५ वैशाख, काठमाडौं । पुराना राजनीतिज्ञ एवं पूर्वमन्त्री पद्मसुन्दर लावतीले केपी ओली, राधाकृष्ण मैनाली र सीपी मैनालीको परिवार लिम्बुहरुको विध्वंश सहन नसकेर तेह्रथुमको आठराईबाट विस्थापित भई झापा झरेको बताएका छन् ।
झापा गृह जिल्ला भएका ओली र मैनाली परिवारलाई साहुमहाजनको संज्ञा दिँदै लावतीले भनेका छन्- ‘लिम्बुहरुलाई दमन गरेको आरोप लागेका केपी शर्मा ओलीको परिवार, आरके मैनालीको परिवार र सीपी मैनालीको परिवारलगायतका धेरै साहुमहाजनहरु विध्वंश सहन नसकी आठराईबाट विस्थापित भई झापा झरेका हुन् ।’
शनिबार राजधानीमा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले विमोचन गरेको लावतीको आत्मकथामा विसं. २००७ सालमा तेह्रथुममा लिम्बुहरुले उत्पात मच्चाएर साहुमहाजनहरुलाई खेदेको ऐतिहासिक तथ्यबारे छोटो वर्णन गरिएको छ । ००७ सालमा ११ वर्षका मात्रै रहेका लावतीले आत्मकथामा भनेका छन्- ‘त्यसबेला लिम्बुहरुले तेह्रथुमको जलजले र आठराईमा पूर्वकै सबैभन्दा ठूलो विध्वंश र उत्पात मच्चाएका थिए ।’
राणा शासनविरुद्ध क्रान्ति भइरहेको संक्रमणकालीन समयमा तेह्रथुमबाट क्षेत्री बाहुनहरुको भागाभाग मच्चिएको थियो । यो घटनालाई कतिपयले कांग्रेसले क्षेत्रीबाहुनलाई खेदेको बताउने गरेका छन् । जसले खेदेको भए पनि नेपालमा सम्भवतः यो काण्ड नै सबैभन्दा पुरानो जातीय दंगा हो ।
व्यापारीका रुपमा आठराईमा दोकान खालेर बसेका नेवार समुदायका मास्केहरुका साथै केपी ओली र सीपी मैनाली लगायत कुमाई, क्षेत्री र बाहुन समुदायलाई त्यसबेला कसरी खेदियो ? यसबारे लावतीको पुस्तकमा छोटो विवरण दिइएको छ ।
आठराईका पसलहरुमा लिम्बुहरुले बन्दुक बोकेर लुटपाट मच्चाएको आफूले प्रत्यक्ष देखेको लावतीले पुस्तकमा वर्णन गरेका छन् ।
पूर्वी नेपालको इतिहासमा आठराई क्षेत्रमा भएको यो दंगालाई एउटा त्राशदीपूर्ण घटनाका रुपमा सम्झने गरिन्छ । त्यहाँबाट खेदिएका र डराएर भागेका क्षेत्री बाहुनहरुले झापाको समथर जमीन ढालफाँड गरेर बस्ती बसाए । अहिले त्यहीबाट केपी ओली, कृष्ण सिटौला र सीपी मैनालीहरु देशको ठुल्ठुला ओहदामा पुगेका छन् । खेदिएर धरान झरेका मास्केहरुले पनि आर्थिक प्रगति गरेका छन् । तर, राणाकालमै शिक्षाको अग्रणी भूमि मानिने आठराईको अवस्थामा भने खासै ठूलो परिवर्तन आएको छैन ।
मैनाली भन्छन्- आठराईका बाहुन राणाका पक्षमा थिए
आठराईमा भएको ००७ सालकाे जातीय दंगाबारे एमाले नेता राधाकृष्ण मैनाली भन्छन्- ‘म त्यसबेला ४/५ वर्षको मात्रै थिएँ, केपी ओली त जन्मिएकै थिएनन् । मैले बुझेअनुसार त्यसबेला बाहुनहरु प्रायः राणा शासनको पक्षमा थिए भने लिम्बुहरु चाहिँ राजा त्रिभुवनको पक्षमा थिए ।’
त्यसबेला लिम्बुहरुले क्षेत्रीबाहुनलाई राणाका मतियार भन्दै खेदाएको मैनालीले अनलाइनखबरलाई बताए । उनले भने ‘त्यसबेला लिम्बुहरुले लुटपाट नै गरेका हुन्, तर राजा त्रिभुवन जिन्दावाद भन्दै लुट्ने काम गरे । लिम्बुका घरमा लुटेनन्, क्षेत्री बाहुनका घरमा मात्रै लुटे ।’
बाहुनहरुको चरित्र प्रायः सत्तापक्षमै लाग्ने भएकाले त्यसबेला आठराईका क्षेत्री बाहुनहरु राणा शासनको विरोधमा नलागेको हुन सक्ने मैनालीको तर्क छ ।
तर, त्यसबेला लिम्बुहरुबाट खेदिएका कुमाइ बाहुन र अन्य क्षेत्री बाहुनहरु झापामा बसोबास गर्न थालेको लावतीको भनाइमा भने मैनालीले समर्थन जनाए ।
आठराई काण्डबारे लावतीले पुस्तकमा यसरी वर्णन गरेका छन् :
क्रान्तिको आगो सल्कन लाग्दा राजा त्रिभुवन दिल्ली गए । राणाहरुको सत्ता भत्किने भयो । दिल्लीमा राजा, राणा र कांग्रेसको सम्झौता हुँदैरहेछ । तर, यता लिम्बुहरुले भने मास्केहरुको घर तथा कम्पनी दोकानमा लुटपाट मच्चाउन थाले ।
लुटपाट गर्दै गरेको ठाउँमा म पनि रमिता हेर्न पुगेको थिएँ । मेरो साथमा मसँग पढ्ने साथी चिरञ्जिवी मास्के थिए । लुटपाट गर्नेहरुमा एकजना छत्रबहादुर सम्बाहाम्फे पनि थिए । उनले मलाई बन्दूक ताके । अबचाँहि मार्नेभयो भनेर मनमा चिसो पस्यो । तर, सब्बा भक्तिप्रसाद तुम्बाहाम्फेले यो त हाम्रो भाञ्जा, मेजर कमानसिंहको नाति हो छत्रबहादुरको बन्दूक तल झारेपछि ज्यान जोगियो भनेर लामो सास फेरें ।
लुटपाट जारी रहँदा लिम्बुनीहरुले भने ‘अस्ति हामी राँडी थियौं, अब रानी भयौं’ भन्दै खुशी साटासाट गर्दै लुटे्का सामानहरु लुछाचुँडी गरी ओसारेको दृश्य घण्टौंसम्म बसेर हेरियो । वास्तवमा राणाशासन ढलेर राजा फर्के भन्ने सुनेका कारण लिम्बु समाजमा यस्तो प्रतिक्रिया आएको हुन सक्छ ।
मेरो मावली बाजेको मुण्डे घर थियो । लिम्बुहरुको कुटपिटबाट बचाउन मास्के परिवारलाई मावली बाजेले सोही घरको वीच तलामा सुरक्षा दिएर राख्नुभयो ।
मास्के परिवारले मेरो मावली बाजेलाई जिभनाजु र बोजूलाई दिदी भन्ने गर्थे । उनीहरुका गाई बाख्रा, घोडा लगायतका जनावरहरु मावलीबाजेकै टारबारीमा राखेका थिए । क्षेत्री बाहुनले लिम्बुका घरमा खानुहुँदैन भन्ने रुढीवादी चलन थियो । दाहाल साइँला क्षेत्री भएका कारणले माइजूले उहाँलाई खाना दिँदा कसैले नदेख्नेगरी घुमाउने कोठामा लुकाएर दिनुहुन्थ्यो ।
विध्वंशले उग्ररुप लिन थालेपछि मास्के परिवारलाई घरमा राख्न असहज परिस्थिति सिर्जना हुँदै गयो । गैर लिम्बुहरुलाई संरक्षण दिएको आरोप लागेपछि बाजेलाई पनि घरमा बस्न सक्ने अवस्था भएन । उहाँ राति नै भागेर सिम्राहाघाट -तमोरघाट, धनकुटा) झर्नुभयो । बाजेलाई सिम्राहाघाट कटाउन नौले कामी र शिवप्रसाद आचार्य (अन्तरे बाहुन) राति नै घोडा लिएर सिम्राहाघाट झरे । राति नै घाट तरेर उज्यालो नहुँदै उनीहरुले घोडा घरमा पुर्याएका थिए ।
मावली बाजेकै संरक्षणमा मास्केहरुलाई सिम्राहाघाट हुँदै धरान पुर्याइयो । बाजेले धेरै लाठेहरु साथ लगाएर आफूसँग भएका हात हतियारसहित रातारात ठूलो कठिनाइका साथ घाट तारेर उनीहरुलाई सुरक्षित अवतरण गराउनुभयो ।
मास्केहरुलाई धरान पठाउने बेलामा शेरबहादुर मास्केकी श्रीमती गर्भवती रहिछन् । गर्भवती महिला यहीँ बस भनेर सम्पूर्ण दाजुभाइले कर गर्दा पनि उनी बस्न मानिनन् । जवरजस्ती सँगै हिँडेपछि उनी बाटैमा सुत्केरी भइन् । त्यतिबेला जन्मेकी छोरी अहिले काठमाडौंमा बस्छिन् । पछि मास्केहरु धरानबाट छरिएर कोही बिराटनगरतिर लागे, कोही काठमाडौंतर्फ लागे, कोही त्यहीँ बसे ।
त्यसबेला लिम्बुहरुले तेह्रथुमको जलजले र आठराईमा पूर्वकै सबैभन्दा ठूलो विध्वंश र उत्पात मच्चाएका थिए । लिम्बुहरुलाई दमन गरेको आरोप लागेका केपी शर्मा ओलीको परिवार, आरके मैनालीको परिवार र सीपी मैनालीको परिवारलगायतका धेरै साहुमहाजनहरु यही विध्वंश सहन नसकी आठराईबाट विस्थापित भई झापा झरेका हुन् ।
(पद्मसुन्दर लावती, मेरो देश मेरो परिवेश, पृ.७ – ९)
यो पनि पढ्नुहोस्
सूर्यबहादुर थापाले लिम्बुको किपट मासे : लावती