Comments Add Comment

राष्ट्रपतिज्यू, तपाईलाई जाजरकोट दुख्दैन ?

अरुण बराल

राष्ट्रपति डा. रामवरण यादवको कार्यालयले वैशाख ४ गते विभिन्न सञ्चारमाध्यमलाई एकसाथ दुईवटा समवेदना विज्ञप्ति पठायो । खोलेर हेर्दा के लाग्यो भने एउटा समवेदना सूर्यबहादुर थापालाई र अर्को समवेदना जाजरकोटमा औषधि नपाएर मृत्युवरण गरेका नेपालीहरुका नाममा हुनुपर्छ । तर, दुबै पत्र सूर्यबहादुर थापाकै लागिमात्र थिए ।

Letter-of-President-Rambaraराष्ट्रपति कार्यालयले समवेदना वक्तव्य जारी गर्दा सञ्चार माध्यमलाई ‘यो समवेदना छापिदिनुहोला’ भनेर निवेदन लेख्नै पर्दैनथ्यो । किनभने राष्ट्र प्रमुखको वक्तव्यलाई स्थान दिनु मिडियाको पेशागत धर्म नै हो ।

निवेदनपत्रसहित थापालाई समवेदना दिने महामहिम राष्ट्रपतिज्यूले जाजरकोटको महामारीमा मृत्युवरण गरेका र औषधि नपाएर छटपटाइरहेका नेपालीहरुका नाममा एक शब्द खर्च गरेको कतै सुनिएको छैन । विपदमा परेका जनताको क्षेत्रमा हेलिकोप्टर लिएर भ्रमणमा जानु त धेरै टाढाको कुरा हो ।

पूर्वस्वास्थ्यमन्त्री र डाक्टर पनि

डा. रामवरण यादव देशका अभिभावक हुन् । उनी पूर्वस्वास्थ्यमन्त्री पनि हुन् । नेपाल यति भाग्यमानी छ कि हाम्रा राष्ट्रपति लामो समय स्वास्थ्यकर्मीका रुपमा काम गरेका, वीपी कोइरालाको समेत उपचार गरेका व्यक्ति हुन् । यद्यपि हाम्रा राष्ट्रपतिको यो व्यक्तित्व जाजरकोटबासीलाई अहिलेसम्म थाहा नहुन पनि सक्छ ।

तर, शीतलनिवासभित्रै नोना कोइरालाको जन्मोत्सव बनाएर राज्यको पैसाले मिठाई बाँड्ने राष्ट्रपति डा. यादव जाजरकोटमा महामारी फैलँदा किन सम्वेदनशील हुँदैनन् ? संविधानले सेरेमोनियल भूमिका दिँदादिँदै सर्वदलीय बैठक डाक्ने उनी किन, जनता मर्दा मौन बस्छन् ? ताप्लेजुङ जल्दा किन त्यहाँ जाँदैनन् ? सप्तरीमा आगलागी हुँदा किन उनलाई पोल्दैन ? जाजरकोट जान खर्चले साथ नदिए पनि राष्ट्रपतिले वक्तव्यसम्म जारी गर्न सक्थे ।

देशमा महामारी फैलँदा डाक्टर पृष्ठभूमिका राष्ट्रपतिलाई दुख्दैन र बिरामी पृष्ठभूमिका प्रधानमन्त्रीलाई छुँदैन भने यसैबाट प्रष्ट हुन्छ, हाम्रो राज्यव्यवस्था जनताप्रति, जनताको स्वास्थ्यप्रति कति सम्वेदनशील छ ।

कोही जापान जान्छन्, कोही आत्महत्या गर्छन् !

टाढा किन जाने ? जाजरकोटसम्म जानै पर्दैन, काठमाडौंको गंगालाल अस्पतालमा वीपी चिन्तन प्रतिष्ठानका सिन्धुपाल्चोक अध्यक्ष सुरजमान श्रेष्ठले शनिबार मुटुको उपचार गर्ने पैसा नहुँदा झ्यालबाट हामफालेर आत्महत्या गरे । वीपीका हिमायतीहरुले शासन चलाएको कांग्रेस र एमालेको संयुक्त लोकतन्त्रमा योभन्दा अर्को भवितव्यको घटना के हुन सक्छ ?

के वीपी कोइरालाले यस्तैखालको लोकतन्त्रको परिकल्पना गरेका थिए ? के वीपीले परिकल्पना गरेको ‘प्रजातान्त्रिक समाजवाद’मा यसैगरी कांग्रेसजनहरु औषधि गर्न नसकी अस्पतालको झ्यालबाट हाम्फालुन् भन्ने थियो ?

राष्ट्रपति डाक्टर रामवरण यादवको सामान्य पेट दुख्दा राष्ट्रले ६० लाख खर्च गरेर दलबलसहित जापान पठायो । त्यसको गुन उनले जाजरकोटबासीलाई फर्काउनुपर्दैन ?

प्रधानमन्त्री सुशील कोइराला, सत्तारुढ दलका नेता केपी ओलीमात्रै होइन, सर्वोच्च अदालतले भ्रष्टाचारी प्रमाणित गरेका व्यक्तिलाई समेत राज्यकोषबाट लाखौं खर्च गरेेर उपचार गरिएको छ ? राष्ट्रको ढुकुटीलाई आफ्ना पिताको बपौती सम्झने सत्तापक्षका यी नेताहरुले जाजरकोटलाई के गरिरहेका छन् ? घटनाक्रम आफैं साक्षी छ । पीडित जाजरकोटबासीहरु आफैं बताइरहेका छन् ।

जाजरकोट छाडी इण्डोनेसिया ?

जाजरकोटबासीलाई राहत दिन पुग्ने पैसा खर्च गरेर सोमबार प्रधानमन्त्री सुशील कोइराला सोमबार इण्डोनेसिया जाँदैछन् । संविधान बनाउने काम थाती छ, विदेशमा गएर पनि मुख देखाउने अवस्थाचाँहि पटक्कै छैन ।

यद्यपि एशियन-अफ्रिकन मुलुकहरुको सम्मेलनमा सहभागिता निकै महत्वपूर्ण छ । तर, तीनवटा मोवाइलको धनी भएको दुहाइ दिने प्रधानमन्त्री सुशील कोइरालाले यति ठूलो एवं अनावश्यक टोली लिएर फजुल खर्च गर्दा यसले राम्रो सन्देश दिँदैन । र, त्यहाँ जानुपूर्व प्रधानमन्त्रीले एकपटक जाजरकोटको भ्रमण गरेको भए हुन्थ्यो । फ्लु सल्किन्छ भनेर प्रधानमन्त्रीले जनतावीच जान डराउनु राम्रो होइन ।

जनतामा विपत्ति आइलाग्दा राष्ट्र प्रमुख र सरकार प्रमुखहरु सो स्थलमा जाने र पीडितहरुमाथि सहानुभूति प्रकट गर्ने संसारभरिको प्रचलन हो । तर, हाम्रो देशमा लोकतान्त्रिक भनिएका शासकहरु जनताप्रति अत्यन्तै कम सम्वेदनशील देखिने गरेका छन् ।

Rambaran-Yadav,-President-o

डाक्टर राष्ट्रपतिले के गर्न सक्छन् ?

जाजरकोटमा स्वास्थ्यमन्त्री, स्वास्थ्य सचिव गइरहेका छन्, संविधानमै कार्यकारी अधिकार नभएका राष्ट्रपतिलाई गाली किन गर्ने भन्ने कतिपयलाई लाग्न सक्छ, तर एउटा कल्पना गरौं त, राष्ट्रपति रामवरण आफैंले जाजरकोटमा पुगेर स्वास्थ्य केही विरामीको परीक्षण गरुन् त, अन्तरिम संविधानको कुन धाराले छेक्छ ? संविधानमै नभएको धारा प्रयोग गरेर प्रधानमन्त्रीको निर्णय उल्टाउन र बाधा अड्काऊ फुकाउन मिल्छ भने पूर्वस्वास्थ्यकर्मीको नाताले जाजरकोटमा गएर जनताको स्वास्थ्य परीक्षण गर्न राष्ट्रपतिलाई केहीले छेक्दैन ।

सानो देशका राष्ट्रपतिसँग काठमाडौंमा बसिरहनुपर्ने खासै काम छैन । अहिले सरकारले संसदको अधिवेशन पनि बोलाएको छैन । त्यसैले राष्ट्रपतिज्यू, एक दिन भए पनि जाजरकोट जानोस् र केही विरामीको प्रत्यक्ष सेवा गर्नोस् ।

त्यसो गरे पो जनताको राष्ट्रपति । नत्र राजा महाराजाजस्तै भइहाल्यो नि ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment