Comments Add Comment

थापा गुट र भूमिगत गिरोह : दुबै प्रतिक्रियावादी

मोहनविक्रम सिंह

साप्ताहिक विमर्श मा ०४३ साल असोज ३ गते प्रकाशित एउटा लेखमा एकातिर कथित भूमिगत गिरोह र अर्कोतिर थापा गुटका बीचको अन्तर्विरोधलाई “दुई पञ्च समूहको मतभेद” बताइएको छ, त्यो भनाइले वास्तवमा देशमा ती दुवै पक्षका बीचको अन्तर्विरोधको राजनैतिक चरित्रमाथि राम्ररी प्रकाश हालेको छ ।

मोहनविक्रम सिंह
मोहनविक्रम सिंह

वास्तवमा देशमा कथित भूमिगत गिरोह र थापा गुटका बीचमा जुन चर्को अन्तर्विरोध चलेको थियो, यसको राजनैतिक चरित्र स्पष्टरूपले प्रतिक्रियावादी थियो ।

थापा गुट स्पष्टः एउटा प्रतिक्रियावादी पञ्च गुट हो । सूर्यबहादुर थापा प्रधानमन्त्री छँदा देशमा भएका कतिपय घटनाहरू, जसको स्वयं ‘साप्ताहिक विमर्श’ मा प्रकाशित एउटा लेख चर्चा गर्दछ, “छिन्ताङ हत्याकाण्ड, आजाद हत्याकाण्ड, शिक्षक, विद्यार्थी, पत्रकार, किसान-मजदुर एवं बहुदलवादी नेता र समूहउपर भएका अन्याय, अत्याचार र दमन” भुल्न सकिने घटना होइनन् । यस प्रकारको कालो र प्रतिक्रियावादी चरित्र भएको व्यक्तिले आज देशको प्रजातान्त्रिक आन्दोलनको नेतृत्वको दाबा गर्दै छ र यसबारे जनतामा प्रसस्त भ्रम दिन सफल भइरहेको छ । यो एउटा राजनैतिक विडम्बना त हो नै झ् अर्कातिर यसले देशको जनवादी गम्भीर स्थितिलाई पनि बताउँछ । त्यसकारण यो अवस्था देशका सबै देशभक्त, जनतान्त्रिक र वामपन्थी शक्तिहरूले गम्भीरतापूर्वक विचार गर्नुपर्ने आवश्यकता छ ।

अन्तराष्ट्रिय राजनीतिमा कैयौंपल्ट यस प्रकारका अवस्थाहरू आउँछन्, जुनबेला प्रतिक्रियावादी व्यवस्थाको विरुद्धको सङ्घर्षमा स्वयं प्रतिक्रियावादी तत्वहरूले पनि-मुख्यतः उनीहरूका बीचमा चल्ने अन्तर्विरोधहरूले-एउटा वा अर्को रूपमा प्रशस्त मद्दत पुर्‍याएका हुन्छन्, ठीक त्यो कुरा काफी हदसम्म थापा गुटले पनि गरेको छ ।

थापा गुटले “भूमिगत गिरोह”, “नयाँ भारदार”, “गैर-संवैधानिक केन्द्र,” आदिका नाममा प्रतिक्रियावादी शासक विरुद्धको भण्डाफोरमा जुन मद्दत पुर्‍याएको छ, राजनैतिक दृष्टिले त्यो अत्यन्तै महत्वपूर्ण छ ।

यस दिशामा थापा गुटले जेजति काम गरेको छ, त्यसको एउटा सानो हिस्सा पनि वामपन्थी शक्तिहरूले गर्न सकेका छैनन् । हामीले आफ्नो भूमिगत साहित्यद्वारा त्यो दिशामा जेजति गरिरहेका छौँ, त्यो प्रथम, त सामान्य र उपरी राजनैतिक प्रकारको छ र खास विषयहरूका आधारमा प्रतिक्रियावादी शासक वर्ग र व्यवस्थाको भण्डाफोर गरेर जनताको चेतना उठाउनेतिर हामीले अत्यन्त कम काम गर्न सकेका छौँ । स्वयं हाम्रो पार्टीको पाँचौँ महाधिवेशनमा पारित दस्तावेजहरूमा त्यो सत्यतालाई स्वीकार गरिएको छ ।

द्वितीय, हाम्रो आफ्ना विचार करिब-करिब भूमिगत साहित्यसम्म नै सीमित रहेको छ र जनताका बीचमा अत्यन्त कम पुग्न सकेको छ । त्यो पृष्ठभूमिमा थापा गुटले कथित भूमिगत गिरोह, नयाँ भारदार, गैर-संवैधानिक शक्तिका विरुद्ध तीव्र र व्यापक भण्डाफोर गरेर जनताको चेतनास्तरमाथि उठाउन गरेको योगदान एउटा वास्तविकता हो ।

राष्ट्रिय पञ्चायतको ३४ औँ अधिवेशनमा थापाजीलाई नाटकीय ढङ्गबाट सत्ताच्युत गरिसकेपछि वहाँले सोही अधिवेशनमा नयाँ भारदारउर्फ भूमिगत गिरोह शब्द सूत्रपात गर्नुभएको थियो

आज आम जनताका बीचमा थापा गुटको चित्र विद्यमान प्रतिक्रियावादी शासक वर्गको वैकल्पिक शक्तिका रूपमा बन्दै गइरहेको छ र त्यो गुट व्यवस्था विरोधी जनमतको केन्द्र बन्दै गइरहेको छ । खास गरेर कथित भूमिगत गिरोह, नयाँ भारदार आदिका विरुद्धको भण्डाफोर र सङ्घर्षमा त्यसले खेलेको महत्वपूर्ण भूमिकाले गर्दा जनताका बीचमा त्यसको त्यस प्रकारको चित्र बन्दै गइरहेको छ । यस सन्दर्भमा विशेष विचारणीय कुरा के हो भने एउटा प्रतिक्रियावादी गुटको जनतामा त्यस प्रकारको चित्र बन्नु, एउटा प्रतिक्रियावादी राजनैतिक गुटले आफूलाई जनपक्षीय शक्तिका रूपमा प्रस्तुत गर्न सक्नु-त्यो देशको जनआन्दोलनको अत्यन्त चिन्ताजनक, निराशाजनक र अँधेरो पक्ष हो । थापा गुटको त्यस प्रकारको सफलता वास्तवमा जन-आन्दोलनको नकारात्मक उपज हो । देशमा एउटा सही, सशक्त र क्रान्तिकारी राजनैतिक शक्ति तथा नेतृत्वको अभावको नकारात्मक उपज ।

यो स्थितिको सही समाधान खाली दुई तरिकाले मात्र हुन सक्छ : प्रथम, आफूलाई जनपक्षीय शक्तिका रूपमा जनतालाई भ्रम दिन काफी हदसम्म सफल भएको प्रतिक्रियावादी गुटको भण्डाफोर, द्वितीय, प्रतिक्रियावादी शक्तिहरूको विरुद्ध भण्डाफोर र सङ्घर्षमा पहलकदमी ।
थापा गुटले कथित भूमिगत गिरोहका विरुद्ध भण्डाफोरको नीति लिएर जनताका बीचमा आफूलाई जनपक्षीय शक्तिका रूपमा प्रस्तुत गर्न काफी सफल भएको छ । तर, वास्तविकता के हो भने त्यस प्रकारको विरोधका तुलनामा कुनै जनपक्षीय राजनीति होइन, प्रतिक्रियावादी गुटहरूका बीचमा सत्ताका लागि चल्ने होडबाजी नै मुख्य कारण रहेको छ ।
Surya-Bdr-Thapa
राष्ट्रिय पञ्चायतको ३४ औँ अधिवेशनमा थापाजीलाई नाटकीय ढङ्गबाट सत्ताच्युत गरिसकेपछि वहाँले सोही अधिवेशनमा नयाँ भारदारउर्फ भूमिगत गिरोह शब्द सूत्रपात गर्नुभएको थियो । त्यसरी थापा गुटले “सत्ताच्युत” भएपछि त्यसको प्रतिशोधका रूपमा नै “नयाँ भारदार उर्फ भूमिगत गिरोह” को भण्डाफोरमा अभियान शुरु गर्‍यो ।

त्यसबाट के कुरा छर्लङ्ग हुन्छ भने कथित भूमिगत गिरोह र थापा गुटका बीचमा चलिरहेको अन्तर्विरोध र प्रतिस्पर्धा दुई बेग्लाबेग्लै प्रतिक्रियावादी र जनपक्षीय राजनीतिका बीचको होइन, प्रतिक्रियावादी शक्तिहरूका बीचमा सत्ताका लागि चलिरहेको प्रतिस्पर्धाको परिणाम हो ।

पञ्चायतभित्र र बाहिर प्रतिक्रियावादीहरूका बीचमा त्यस प्रकारको प्रतिस्पर्धाहरू बारम्बार चल्दै आएका छन् र वर्तमान कालमा दुई प्रतिक्रियावादी गुटहरूका बीचमा चलिरहेको अन्तसङ्घर्ष र त्यही प्रक्रियाको एउटा तात्कालिक रूप मात्र हो ।

आज मानिसहरूले कथित भूमिगत गिरोहलाई पञ्चायतभित्रका कट्टर र प्रतिक्रियावादी गुट तथा थापा गुटलाई सुधारवादी र प्रजातान्त्रिक बहुदलीय राजनीतिका पक्षधरका रूपमा पनि लिएको पाइन्छ । तर, तथ्यहरूले त्यो वास्तविकतालाई सावित गर्दैनन् । यदि थापा सुधारवादी प्रजातान्त्रिक वा बहुदलीय राजनीतिका पक्षधर थिए भने अनियन्त्रित रूपमा सत्ता र भ्रष्ट साधनहरूको उपयोग गरेर कथित जनमत सङग्रहमा बहुदलीय पक्षलाई पराजित गर्ने काम किन गरियो ?

सूर्यबहादुर थापाको प्रधानमन्त्रित्वको इतिहास कैयौं प्रतिक्रियावादी काण्ड र कार्यहरूले भरिएको छ

यदि थापाले त्यो कार्य आफ्नो इच्छाका विरुद्ध गरेका थिए भने त्यसको अर्थ यो भयो कि उनी पनि प्रतिक्रियावादी सत्ता पक्षका गोटी मात्र थिए । सत्ता प्राप्त गरेपछि प्रतिक्रियावादीभन्दा प्रतिक्रियावादी र जनविरोधी कार्यका लागि तयार हुने दलाल । त्यो अवस्थामा आज उनले के भन्छन्, त्यो कुराले कुनै राजनैतिक अर्थ राख्दैन । भोलि सत्तामा पुगेपछि उनी पुनः प्रतिक्रियावादीभन्दा प्रतिक्रियावादी र जनविरोधी कार्यहरूमा संलग्न हुन सक्छन् । त्यो अवस्थामा उनको अहिलेको जनपक्षीय राजनैतिक भूमिकाले एउटा अभिनयलेभन्दा बढी अर्थ राख्दैन र अन्ततः उनले प्रतिक्रियावादी राजनीतिको नै प्रतिनिधित्व गर्दछन् भन्ने कुरामा कुनै शङ्का रहन्न ।

अर्को शब्दमा कथित भूमिगत गिरोह र थापा गुट एउटै प्रतिक्रियावादी व्यवस्था र राजनीतिका प्रतिनिधिहरू हुन् । उनीहरूको बीचको अन्तर खाली यति मात्र छ-को सत्ताको नजिक छ र को टाढा ? त्यो स्थितिले बाहृय रूपम उनीहरूका बीचमा केही अन्तर देखिन्छ, तर, वास्तविक अन्तर होइन ।

स्वयं सूर्य बहादुर थापाले कथित जनमत सङ्ग्रहपछि भएको “आम चुनाव” पछिको उनको प्रधानमन्त्रित्वकाललाई यो भनेर उल्लेख गरेका छन् “संविधानको तेस्रो संशोधन र आम निर्वाचनपछि देशका एक नयाँ वातावरणको सिर्जना भयो, आशाका किरणहरू देखा पर्न थाले, नेपालको इतिहासमा एउटा सूवर्ण मौका, एउटा समय अत्यन्त राम्रो देखापर्‍यो, यसले एउटा निश्चित दिशा र मार्ग अपनाउन थाल्यो । तर खास स्वार्थ र राजनैतिक उद्देश्य राख्ने गिरोहका लागि यो अवस्था अनुकूल ठहरिएन । त्यसलाई यो उपयुक्त लागेन, त्यसैले साजिश, षडयन्त्र दबावहरू शुरु हुन थाल्यो” ।

त्यसरी देशमा २०३५-०३६ सालको जनआन्दोलनका कारणले बाध्य भएर गरिएको जनमत सङ्ग्रहको घोषणा, जनसङ्घर्षलाई असफल पार्न गरिएको कथित तेस्रो संशोधन, स्वयं सूर्यबहादुरको प्रधानमन्त्रित्वमा सत्ताको दुरूपयोग र भ्रष्ट साधनहरूद्वारा बहुदलीय पक्षलाई पराजित गरेर गरिएको कथित आम चुनावपछि उनको प्रधानमन्त्रित्वमा बनेको सरकारलाई जनताद्वारा “निर्वाचित” सरकारको संज्ञा दिएर त्यसलाई नेपालको इतिहासको ‘एउटा सुवर्ण मौका’सम्म बताउनु-योभन्दा झुटो कुरा अरू के हुन सक्छ ? सूर्यबहादुर थापाको प्रधानमन्त्रित्वको इतिहास कैयौं प्रतिक्रियावादी काण्ड र कार्यहरूले भरिएको छ ।

सूर्यबहादुर प्रधानमन्त्री भएका बेलामा त्योबेला सत्तामा नभएका पञ्चहरूले मुख्यतः लोकेन्द्रकहादुर चन्द र कतिपय भूतपूर्व प्रधानमन्त्रीहरूका पहलकदमीमा उनका विरुद्ध अभियान चलाइएको थियो । त्योबेला उनीहरू पनि आफ्नो विरोधलाई जनपक्षीय राजनीतिद्वारा प्रेरित बताएर भ्रमदिन काफी हदसम्म सफल भएका थिए । तर, छिट्टै जनताका अगाडि स्पष्ट भयो कि उनीहरूको राजनीति पनि सूर्य बहादुरकोभन्दा प्रगतिशील थिएन र दुवै प्रतिक्रियावादी पञ्च राजाका प्रतिनिधिहरू थिए । त्योभन्दा पहिले पनि पञ्चहरूका विभिन्न पक्षहरूद्वारा कैयौँपल्ट त्यस प्रकारको अन्तर्विरोधहरू चल्ने गरेका र विरोधी पक्षले जहिले पन आफूलाई जनपक्षीय साबित गर्ने प्रयत्न गर्दै आएका छन् । थापा गुटको कथित भूमिगत गिरोहका विरुद्धको राजनैतिक चरित्र पनि त्योभन्दा बेग्लै छैन ।

(नेकपा मसालका महामन्त्री सिंहले ०४३ सालमा लेखेको यो लेख ‘चार दशक’ पुस्तकबाट लिइएको हो)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment