Comments Add Comment

कटुवाल दहमा देवता लिन घुइँचो

Machhindra-Nath-ko-rath६ वैशाख, काठमाडौं । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथारोहण आज हुँदैछ । ललितपुरको कटुवाल दहमा देवता लिनका लागि विशेष पूजा भैरहेको छ । त्यहाँ स्थानीय समुदाय र श्रद्धालुको घुइँचो छ ।

देवता लिन शनिबार साँझ नै पूजारीसहितको टोली कटुवाल दह पुगेको थियो । पहिले भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौंका तान्त्रिक वन्धुदत्त बज्राचार्य र ललितपुरका ललित ज्यापूले कामारुक्षबाट रातो मच्छिन्द्रनाथलाई ल्याएको प्रतिकको रुपमा कटुवाल दहमा देवता लिन जाने गरिन्छ ।

चाँदीको कलशमा देवता राखेर बुङ्मती पुर्‍याइने छ । कटुवाल दहबाट चाँदीको कलशमा राखेर ल्याइएको देवतालाई बेलुकी साँझ ५ बजेतिर रथारोहण गराइने रातो मच्छिन्द्रनाथका पूजारी विनोद बज्राचार्यले जानकारी दिए ।

रथ निर्माण अन्तिम चरणमा

रातो मच्छिन्द्र नाथको रथ निर्माण अन्तिम चरणमा पुगेको छ । आइतबार मच्छिन्द्रनाथको रथारोहण गर्नुअघि नै रथ निर्माणको सबै काम सक्नुपर्छ । आज रथमा धकी बायम्ब भनिने रथको माथिल्लो ठाउँमा रहने भाग राखिने छ । त्यसपछि मात्रै कटुवाल दहबाट ल्याइएको देवतालाई रथारोहण गराइन्छ ।

रथमा सुनको जलप भएका झ्याल ढोका पनि राखिन्छ । आज नै रथको अगाडिको भागमा रहने लामो काठ -घमा)मा भैरवको अनुहारको आकृति कोरिन्छ । चित्रकार समुदायले भैरवको आकृति बनाउँछन् । भैरवको अनुहार कोरेपछि मात्र घमालाई रथमा जोडिन्छ ।

सबैभन्दा लामो जात्रा

लिच्छवीकालीन राजा नरेन्द्रदेवले रातो मच्छिन्द्रनाथको जात्राको प्रचलन चलाएको इतिहासविदहरु बताउँछन् । यो ललितपुर जिल्लासहित काठमाडौं उपत्यकाकै लामो र सबैभन्दा महत्वपूर्ण जात्रा हो । वैशाख शुक्ल प्रतिपदादेखि शुरु भइ आषाढ शुक्ल चौथीसम्म करिब २ महिनाम्म यो जात्रा मनाइन्छ ।

रातो मच्छिन्द्रनाथको रथलाई ललितपुरका विभिन्न क्षेत्र घुमाउँदै जावलाखेल चोक पुर्‍याएपछि भोटो देखाइन्छ र जात्रा सकिन्छ । भोटो देखाउने दिन काठमाडौं उपत्यकामा सार्बजनिक विदा समेत दिइन्छ ।

भोटो अवलोकन गर्न राष्ट्रप्रमुख सहभागी हुने प्रचलन छ । रातो मच्छिन्द्रनाथलाई बौद्ध र हिन्दू धर्मावलम्वीले साझा देवता मान्दछन् । रातो मच्छिन्द्रनाथलाई काठमाडौं उपत्यकाका संरक्षक तथा प्राणी जगतका पालनकर्ता भगवान लोकनाथ भनिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment