Comments Add Comment

पानी पर्‍यो भन्दै नरमाउनोस्, फ्लु हुन सक्छ !

विनोद घिमिरे

२ वैशाख, काठमाडौं । वर्षायाम नलाग्दै राजधानीलगायत देशका विभिन्न भागमा दिनहुँजसो पानी परिरहेको छ । के यो राम्रो संकेत हो ? विज्ञहरुका अनुसार बेमौसममा परेको पानी खतरा निम्त्याउन सक्छ । काठमाडौं उपत्यकामा केही दिनदेखि सुरु भएको बेमौसमे झरीले ‘फ्लू’ जन्य सरुवा रोगको संक्रमणको जोखिम बढेको भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् ।

पानी परेपछि सवारी कुर्दै एक महिला । फाइफ फोटो
पानी परेपछि सवारी कुर्दै एक महिला । फाइल फोटो

फ्लूजन्य संक्रमण अन्तरगत स्वाइन फ्लु, बर्ड फ्लु इत्यादि पर्दछन् । जाजरकोटमा हालै फैलिएको मौसमी स्वाइन फ्लूले १७ जनाको मृत्यु भैसकेको छ । काठमाडौं उपत्यकासहित देशका अधिकांश जिल्लामा केही दिनयता पानी पर्न थालेको छ । यसले मौसम चिसो बनेको छ । चिसो मौसममा ‘फ्लू’का भाइरस झन् सक्रिय हुने विज्ञको भनाइ छ ।

फ्लूको जोखिम कम हुन १२ डिग्रीभन्दा माथि तापक्रम हुनुपर्छ- बाबुराम मरासिनी

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख बाबुराम मरासिनीले चिसो मौसम रोग नियन्त्रणका लागि चुनौति बनेर आएको अनलाइनखबरलाई बताए । ‘फ्लूको जोखिम कम हुन कम्तिमा १२ डिग्री सेल्सियस भन्दा माथि तापक्रम हुनुपर्छ,’ मसरासिनी भन्छन्-‘तर, अहिले परेको पानीसँगै बढेको चिसोले रोग नियन्त्रणमा चुनौति थपिदिएको छ ।’

चिसोका कारण यसबाट स्वाइन फ्लूका भाइरस छिटो फैलन मद्दत पुगिरहेको मरासिनीले अनलाइनखबरसँग बताए । स्वाइनफ्लूको प्रभाव रोकिन गर्मी बढ्नुपर्ने उनको भनाइ छ ।

दक्षिण एशियाको यो क्षेत्रमा मे महिनापछि मात्रै मनसुन सुरु हुन्छ र पानी पर्छ । तर, चैत वैशाखदेखि नै पानी पर्न थालेको अहिलेको अवस्था हेर्दा कम्तिमा भदौ महिनासम्म स्वाइनफ्लुको जोखिम रहिरहने चिकित्सकहरु बताउँछन् । ‘यस्तै अवस्था रहिरहने हो भने जुनसुकैबेला बिकराल अवस्था आउन सक्छ,’ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख मरासिनीले भने-‘पूर्वसतर्कता र प्रभावकारी उपचारको खाँचो छ ।’

गर्मी बढ्ने छेकछन्द छैन : मौसमविद्

तर, मौसमविदका अनुसार तत्कालै गर्मी बढ्ने छेकछन्द छैन । अहिले नेपालमा पश्चिमी न्यून चापीय वायु सक्रिय छ । यसलाई बंगालको खाडी र अरब सागरबाट आएको वायुले झन् सक्रिय बनाएको छ । त्यसैले पानी परिरहेको र मौसम चिसो बनेको मौसमविद बताउँछन् ।

पश्चिम भेगबाट नेपाल छिरेको न्यून चापीय वायु सुस्त गतिमा पूर्वी भेगतिर गैरहेको छ । ‘यो फास्ट मुभ हुनुपर्ने हो तर, एकदमै स्लो भैराखेको छ,’ मौसमविद सुवास रिमालले अनलाइनखबरसँग भने, ‘पानी पर्ने क्रम अझै केही दिन रहन्छ ।’

तर, बिहीबारदेखि न्यून चापीय वायु नेपालको सुदूरपूर्वी क्षेत्र हुँदै सिक्किम प्रवेश गर्ने र नेपालमा प्रभाव केही कम हुँदै जान सक्ने अनुमान मौसमविद रिमालले गरे । चैत-वैशाख प्रचण्ड गर्मी हुने महिना हुन् । तर, फागुनदेखि नै पटक-पटक पानी पर्दै आएकाले गत वर्षको तुलनामा कम गर्मी महसुस गरिएको छ ।

सुर्खेतदेखि ताप्लेजुङसम्म वर्षा

बितेको २४ घण्टामा सबैभन्दा धेरै मध्यपश्चिमाञ्चलको दाङमा पानी परेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दाङमा ७.२ मिलिमिटर वर्षा भएको छ ।

यस्तै सुर्खेतको वीरेन्द्रनगरमा ६.७ मिलिमिटर पानी परेको छ । कास्कीको लुम्लेमा २.४, पोखरामा ०.१ र ताप्लेजुङमा ०.३ र नेपालगञ्जमा ४.६ मिलिमिटर पानी परेको छ ।

बैशाखमा हिमपात

मौसमविदहरुले मौसममा आएको बदलीसँगै उच्च हिमाली भेगमा हिमपात भएको जानकारी दिएका छन् । सगरमाथा र अन्नपूर्ण क्षेत्रमा हिमपात भएको मौसमविद रिमालले बताए ।

मौसम पूर्वानुमान महाशाखाले गत शनिबार नै उच्च हिमाली क्षेत्रमा हिमपात हुने भन्दै टुर तथा ट्रेकिङमा नजान/नलैजान सूचना जारी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment