Comments Add Comment

थप नौ सडक आयोजना अगाडि बढाइने, त्रिपुरेश्वर–कलङ्की–नागढुङ्गा सडक प्राथमिकतामा

५ वैशाख, काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका विभिन्न नौवटा सडक आयोजनालाई प्रमुख प्राथमिकताका साथ अगाडि बढाउने भएको छ ।

काठमाडौं उपत्यकाभित्र हाल निर्माणका क्रममा रहेका आयोजनालाई पूरा गर्दै थप व्यवस्थित गर्ने लक्ष्यका साथ सडकको निर्माण सुरु गर्न लागिएको हो ।

जसमा सडकमा चाबहिल–जोरपाटी साँखु सडक (१२ किलोमिटर), जोरपाटी सुन्दरीजल (छ किलोमिटर), काठमाडौं महानगरपालिका नयाँबजार पुलदेखि चक्रपथ मार्ग हुँदै दुवैतर्फ दुई किलोमिटर, सीतापाइला रामकोट–भीमढुङ्गा (५ किलोमिटर र विष्णुमती पुल–टोखाबजारसम्म (एक किलोमिटर छन् ।

यस्तै सामाखुसी खोला हुँदै चक्रपथ सुन्दरमार्ग (१५ किलोमिटर), टोखाबजार चण्डेश्वरी मन्दिर (दुई किलोमिटर), कीर्तिपुर ल्यावरेटरी विद्यालय (डेढ किलोमिटर) र त्रिपुरेश्वर–कलङ्की–नागढुङ्गा (१२ किलोमिटर) छन् ।

प्रस्तावित आयोजना पूरा भएपछि उपत्यकामा जारी सडक विस्तार अभियानले अर्को चरणमा प्रवेश गर्नेछ । सडक विभागले नौवटा आयोजनालाई चालु आर्थिक वर्षभित्रैबाट सुरु गर्ने लक्ष्य राखेको छ ।

विभागका महानिर्देशक माधव कार्कीले ती आयोजनालाई पूरा गर्न सकिएको खण्डमा हाल विस्तारित सडकको समेत थप औचित्य पूरा हुने बताए ।

त्यसमा त्रिपुरेश्वर–कलङ्की–नागढुङ्गा सडकलाई बढी महत्व दिइएको छ । काठमाडौं उपत्यका सडक सुधार आयोजनाका आयोजना प्रमुख इन्जिनियर प्रभातकुमार झाले काठमाडौँ प्रवेश गर्ने नाका नै साँघुरो भएका कारण विस्तार गर्ने लक्ष्य राखिएको हो ।

भक्तपुर–साँगा सडक पनि विस्तारका क्रममा रहेको विश्व बैंकलगायतका अन्तर्राष्ट्रिय साझेदारले आयोजनामा लगानी गर्ने इच्छा व्यक्त गरेको छ । हालको महत्वपूर्ण नाकाका रूपमा रहेको त्रिपुरेश्वर–कलङ्की–नागढुङ्गा सडकलाई प्रमुख प्राथमिकतामा राखिएको आयोजना प्रमुख झाको भनाइ छ । सडक विस्तार गर्दा करिब दुई हजारभन्दा बढी सडक किनारका घर उठाउनुपर्ने देखिन्छ ।

राजमार्गको सीमा तय हुनुभन्दा पहिले निर्माण भएका घरलाई क्षतिपूर्ति दिने तर सडक सीमा मिचेका कोही कसैलाई पनि त्यसखालको सुविधा नदिइने सडक विभागका महानिर्देशक कार्कीको भनाइ छ ।

सडक सीमाको पूर्व व्यवस्थाअनुसार राजमार्गको दायाँ–बायाँ ५० मिटर र सहायक राजमार्गको ३० मिटर सीमा तय गरिएको छ । नागढुङ्गा नौबिसे सडक खण्डमा जापान सरकारको सहयोगमा सुरुङमार्ग निर्माणको प्रक्रिया अगाडि बढिरहेकाले त्रिपुरेश्वर–कलङ्की–नागढुङ्गा सडकलाई थप विस्तार गर्नुपर्ने आवश्यकता देखिएको आयोजना प्रमुख झाले बताएका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment