ । तर, विवाहपछि त्यही वाह् वाह् मन पर्दैन । बन्देज लगाउँछ भने लाइफ त बर्बाद भयो ।

Pujana Pradhan (1)भनेपछि तपाई फिल्मी करिअरमा बन्देज नलागोस् भन्ने चाहनुहुन्छ ?

हो । मलाई बुझ्ने मान्छे चाहिन्छ । केटी मान्छेले जहिले पनि सेक्युरीटी खोजी रहेको हुन्छ । पैसाको मात्रै हैन, हरेक कुराको सेक्युरीटी खोजीरहेको हुन्छ । जसले उसको ब्याक सपोर्ट गरोस् । करिअरमा अगाडी धकेलोस् । मेरो पनि चाहना त्यही छ । म हिरोइन भएपनि मन त एउटा समान्य केटीको जस्तो छ । बाटोमा गएर पानीपुरी खान मन लाग्छ । रमाइलो गर्न मन लाग्छ, राती राती हिंडन मन लाग्छ तर, पाइँदैन ।

फस्टलभले अहिले पनि झस्काउँछ होला नि बेलाबेला ?

सम्झना आउँछ । तपाईले अघि प्रश्न गर्नु भएको थियो पश्चाताप लाग्ने क्षण भनेर । मैले त्यो मान्छेसँग किन लभ गरेछु भनेर अहिलेसम्म पश्चाताप लाग्छ ।

त्यतिवेला के सपना देख्नु भएको थियो ?

कलिलो उमेर थियो । म १८ वर्षकी थिएँ । सबै साथीहरुको ब्वाईफ्रेण्ड थियो । उनीहरु ब्याईफ्रेण्डसँग घुम्न गएको, फिल्म हेर्न गएको कुरा गर्थे । कस्तो हुँदो रहेछ भनेर मैले पनि ब्वाईफ्रेण्ड बनाएँ । तर, उसको र मेरो सोच मिलेन र छुट्यो ।

कहिलेकाँही भेट हुन्छ ?

अहिले त मैले उसको अनुहार पनि देखेकी छैन ।

कहिलेकाँही याद त आउँछ होला नि ?

आउँछ । तर, नेगेटिभ कुरा मात्रै । किनकी उसले मेरो दिमाग भरी नै नेगेटिभ भरेको छ । मैले उसलाई भेटेको छैन, उसले मलाई भेटेको छैन । तर, एकअर्काको बारेमा सुनिएको हुन्छ ।

मैले त्यो मान्छेसँग किन लभ गरेछु भनेर अहिलेसम्म पश्चाताप लाग्छ ।

पहिलो कमाई याद छ ?

याद छ पहिलो पटक २५ सय कमाएकी थिएँ स्टेजमा डान्स गरेर । जतिबेला म १२ वर्षकी थिएँ ।

त्यो पैसा के गर्नुभयो ?

खुसी भएर ममीलाई लगेर दिएँ । घरमा जरुरी थियो । म खुसी भएँ र ममीले मलाई पकेट खर्च भनेर एकसय रुपैयाँ दिनु भएको थियो ।

पहिलो प्रेमपत्र ?

५ कक्षा पढ्दा आएको थियो । मेरै क्लासको एउटा केटाले रगतले लेखेर दिएको थियो । मैले रिसाएर लभ लेटर सिधै मिसलाई लगेर दिएँ । त्यो केटा निकै गोरो थियो । मिसले पाँच क्लासमा पढ्ने केटा लभ लेटर लेख्छन् भनेर एक झापड हान्नु भो । उसको गाला रातो भयो । आँखाबाट तरर आँशु झार्‍यो । त्यो देखेपछि च्यातेर फालेको भए भइहाल्थ्यो, बेकारमा मिसलाई भनिछु जस्तो लाग्यो ।

नाममा किन यत्रो फेर बदल कहिले पूजा, कहिले पूजना अनि थरमा पनि कहिले प्रधान कहिले स्त्री ?

परिस्थिति अनुसार चल्नुपर्ने रहेछ । पहिला म पूजा थिएँ । पूजा नाम चाहिँ राष्ट्रिय अन्तराष्ट्रिय रुपमा सक्सेस नाम रहेछ । त्यसपछि मैले आफैँले आफ्नो नामको पछाडी ‘ना’ थपिदिएँ एक्स्ट्रा होस् भनेर ।

प्रधान त पहिलेदेखि नै लेख्दै आएकी छु । पछि आश्रममा आएर ध्यान गर्न थालें । त्यहाँ केटाले पुरुष र केटीले स्त्री लेख्छन् । मैले पनि स्त्री लेख्न थालें । अहिले चाँही मलाई यात्रा गर्न अप्ठयारो हुन थाल्यो । मेरो बाबा गुरुङ भएकाले पासपोर्ट गुरुङ छ ।

पुजना प्रधान भन्ने खोज्दा त आउने भयो तर, गुरुङ भन्दा त नआउने भयो । पासपोर्टमा गुरुङ, बाहिर प्रधान, स्त्री तीन तीन वटा नाम किन भन्छन् । त्यस्तै समस्या भएपछि प्रधानमा फर्किएँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment