Comments Add Comment

एसएलसीको कापी जाँच्दा यस्तो लापरवाही (तस्वीरसहित)

६ वैशाख, काठमाडौं । एसएलसीको उत्तरपुस्तिका कसरी जाँच भइरहेको छ भनेर बुझ्न अनलाइनखबरको टोली आइतबार दिउँसो काठमाडौंको एउटा विद्यालयमा पुग्दा त्यहाँको अवस्था भद्रगोल थियो ।

SLC Copy Checking

प्रधानाध्यापकको कोठामा एक निजी विद्यालयका शिक्षक भन्दै थिए, ‘मैले पनि एसएलसीको कापी काट्न पाउँछु कि….’
पारिपट्टिको  भवनमा निकै ठूलो भीड देखियो । अनलाइनखबरको टोली त्यतै लाग्यो । क्यामेरा हातमा बोकेर माथ्लो तलासम्म चढ्दा कसैले को हो, किन आएको भनेर सोधखोज, छेकबार वा चेकजाँच गरेन ।

सेतो कपडामा पोको पारिएका एसएलसीका उत्तरपुस्तिकाले कोठाहरु भरिभराऊ थिए । यस्तो लाग्थ्यो कि यो ठाउँ ढ्डडाले भरिएको कुनै माल अड्डा हो ।

कोठाभित्र उत्तरपुस्तिका जाँच गर्नेहरु मस्त थिए । उनीहरुले साथमा मोबाइल बोकेका थिए, आफ्ना ब्यागहरु पनि उत्तरपुस्तिकाको छेवैमा राखेका थिए । कोही आपसमा हाँसिरहेका थिए, कोही चुप लागेर कापी जाँचिरहेका थिए ।

एउटा कोठामा कापी जाँच्न माग्नेहरुको भीड ठेलाम ठेल थियो । कोही पोको बोकेर कोठातिर छिरिरहेका थिए । कापी जाँच्ने ठाउँसम्म सबैलाई खुल्ला प्रवेश दिइएको थियो । न कोही आउँदा चेकजाँच गरिन्थ्यो, न फर्कँदा उनीहरुको झोला खोतलिन्थ्यो ।

‘एसएलसीको कापी जाँच्ने संवेदनशील ठाउँमा किन यस्तो लापरवाही ?’ अनलाइनखबरकर्मीले सहभागीमध्येका एकलाई प्रश्न गर्‍यो, ‘यसरी जो पनि प्रवेश गर्न पाउने हो भने गडबडी हुँदैन ? कसैले आगो लगायो या मसी छर्किएर भाग्यो भने के हुन्छ ? सुरक्षागार्ड र चेकजाँच खोइ ?’

कर्मचारीले जवाफ दिए ‘गेटमा एकजना पाले राखेका छौं ।’

तर, विद्यालयका पालेले चाँहि भर्ना गर्न भन्दै विद्यालयभित्र छिर्ने मोटरसाइकललाई निर्वाध प्रवेश दिइरहेका थिए । भर्नाबारे बुझ्न आएका व्यक्तिलाई कापी जाँचेको ठाउँसम्म जान कुनै अवरोध थिएन ।

SLC Copy Checking (2)

३६ बुँदे आचारसंहिता लागू भएन

एसएलसी परीक्षाको कापी जाँच्ने काम शनिबारदेखि देशभरि सुरु भएको छ । कापी जाँच्नका लागि देशभरका ६४ केन्द्र तोकिएका छन् । यसरी उत्तरपुस्तिका जाँच्ने विषयगत शिक्षक शिक्षिकाहरुका लागि ३६ बुँदे आचारसंहिता समेत बनेको छ । तर, जाँच केन्द्रमा आचार संहिता उल्लंघन भएको पाइएको छ ।

उत्तरपुस्तिका जाँच्नेहरुलाई ३६ बुँदे आचारसंहिता पनि थमाइएको हुन्छ । सो आचार संहितामा कापी जाँच्ने कोठाभित्र कुनै पनि प्रकारका ब्याग र मोबाइल बोक्न नपाइने स्पष्ट उल्लेख छ ।

तर, पाठकहरुले तस्वीरमा हेर्न सक्नुहुन्छ, उत्तरपुस्तिका जाँच्नेले आफ्ना ब्याग आफूसँगै राखेर कापी जाँच गरिरहेका छन् । उनीहरुले मोबाइलमा खिच्न या झोलामै उत्तरपुस्तिका बोकेर घर लैजान चाहेमा पनि सक्ने स्थिति देखिएको छ ।

SLC COPY CHECKING with Bags

आचार संहिता पालना नगर्नेलाई कारवाही हुन्छ : परीक्षा नियन्त्रक

‘हामीले दिएको ३६ बुँदे आचार संहितामा स्पष्ट ब्याग लैजान र मोबाइल बोक्न बर्जित छ,’ परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले अनलाइनखबरसँग भने, ‘त्यसको पालना नगर्नेहरु कारवाहीका भागिदार हुन्छन् ।’

एसएलसी परीक्षा सकिएको तीन महिनाभित्र नतिजा सार्बजनिक गर्ने तयारी अनुसार काम भैरहेको परीक्षा नियन्त्रक द्वारेले बताए । यस वर्षको एसएलसी परीक्षा चैत १६ गतेसम्म थियो ।

उनका अनुसार देशभरका ६३ र परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा एक केन्द्र गरी ६४ केन्द्रमा एसएलसीको कापी परीक्षण भैरहेको छ ।

SLC COPY CHECKING with Bags 2

राम्रो कमाइ

परीक्षकहरुले एउटा कापी जाँचेको २० रुपैयाँ पाउँछन् । कापी जाँच्ने पेशा शिक्षक शिक्षिकाहरुका लागि कमाइको राम्रो आधार बनेको छ ।

यस वर्ष कापी जाँचिसकेपछि आफ्नो पूरा नाम र हस्ताक्षर अनिवार्य गर्नुपर्ने यसपालि नयाँ नियम बनाइएको छ । यसअघि हस्ताक्षर मात्रै गरिन्थ्यो । यसैगरी सम्परीक्षकले पनि आफ्नो नाम र हस्ताक्षर अनिवार्य गर्ने नियम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment