Comments Add Comment

बैंकमा पैसा राख्ने हो ? ब्याजदर बढ्दैछ

पुष्प दुलाल

७ वैशाख, काठमाडौं । तपाई आफूले कमाएको रकम बैंकमा राख्ने सोचमा हुनुहुन्छ भने तपाईलाई खुशीको खबर छ ।, केही साताभित्रै बैंकहरुले ब्याजदर बढाउँदैछन् ।

तर, तपाई ऋण लिने सोचमा हुनुहुन्छ भने छिटो गर्नुहोस् । किनभने एक सातापछि निक्षेपको ब्याजदरसँगै कर्जाको ब्याजदर पनि बढ्दैछ ।

Intrest rate

बैंकहरुसँग लगानीयोग्य रकम (तरलता)  कसिलो (टाइट) भएपछि आफ्नो लगानी गर्न सक्ने क्षमता बढाउन निक्षेप आकषिर्त गर्ने रणनीतिमा छन् । निक्षेप आकर्षणका लागि ब्याजदर बढाउनु बैंकहरुको बाध्यता हो ।

‘बैंकहरुलाई लगानीयोग्य रकम राख्ने दबाव छ, यसका लागि निक्षेप बढाउनुको विकल्प छैन ।’ बैंकर्स संघका निवर्तमान अध्यक्षसमेत रहेका सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीले अनलाइनखबरसँग भने- ‘बैंशाख महिनामै निक्षेपको ब्याज दर बढ्छ ।’

बैंकहरुले अहिले दिइरहेको ब्याजदरभन्दा कम्तिमा एकदेखि दुई प्रतिशतसम्म ब्याजदर बढ्न सक्ने भण्डारीको अनुमान छ । बैंकहरुबीच निक्षेप तान्ने प्रतिस्पर्धा हुँदा ग्राहकलाई फाइदा पुग्ने उनको भनाइ छ । ‘हाम्रो (सिटिजन) बैंकले केही दिनमै व्याजदर बढाउने छ’ उनले भने ।

तीन वर्षदेखि बैंकिङ क्षेत्र लगातार लगानीयोग्य पुँजीको पर्याप्ता (अधिक तरलता) को चापमा रहेकाले बैंकले ब्याजदर घटाउँदै आएका थिए । जसकारण निक्षेपकर्ताहरु घट्दो ब्याजदरको मारमा परेका थिए ।

पैसा हुँदा-हुँदै पनि लगानी गर्न नसक्नु अधिक तरलता हो भने लगानी गर्ने पैसा नहुनु तरलता अभाव हो ।

तरलता कसिलो मात्रै नभई बैंकहरुको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) सीमा नाघ्ने अवस्थामा रहेकाले बैंकहरुले निक्षेप तान्न जोड दिएको प्रभू बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन बताउँछन् ।

‘अहिले बैंकिङ क्षेत्रको औषत सीडी रेसियो ७९ प्रतिशत छ, राष्ट्र बैंकले यस्तो रेसियो ८० प्रतिशतभन्दा बढी राख्न हुँदैन भनेको छ ।’ शेरचनले भने -त्यसैले सीडी रेसियो मेन्टेन गर्न निक्षेप बढाउनुपर्ने तीब्र दबाब छ ।’

हाल बैंकहरुले निक्षेपमा दिने औषत ब्याजदर ३.९९ प्रतिशत छ । गत पुसमा ३.७५ प्रतिशत थियो भने ०७१ असारमा ४.०९ प्रतिशत दिन्थे । ०६९ असारमा यस्तो ब्याजदर ६.९९ प्रतिशत थियो ।

चालु आर्थिक वर्षको असार मसान्तसम्म बैंकहरुको निक्षेपमा औषत ६ प्रतिशतसम्म व्याज दिन सक्ने बैंकरद्वय राजभण्डारी र शेरचनको आश्वासन छ । ‘असारसम्म ब्याजदर बढ्छ, त्यसपछि बैंकहरु निक्षेप आकर्षण गर्नभन्दा कर्जा प्रवाहतर्फ केन्दि्रत हुने भएकाले ब्याजदर स्थिर रहने विश्लेषण गर्न सकिन्छ ।’ उनीहरुको विश्लेषण छ ।

राष्ट्र बैंकसँग गुनासो

तर, राष्ट्र बैंकले स्प्रेड दर पाँच प्रतिशत तल राख्नु भनेपछि व्यवसायको आकार बढे पनि सोअनुसार नाफा बढ्न नसकेको राजभण्डारी बताउँछन् । ‘गत वर्षकोभन्दा सिटिजन बैंकको निक्षेप ९ अर्बले र कर्जा ७ अर्ब रुपैयाँले बढेको छ ।’ उनले भने- तर, कारोबार बढेको तुलनामा बैंकको आम्दानी बढेको छैन ।’

स्प्रेडका कारण बैंकको नाफामा करिब ३० प्रतिशत कम भएको उनको दाबी छ ।

ब्याज बढ्नुको कारण बजारशास्त्र

अर्थशास्त्रको नियमले पनि नेपाली बैंकहरुले ब्याजदर बढाउनुपर्ने बाध्यतामा परेका छन् । बजारशास्त्र अनुसार आपूर्तिभन्दा माग बढी भएपछि मागको सम्बोधन गर्ने अस्त्र प्रयोग गर्न बैंक बाध्य भएका हुन् । अहिले बैंकहरुको कर्जाको वृद्धिको अनुतापमा निक्षेपको वृद्धि कम छ । कर्जाको अनुपातमा निक्षेप बढाउने बलियो औजार व्याजदरको वृद्धि नै हो ।

त्यसबाहेक अर्थशास्त्रको नियमअनुसार सामान्यतया मुल्यवृद्धिभन्दा निक्षेपको व्याजदर बढी हुनुपर्छ । किनभने निक्षेपको व्याजदर आम्दानी हो भने मूल्यवृद्धि खर्च हो । खर्चभन्दा आम्दानी बढी भयो भने मात्रै आर्थिक हिसाबमा सन्तुलन पनि मिल्छ ।  जुन नियम अहिले नेपाली बैंकिङ क्षेत्रमा लागू भएको छैन ।

कुन बैंकले कति व्याजदर दिइरहेका छन ?

बैंक  बचत निक्षेपको व्याजदर (%)मा मुद्दति निक्षेपको व्याजदर (%)मा
स्टान्डर्ड चाटर्ड 1.75-2.75 0.5-3
कृषि विकास बैंक 2.75-4.75 3.75-6
ीसद्धार्थ बैंक 2-4 2.5-5.5
सनराइज बैंक 3.5-4.5 4-5.75
ग्लोबल आइएमइ 2-4 2-5
सानिमा बैंक 3.5-4 3-5.5
बैंक अफ काठमाण्डू 2-4 2-6
माछापुच्छ्रे बैंक 2.5-4.5 3-5.5
इन्भेष्टमेन्ट 2-4 2-4.5
नविल बैंक 2.85-4.35 1.25-4.5
लुुम्बिनी बैंक 2.5-4.5 3-4.5
प्राइम बैंक 2-4 3-5
ीहमालयन बैंक 2-3.5 2.75-4.25
एनबी बैंक 2.75-4 2.75-5
नेपाल बैंक 1.75-3.25 4.5-6
एनएमबी बैंक 3.5-5.5 4-6.5
जनता बैंक 3-5 2-7.5
सेञ्चुरी बैंक 2-5.5 3-6
मेगा बैंक 1.5-4 2-4
एनसीसी बैंक 3.25-4.75 2.5-5.5
कुमारी बैंक 2.25-4.25 2-5.5
लक्ष्मी बैंक 2-4.5 4-5.5
राष्ट्रिय वाणिज्य बैंक 1.75-3 3-4.5

न्यून ब्याजदर चिन्ताको विषय

निरन्तर घटिरहेको ब्याजदर चिन्ताको विषय बनेको राष्ट्र बैंकका निवर्तमान गभर्नर डा. युवराज खतिवडाले सार्वजानिकरुपमै बताउँदै आएका छन् ।

भारतीय बैंकहरुको भन्दा नेपाली बैंकहरुको व्याजदर निकै कम भएकाले भारततर्फ पुँजी पलायनको खतरा बढेकोप्रति चिन्ता व्यक्त गर्दै खतिवडाले आफू गभर्नर हुँदै बैंकहरुलाई ब्याजदर बढाउन आग्रह गरेका थिए । ‘पुँजी पलायनको खतरा रोक्न निक्षेपको ब्याजदर बढाउनुको विकल्प छैन भनेर मैले बैंकहरुलाई भनिसकेको छु ।’ खतिवडाले अनलाइनखबरसँग भनेका थिए ।

तर, ब्याजदरका विषयमा नयाँ गभर्नर डा. चिरञ्जीबी नेपालले आफ्नो धारणा सार्वजनिक गरेका छैनन् । तर, गभर्नरनिकट स्रोतका अनुसार डा. नेपाल पनि ब्याज बढाउनुपर्छ भन्ने पक्षमै छन् ।

तरलता संकुचनको कारण

बैंकहरुसँग लगानीयोग्य पुँजी कसिलो हुनुको मुख्य कारण सरकारी खर्च नबढ्नु हो । आर्थिक वर्षको ९महिना वितिसक्दा पनि सरकारले एकतिहाइ मात्रै विकास खर्च गरेको छ । अर्ब बढी रकम सरकारी ढुकुटीमै थन्किएकाले बजारमा पैसाको सीमितता देखिएको बैंकरहरु बताउँछन् ।

सरकारले केही विकास खर्च बढाए पनि त्यो रकम बजारका लागि पर्याप्त नभएकाले बजारको पैसा खिच्न व्याजदर बढाउनै पर्ने जानकारहरु बताउँछन ।

जनता बैंकको बढी, स्टान्डर्ड चाटर्डको कम

नेपालमा हाल सञ्चालनमा रहेका ३० बैंकहरुमध्ये नयाँ र साना बैंकले निक्षेपकर्तालाई बढी व्याज दिइरहेका छन् भने ठूला र पुराना बैंकले कम व्याजदर दिइरहेका छन् ।

अहिले निक्षेपकर्तालाई सबैभन्दा बढी ब्याज जनता बैंकले दिन्छ । जनताले बचत खातामा ३ देखि ५ प्रतिशतसम्म र मुद्दति खातामा २ देखि ७.५ प्रतिशतसम्म ब्याज दिने जनाएको छ ।

त्यसैगरी, निक्षेपकर्तालाई सबैभन्दा कम व्याज स्टान्डर्ड चाटर्ड बैंकले दिन्छ । बैंकले बचत खातामा १.७५ प्रतिशतदेखि २.७५ प्रतिशतसम्म र मुद्दति खातामा ०.५ प्रतिशतदेखि ३ प्रतिशतसम्म ब्याज दिँदै आएको छ ।

यो पनि पढ्नुहोसकुन बैंकले कति प्रतिशतमा घरजग्गा ऋण दिँदैछन् ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment