Comments Add Comment

फोहर व्यवस्थापन गर्न सहकारी

४ वैशाख, बागलुङ । सहकारी खुल्ने क्रम बढिरहेका बेला यहाँ फरक उद्देश्यको सहकारी संस्था स्थापना भएको छ ।

नाफामुखी नभई सेवामुखी भएर काम गर्न धौलागिरि फोहर व्यवस्थापन तथा वातावरण संरक्षण सहकारी खुलेको हो । ‘वातावरण सफा राखौँ, सफा र स्वस्थ बनौँ’ नारासहित सहकारीले सेवा दिन सुरु गरेको छ ।

पचपन्न जना सेयर सदस्यबाट सुरु भएको सहकारीको प्रारम्भिक पुँजी रु २५ लाख रहेको संस्थाका अध्यक्ष सुधीर श्रेष्ठले बताए । न्युनतम ११ हजारदेखि माथि एक लाख रूपैयाँसम्म पुँजी राख्न सकिने गरी सेयर खुला गरिएको छ ।

सहकारीले बागलुङ नगरक्षेत्रको फोहर व्यवस्थापनका लागि फोहर उठाउने गाडी सञ्चालनमा ल्याएको छ । “सहकारीको मुख्य उद्देश्य फोहर व्यवस्थापन नै हो, नगरपालिका र अन्य सङ्घसंस्थासँगको सहकार्यमा काम गर्दैछौँ” अध्यक्ष श्रेष्ठले भने  “फोहरलाई मोहरमा परिणत गर्ने लक्ष्य छ ।” सहकारीले फोहरको सही व्यवस्थापनसँगै फोहरबाट पुनःप्रयोगमा ल्याउन सकिने वस्तुहरु उत्पादन गर्ने योजना अघि सारेको छ ।

फोहर प्रशोधन गरेर विभिन्न वस्तु तथा सामग्री तयार गर्ने र त्यसबाट आयआर्जनका क्रियाकलाप सञ्चालन गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । सुरुका केही महिना सहकारीले निःशुल्क रुपमा नगरक्षेत्रका घरदैलोमा पुगेर फोहर सङ्कलन गर्ने र त्यसको व्यवस्थापन गर्ने भएको छ । कुहिने, नकहुने, प्लास्टिकजन्य, सिसाजन्य र अन्य धातुजन्य फोहरलाई छुट्टाछुट्टै दिनमा उठाइने भएको छ ।

न्युनतम शुल्कमा फोहर उठाउने सहकारीले जनाएको छ । स्वच्छ र सरसफाइयुक्त नगरको लागि सहकारीले टेवा पु¥याउने ठानिएको छ । फोहर व्यवस्थापन जस्तो सेवामूलक कार्यका लागि सहकारी स्थापना हुनु सुखद् विषय रहेको डिभिजन सहकारी कार्यालय बागलुङका प्रमुख विष्णुप्रसाद शर्माले बताए ।

“ऋण बचतको काम गरी बढी नाफा कमाउन प्रेरित भएर सहकारी खोल्ने क्रम बढिरहेको छ” उनले  गुनासो गरे ।

नगरको फोहर व्यवस्थापन गर्ने, वातावरण स्वच्छ र सफा राख्ने दायित्व नगरपालिकाको भए पनि पर्याप्त काम हुनसकेको छैन । स्थायी प्रकारको ‘डम्पिङ साइड’ नहुँदा फोहर व्यवस्थापन कार्य चुनौतीपूर्ण बनेको छ । जनशक्ति र स्रोतसाधनको सीमितताले हप्तौँसम्म नगरको फोहर उठ्न नसक्ने अवस्था छ ।

युवाको सक्रियतामा खुलेको यस सहकारीले वातावरणीय सुधार र फोहर व्यवस्थापनका लागि महत्वपूर्ण भूमिका खेल्ने ठानिएको छ । सहकारीकै अगुवाइमा नगरक्षेत्रको सडक सरसफाइका लागि अभियान पनि चल्ने भएको छ ।

सहकारी सुभारम्भको सन्देश दिन नयाँ वर्षको दिन प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेललगायत सहकारीका पदाधिकारी, सदस्य र अन्य व्यक्ति सम्मिलित भएर बागलुङ बजारको सडक सरसफाइ गरेका थिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment