Comments Add Comment

कोरिया जान लागेका ३७ नेपाली ठगी प्रकरण छानविन गर्न अख्तियारलाई निर्देशन

६ वैशाख, काठमाडौं । व्यवस्थापिका संसदको सामाजिक न्याय तथा मानवअधिकार समितिले श्रम स्वीकृति लिएर कोरिया जान लागेका ३७ नेपालीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट फर्काइएको घटनामा ठूलो आर्थिक चलखेल भएको आशंका गर्दै छानविन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ ।

फाइल तस्वीर
फाइल तस्वीर

साथै पीडित पक्षलाई क्षतिपूर्ति दिन र ३० दिनभित्र त्यसको जानकारी गराउन समितिले सरकारलाई निर्देशन दिएको छ ।

कोरिया जान लाग्दा आफूहरु ठगिएको भन्दै पीडित युवाहरुले समितिमा उजुरी दिएका थिए । आइतबारको बैठकमा त्यसबारे छलफल गर्न श्रम राज्यमन्त्री टेकबहादुर गुरुङ र पीडित पक्षका २ जना प्रतिनिधिहरुलाई बैठकमा बोलाइएको थियो ।

कोरियाको सिपिङ कम्पनिबाट कामदार माग भइ आएको भन्दै ३७ नेपाली युवाहरुले ८-८ लाख रुपैयाँ बुझाएका थिए । वैदेशिक रोजगार विभागले श्रम स्वीकृति पनि दिएको थियो । तर, पछि कागजपत्र नक्कली भएको खुलेपछि ३७ युवा विमानस्थलबाट फर्कन बाध्य भएका थिए ।

आइतबारको बैठकमा श्रमराज्यमन्त्री गुरुङले सिपिङ कम्पनिले कामदार मागेको भन्ने कुरा भएको बताए । तर, गलत हो भने वैदेशिक रोजगार विभागले सो कम्पनिमा काम गर्न श्रमस्वीकृति किन दियो भन्दै यसमा ठूलो आर्थिक चलखेल भएको आशंका गरेका थिए ।

‘यसमा ठूलो चलखेल भएको हुनसक्छ, त्यसैले यसबारे छानविन गर्न र दोषिलाई कारवाही सिफारिस गर्न अख्तियारलाई निर्देशन दिइएको छ,’ समिति सभापति सुशील कुमार श्रेष्ठले भने, ‘सरकारी निकाय नै ठगी प्रकरणमा मुछिएको यो घटनालाई गम्भीर ढंगले लिएका छौं ।’

वैदेशिक रोजगार विभागकै मिलेमतोमा युनाइटेड कन्सलटेन्सी म्यानपावर कम्पनिबाट ठगिएको भन्दै गत विहीबार ३७ युवाहरुले समितिमा लिखित उजुरी दिएका थिए । श्रम स्वीकृति आए-नआएको जानकारी कामदारहरुले ४००१ मा एसएमएस गरेर पाउँछन् । त्यसपछि मात्र रकम बुझाउन भनिएको छ । एसएमएस पाएपछि ३७ युवाहरुले ८ लाख रुपैयाँको दरले रकम बुझाएका थिए । तर, कामदार माग्दै नमागेको कोरियाली कम्पनिको नाममा वैदेशिक रोजगार विभागले कसरी एसएमएस मार्फत् ‘ओके’ भएको जानकारी दियो भन्ने गम्भीर प्रश्न उब्जिएको समितिले ठहर गरेको छ ।

‘श्रम स्वीकृति कसरी दिइयो ? यसले ठगीको ठूलै जालो संस्थागत रूपमा क्रियाशील रहेको देखाउँछ,’ सभापति श्रेष्ठले भने ।

समितिको बैठकले वैदेशिक रोजगारमा जाँदा अपनाउनु पर्ने प्रक्रिया के हो र कहाँ सम्पर्क गर्दा ठगिँदैन भन्ने कुरा सर्बसाधारणलाई दिन देशभर चेतनामूलक काम गर्न पनि सरकारलाई निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment