Comments Add Comment

सार्वजनिक यातायातमा यात्रु ठगी, दुई रुपैयाँ बढी असुल हुँदा सरकार मौन

५ बैशाख, काठमाडौं । मिलेमतोमा सार्वजनिक यातायात व्यवसायीले यात्रुबाट दैनिक लाखौंं रुपैयाँ ठग्दै आएका छन्।व्यवसायीले सरकारले तोकेको न्यूनतम भाडा दरभन्दा बढी रकम असुलेर उपत्यकाबाट हरेक दिन ३६ लाख रुपैयाँभन्दा बढी असुलेको पाइएको छ।
PASENGERs in Nepal yatayat
यातायात क्षेत्रका बेथिति सम्बोधन गर्न यातायात व्यवस्था विभागको संयोजकत्वमा केन्द्रीय अनुगमन समिति गठन भए पनि प्रभावकारी रूपमा नियमन नहुँदा यात्रुहरूले न्यूनतम दूरीमा सरकारले तोकेभन्दा दुई रुपैयाँ बढी भाडा तिर्नुपरेको अन्नपूर्ण पोस्टमा खबर छ।

सरकारले राजपत्रमा सूचना प्रकाशित गरेर शून्यदेखि चार किलोमिटरसम्मको दूरीमा १३ रुपैयाँ भाडा दर तोकेको छ। गत माघ २६ गते पेट्रोलियम पदार्थको मूल्य घटेपछि १४ रुपैयाँबाट घटाएर न्यूनतम भाडा १३ रुपैयाँ कायम गरिएको हो।

यसअघि पुस ९ गते शून्यदेखि चार किलोमिटरसम्मको दूरीको न्यूनतम भाडादर १५ बाट घटाएर १४ रुपैयाँ कायम भएको थियो। तर व्यवसायीले चार किलोमिटरसम्म यात्रा गर्ने यात्रीबाट पनि १५ रुपैयाँ असुल गर्दै आएका छन्। यसरी अवैध रूपमा असुल गरिने बढी भाडादरका कारण व्यवसायीहरूले दैनिक लाखौं रुपैयाँ आर्जन गरेका हुन्।

यातायात व्यवस्था विभागका प्रवक्ता वसन्त अधिकारीले सरकारले वैज्ञानिक भाडादर १३ रुपैयाँ ७२ पैसा निर्धारण गरे पनि यातायात व्यवसायीसँगको सहकार्यमा न्यूनतम भाडा दर १३ रुपैयाँ कायम गरिएको बताए।

‘सरकारले राजपत्रमा पनि न्यूनतम भाडादर १३ रुपैयाँ नै तोकेको छ। १३ रुपैयाँभन्दा बढी असुल गर्नु अवैधमात्रै होइन, सीधै ठगी हो। हामीले प्रभावकारी अनुगमन गर्न नसक्दा व्यवसायीले समग्रमा प्रत्येक दिन अवैध रूपमा यात्रुबाट लाखौं रुपैयाँ असुल्दै आएका छन्’, अधिकारीले शुक्रबार अन्नपूर्णसँग भने, ‘व्यवसायीहरूले अपारदर्शी रूपमा ठूलो रकम यात्रुबाट असुल गरिरहेको गुनासो आएको छ। निकट समयमै प्रभावकारी अनुगमन थाल्दैंछौं।’

सरकारले आफैंले निर्धारण गरेको भाडादर कार्यान्वयन कसरी भएको छ भन्ने अनुगमन नगर्दा व्यवसायीले जबरजस्ती यात्रुबाट १३ रुपैयाँको साटो १५ रुपैयाँ असुल्दै आएको उपभोक्तावादी जगरनाथ मिश्र बताउँछन्।

उनले भने, ‘सरकारले ठग्न छुट दिएका कारण व्यवसायीले अवैध रूपमा यात्रुबाट दैनिक लाखौं असुलेका छन्।’ भाडादर बढाउन हडतालमा उत्रिने व्यवसायीले घटेको भाडादर लागू गर्न कन्जुस्याइँ गर्दै आएका छन्। यात्रुले सरकारले तोकेबमोजिम भाडा लेऊ भन्दा उल्टै तिरस्कृत हुनुपरेको मिश्रले बताए।

सार्वजनिक यातायात व्यवसायीहरूको छाता संगठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ भने सरकारले न्यूनतम भाडादर १४ रुपैयाँ निर्धारण गरेको दाबी गर्छ। महासंघका महासचिव सरोज सिटौलाले यातायात व्यवसायीले यात्रुबाट १४ रुपैयाँमात्र भाडा असुल गरिरहेको दाबी गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment