Comments Add Comment

कांग्रेसलाई संघीय स्परुपको बनाऔं : सुजाता

५ वैशाख, काठमाडौं । देश संघीयतामा जाने तयारी भैरहेका बेला नेपाली कांग्रेसमा पनि पार्टीलाई संघीय ढाँचामा लैजाने आवाज उठेको छ ।

आउँदो भदौमा कांग्रेसको १३ औं महाधिवेशन हुँदैछ । त्यसको जोड घटाउमा कांग्रेस नेताहरु सक्रिय छन् । महाधिवेशन लक्षित गुटगत भेलाले तिव्रता पाएका छन् भने आफ्नो पक्षमा माहोल बनाउन नेताहरु जिल्ला दौडाहामा छन् ।

फाइल तस्वीर
फाइल तस्वीर

आगामी महाधिवेशनमा आफूलाई सभापतिको दाबेदार भन्दै जिल्ला दौडाहामा रहेकी सुजाताा कोइरालाले देश संघीयतामा जाने भएकाले पार्टीलाई पनि संघीय ढाँचामा लैजान माग गरेकी छन् । महाधिवेशनलाई लक्षित गरी पार्टी विधान संशोधनको गृहकार्य भैरहेकाबेला कोइरालाले पार्टी समावेशी नभएकोले विधान संशोधनको आवश्यकता औंल्याइन् ।

‘देश संघीयता गएपछि पार्टी पनि संघीय ढाँचाको हुनुपर्छ,’ कार्यकर्ता भेटघाटका लागि बारा पुगेकी कोइरालाले भनिन् । प्रादेशिक तथा केन्द्रीय संरचनामा उपसभापति र उपमहामन्त्रीको पद थप गरी सबैलाई समावेश गर्नुपर्ने उनले धारणा राखिन् ।

सुजाताले तीन उपसभापतिमध्ये एक महिला कोटा छुट्याउन पार्टीमा दवाव दिँदै आएकी छन् । त्यसो भएमा सभापति बन्न नसके पनि महिला उपसभापति पदमा आफू पुग्ने सुजाताको रणनीति छ ।

कांग्रेसमा कोइराला परिवारवाद हावी हुँदै आएकोले त्यसलाई नकारिहाल्न सकिँदैन । तर, कांग्रेस नेताहरुले सजिलो भने देख्दैनन् ।

कोइराला परिवारलाई नजिकबाट चिनेका कांग्रेसका एक पूर्वमन्त्रीले भने, ‘सकेसम्म ठूलो पद पाउँ भन्ने आकांक्षा सबैको हुन्छ, त्यसैले सुजाताजीको भनाइ अस्वाभाविक भन्न पनि मिल्दैन तर, उपसभापति वा सभापति पद नै पाउने सम्भावना म चाहिँ देख्दिन ।’

गिरिजाबाबुले मधेस आन्दोलनको क्रममा गरेको सम्झौताबाट एक ईन्च पनि तलमाथि हुँदैन

सुजाताले हालका सभापति सुशील कोइरालाले पार्टी सभापतिमा उम्मेदवारी नदिए आफू नै अघि सर्ने सार्बजनिक अभिव्यक्ति दिँदै आएकी छन् । यसलाई कांग्रेस नेताहरुले सुजाताको राजनीतिक बार्गेनिङको रुपमा बुझेका छन् र खासै महत्व दिएका छैनन् ।

‘कांग्रेसमा अरु कोही नेता छैनन् र सुजातालाई सभापति दिने ?’ कांग्रेसका एक पदाधिकारीले अनलाइनखबरलाई उखान टुक्का सुनाउँदै व्यंग्यात्मक शैलीमा भने, ‘कस्ता कस्ता कहाँ लागे, मुसा गए दरबार भनेजस्तो भै हाल्यो नि ।’

कार्यकर्ता फकाउने प्रयास

जुन नेताले जेसुकै भनोस् तर, आगामी महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिन्छु भनेर सुजाताले भन्न छाडेकी छैनन् । यसअघि काठमाडौंस्थित आफ्नै निवासमा केही पत्रकारहरुलाई बोलाएर र चैत अन्तिम साता जनकपुरका कार्यक्रममा उनले यही कुरा दोहोर्‍याएकी थिइन् ।

शुक्रबार बारामा पनि उनले आगामी महाधिवेशनमा आफू सभापति पदमा लड्ने भन्दै कार्यकर्ताहरुसँग भोट माग्न भ्याइन् ।

कार्यक्रममा मधेसप्रतिको काँग्रेसको धारणा कार्यकर्ताहरुले माग गरेका थिए । त्यसको जवाफमा सुजाताले भनिन्, ‘गिरिजाबाबुले मधेस आन्दोलनको क्रममा गरेको सम्झौताबाट एक ईन्च पनि तलमाथि हुँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment