Comments Add Comment

दुई एशोशिएट टीमले पनि एसिया कप खेल्न पाउने

Syed-Ashraful-Haq

३ वैशाख, काठमाडौं । दुई एशोशिएट टीमलाई थपेर आगामी वर्ष सन् २०१६ मा आयोजना हुने एसिया कप क्रिकेट २० ओभरको हुने भएको छ । यसले नेपालसहितका एशोशिएट टीमलार्इ टेष्ट मान्यता प्राप्त देशसँग खेल्ने अर्को अबसर मिल्नेछ ।

एसियन क्रिकेट काउन्सिल (एसीसी)को क्वालालम्पूरस्थित कार्यालय बन्द गर्ने तथा संरचनामा कटौती गरी आइसीसीले नै हेर्ने गरी पुनःसंरचना गर्ने तयारी भइरहँदा एसिया कप प्रतियोगिता नै नहुने हो कि भन्ने आशंका बढेकेा थियो ।

तर, एसिया कपलाई विश्वकपको ऐनाको रुपमा स्थापित गर्ने गरी २० र ५० ओभरमा आलोपालोमा संचालन गर्ने तयारी भएको एसीसीका प्रमुख कार्यकारी सइद असरफुल हकले जानकारी दिएका छन् ।

विश्वकप क्रिकेट प्रतियोगितालाई लक्षित गर्दै त्यसअघि एसिया कपलाई सोही फम्र्याटमा संचालन गरिनेछ । टी-२० विश्वकप अघि टी-२० एसिया कप तथा ५० ओभरको विश्वकप अघि ५० ओभरकै एसिया कपको आयोजना गरिनेछ ।
हकका अनुसार अर्को वर्ष सन् २०१६ मा हुने एसिया कप क्रिकेट ट्वान्टी-ट्वान्टी फम्र्याटमा हुनेछ ।

एसीसीको क्वालालम्पूरस्थित कार्यालय आगामी जुन ३० देखि बन्द हुनेछ र दुईजना कर्मचारीले सिंगापुरबाट एसीसी चलाउनेछन् ।

नेपाललाई अर्को अबसर

एसीसीका प्रमुख कार्यकारी हकका अनुसार एसिया कप क्रिकेटमा अब चार टेष्ट नेशन भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशसँगै दुइवटा एशोशिएट टीमलाई पनि सहभागी गराइनेछ ।

छनोट प्रतियोगिताबाट एसिया कप खेल्ने दुई एशोशिएट टोलीको टुंगो लाग्नेछ । यसले एसिया कपका लागि नेपालसहितका चार एशोशिएट नेशनको बाटो खुलेको छ । नेपालसँगै अफगानिस्तान, हङकङ र यूएईले टी-२० मान्यता पाएका छन् ।

नेपाल र अफगानिस्तानले बंगलादेशमा भएको टी-२० विश्वकप खेलेको थियो भने अफगान र यूएईले हालै सम्पन्न वन डे विश्वकप खेलेका थिए ।

आयोजक तय हुन बाँकी

अर्को वर्ष सन् २०१६ को सुरुवातमै एसिया कप हुनेछ । तर, आयोजक देशको टुंगोलागिसकेको छैन । यसअघि सन् २०१२ र २०१४ का दुबै एसियाकप बंगलादेशले आयोजना गरेको थियो ।

एसिया कपपछि मार्च ११ देखि अपि्रल ३ सम्म भारतमा विश्वकप टी-ट्वान्टी प्रतियोगिता हुनेछ ।

तर सन् २०१९ को वन डे विश्वकपलाई लक्षित गरेर २०१८ मा एसिया कप ५० ओभरकै हुनेछ । त्यसको दुइवर्षपछि सन् २०२० मा हुने एसिया कप पुनः २०-२० फम्र्याटमै संचालन गरिनेछ ।

सन् १९८४ देखि एसिया कप क्रिकेटको आयोजना हुँदै आएको छ । अहिलेसम्म १२ वटा प्रतियोगिता भइसकेको छ, जसमा भारत र श्रीलंकाले ५-५ तथा पाकिस्तानले २ पटक उपाधि जितेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment