Comments Add Comment

अपहरण र हत्याको योजनासहित चितवन पुगेका पाँच युवा पक्राउ

६ वैशाख, चितवन । हत्या र अपहरणको योजना बनाएको एक समूहलाई घटना हुनुअगावै पक्राउ गर्न प्रहरी सफल भएको छ ।

वैदेशिक रोजगारका क्रममा ठगिएपछि बदला लिन हत्या गर्ने योजना बनाएर चितवन आएको समूहलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा रोल्पाको उवा ४ का २६ वर्षीय प्रेम रोक्कामगर, दाङको तुल्सीपुर ४ का ३० वर्षीय विशाल घर्तीमगर, सिन्धुपाल्चोकको मेलम्ची ४ का १९ वर्षीय प्रेम तामाङ, मोरङको हसन्दपुर ४ का २१ वर्षीय मयंक शाह र नवलपरासीको कोटथर ३ का २२ वर्षीय मीनबहादुर राना छन् ।

प्रहरीले उनीहरूको साथबाट कटुवा पेस्तोल एक थान, ३०३ गोली राउन्ड एक थान, मुन्द्रा भएको डमी राउन्ड एक थान,फलामे चपर एक थान र ना१ज ३०७० नम्बरको ट्याक्सी नियन्त्रणमा लिएको छ ।

प्रहरी उपरीक्षक सहकुलबहादुर थापाका अनुसार पक्राउ परेकामध्ये रोक्का मगर र घर्तीमगरलाई वैदेशिक रोजगारमा दक्षिण अफ्रिका पठाएको र कानुन विपरीत भएकाले निजहरु त्यहाँ पक्राउ परी नेपाल फर्किएका हुन् । नेपाल फर्किएपछि उनीहरूले विदेश पठाउने व्यक्तिलाई माने कागज गराउने नमाने गोली हानी हत्या गर्ने योजनाका साथ चितवन आएको प्रहरीको दाबी छ ।

उनीहरूले उक्त योजना सफल नभएमा नारायणगढका व्यापारीलाई अपहरण गरी फिरौती असुल गर्ने र असुल नभएमा निजको समेत हत्या गर्ने योजना बनाएको प्रहरीले बताएको छ । योजना अनुसार उनीहरूले व्यापारीसँग भेटघाट गरी कुराकानीसमेत गरिसकेका थिए ।

तर, घटना हुनुभन्दा अगाडि नै शनिबार दिउँसो ४ बजे नारायणी नदी किनारको चौरबाट उनीहरुलाई नियन्त्रणमा लिन सफल भएको प्रहरी उपरीक्षक थापाले बताए ।

अभियुक्तहरुलाई हातहतियार खरखजाना ऐनअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान गरिने प्रहरीले जनाएको छ । हत्याको योजना बनाइएका म्यानपावरका सञ्चालक र व्यापारीको नाम भने प्रहरीले गोप्य राखेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment