Comments Add Comment

भन्सारको राजश्वमा असुलीमा अर्थ समिति असन्तुष्ट

Prakash-Jwala-at-Bhairahawa

  • अर्थसमिति सभापति प्रकाश ज्वाला (दायाँ) भैरहवा भन्सार अनुगमनको क्रममा

सलमान खान

४ वैशाख, भैरहवा । व्यवस्थापिका संसदको अर्थ समितिले भैरहवा भन्सार कार्यालयको राजश्व संकलनमा असन्तुष्टि जनाएको छ । अर्थ समितिले भैरहवा भन्सार कार्यालयको शुक्रबार आकस्मिक निरिक्षण गरेपछि राजश्व संकलनमा असुन्तुष्टि जनाएको हो ।

‘आर्थिक गतिविधि अनुसार भन्सारको राजश्व संकलनमा थप वृद्धि हुनु पर्ने हो,’ समिति सभापति प्रकाश ज्वालाले भने, ‘तर त्यो अनुसारको राजश्व संकलन नभएको हामीले पाएका छौँ ।’

लक्ष्य अनुसारको राजश्व संकलन भएपनि भैरहवा भन्सार कार्यालयमा आयात निर्यात अनुसार राजश्व संकलन हुन नसकेको अर्थ समितिको निष्कर्ष छ ।

भारतबाट आएका मालवाहक सवारीसाधन भन्सार कार्यालयमा माल अनलोड नै नगरी जाँच गर्ने गरेको अनुगमनको क्रममा पाइएको ज्वालाले जानकारी दिए ।

‘भन्सारले भन्सार छली, चोरी, तस्करी अन्त्य गर्न नसकेपनि न्युनिकरण गर्नसक्छ,’ उनले भने, ‘यसमा सुधार गरे भन्सार कार्यालयको राजश्व थप वृद्धि हुनसक्छ ।’

अर्थ समितिका सभापति प्रकाश ज्वाला, सदस्यहरु सिपी मैनाली, चन्द्र भण्डारी, अब्दुल रज्जाक गद्दी, नरदेवी पुन मगर, सिर्जना तरामु खत्री, श्रीकान्ति पासी, अर्थ समितीका सचिव कृष्णहरी खड्काले भैरहवा भन्सार कार्यालय अनुगमन गरेका थिए । पाँच विकास क्षेत्रका १० जिल्लामा अर्थसमितिले अनुगमन र सुझाव संकलन गर्दै आएको छ ।

‘अर्थ नीति नै संशोधन आवश्यक’

अर्थसमितिका सदस्यहरुले अनुगमनको क्रममा भन्सारको समस्या र सुझाव समेत संकलन गरेको थियो । भैरहवा भन्सार कार्यालय अनुगमनपछि समितिले रुपन्देहीका उद्योगी, व्यवसायी, राजनीतिक दल, प्रशाशनलगायत विभिन्न संघ संस्थाका पदाधिकारीहरुसँग पूर्व बजेट सम्बन्धि छलफल समेत गरेको छ ।

‘नयाँ सोंचका साथ आर्थिक विकासमा जुट्नुपर्छ,’ कार्यक्रममा अर्थ समिति सदस्य एवं सभासद चन्द्र भण्डारीले भने, ‘आर्थिक, सामाजिक राजनैतिक संरचनाको परिवर्तन आवश्यक छ ।’

उनले सरकारले युवाहरुको विदेश पलायन रोकी उत्पादनशील कार्यमा लगाउन र बजेट कार्यान्यवनमा जोड दिए ।

समितिका अर्का सदस्य एवं सभासद अब्दुल राज्जाक गद्दीले बजेट भाषणले मात्र समस्या समाधान नहुने उल्लेख गर्दै देशको आर्थिक नीति नै संशोधन गर्नुपर्ने धारणा राखे । कृषि सामग्री र पर्यटन क्षेत्रको विकासमा सरकारले विशेष जोड दिनुपर्ने उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment