Comments Add Comment

साहित्यमा ०७१ सालको नालीबेली

७ वैशाख, काठमाडौं । हरेक हप्ता सरदर १० वटा पुस्तक प्रकाशित भए पनि ०७१ साल नेपाली साहित्यवृत्तका लागि धेरै उपलब्धिपूर्ण नदेखिएको केही लेखकहरुको गुनासो छ । तर, ०७१ सालमा विभिन्न विधाका पुस्तकहरु भने धेरै नै छापिए । केही नयाँ प्रकाशनगृह पनि जन्मिए ।

यही वर्ष डा. माधवलाल कर्माचार्य, शिवप्रसाद सत्याल पीठ, निबन्धकार गणेशबहादुर प्रसाई, लोकलयका अन्वेषक धर्मराज थापा, गीतकार क्षेत्रप्रताप अधिकारी, उपन्यासकार सुवास घिसिङ, गजल विधाका प्रतिभा कौशला लामिछाने, पूर्वसचिव समेत रहेका नियात्राकार श्रीकृष्ण गौतम, नेपाल भाषाका माधव मूल लगायतलाई नेपाली साहित्य वृत्तले सधैंका लागि गुमाउन पुग्यो । इलाम निवासी कवि विमल प्रधानले आत्महत्या गरे ।

Saya,-Raktabij-and-Acchargaचर्चाको दृष्टिले ०७१ सालमा मदन पुरस्कार प्राप्त सुदिप श्रेष्ठको घोस्ट राइटिङ प्रकाशक रहेको राधा पौडेलको ‘खलंगामा हमला’, रुकमांगत कटवालको आत्मकथा, विजयकुमारको खुशी र सुबिन भट्टराईको उपन्यास साया सामान्यतः अगाडि नै देखिए ।

हास्यब्यङ्ग्यकार नरेन्द्रराज पौडेलको संस्मरणात्मक कृति ‘सिडिओका १७ वर्ष’, डा. भीमार्जुन आचार्यको ‘कानुन र राजनीति’ कुमार नगरकोटीको फुटकर लेखहरुको संग्रह ‘अक्षरगंज’ र पुष्कर शाहको ‘संसारलाई साढे पाँच फन्को’ चर्चा र बिक्रीका दृष्टिले ठीकै रहे ।

गएको वर्ष उपन्यासका लागि भने निराशाजनक नै रहृयो । जनयुद्धका अनुभवी दीपशिखाको ‘रात फुलेको याम’, आन्विका गिरीको ‘मान्छेको रङ’, कल्पना बान्तवाको ‘कायाकल्प’, कमल रिजालको ‘पृथा’, पूर्वमाओवादी नेता रवीन्द्र श्रेष्ठको ‘उदास शनिवार’ कृष्ण अविरलको ‘रक्तबीज’ र सुबिन भट्टराईको ‘साया’ ०७१ सालका उपन्यास हुन् ।

कथा विधामा निरुपा प्रसूनको ‘तिम्रो लोग्ने र म’, नव सिलवालको ‘थोत्रो छाता’, अमर शाहको ‘कुरुक्षेत्र’, डोरबहादुर बिष्टको ‘डोरबहादुर बिष्टका कथा’, रत्नमणि नेपालको ‘सँगसँगै’ बजारमा आए ।

अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त भनेर बजारमा आएको प्रज्ज्वल पराजुलीको ‘गोर्खाकी छोरी’ र श्याम शाहको ‘अब्बा’ पनि यसवर्षका कृति हुन् । डा. रवीन्द्र समीरको हालै प्रकाशित ‘एकलब्य दृष्टि’ र उपेन्द्र सुब्बाको ‘लाटो पहाड’ का बारेमा पाठक प्रतिक्रिया आउनै बाँकी छ ।

कविताका लागि पनि ०७१ साल खासै उत्साहजनक रहेन । कविहरु स्वयम्ले अरुका कृति नपढ्ने भएर होला प्रकाशकहरु कविता-कृति प्रकाशित गर्न अघि सरेनन् । बीबीसी सम्बद्ध पत्रकार रवीन्द्र मिश्रको कवितासङ्ग्रह, लक्ष्मण गाम्नागेको हास्यब्यङ्ग्य कवितासंग्रह पत्याउँदा पत्याउँदै र एमाओवादी नेता आहुतिको ‘गहुँगोरो अफ्रिका’ले मात्रै बजारमा उपस्थिति जनाए । भैरव अर्यालका छरिएका रचनाहरुको संग्रह ‘राजीनामा’लाई अपवाद राख्ने हो भने हास्यब्यङ्ग्य निबन्ध लगभग शून्य रहृयो ।

Khalnaga-ma-Hamal,गएको वर्ष संस्मरणात्मक कृतिको उपस्थिति भने राम्रै रहृयो । शिक्षा मन्त्रालयकी उपसचिव उषा हमालको संस्मरणात्मक कृति ‘सगऔल अजरबैजान’, हास्यब्यङ्ग्यकार नरेन्द्रराज पौडेलको संस्मरणात्मक कृति ‘सिडिओका १७ वर्ष’, गाली पंण्डितको रुपमा आलोचित खगेन्द्र संग्रौलाको ‘बाल्यकालका पदचाप’ आदि यस वर्षका उपलब्धी रहे ।

मदन पुरस्कार प्राप्त लेखक राजन मुकारुङको ‘फेरिंदो सौन्दर्य’पनि यसैवर्ष बजारमा आयो । फरक जीवन बाँचिरहेका मानिसहरुका बारेमा पत्रकार कृष्णमुरारी भण्डारी लिखित ‘मान्छेका रङ’ पनि पाठकका वीचमा आयो ।

युरोपमा कहर भोगिरहेकाहरुका बारेमा लेखिएको ददि सापकाटोको ‘दुखेको युरोप’ पनि यसै वर्षको कृति हो । पत्रकार सौरभको संकलित कृतिहरुको संग्रह ‘असहमति’, ५५ जनाको सफलताको कथा समेटिएको कमल ढकालको ‘गो अ हेड’, वारेन बफेट, मलाला, नरेन्द्र मोदी, स्टिफन हकिङ आदिका जीवनीलेख्नेहरु पनि बजारमा देखिए ।

थपिएका प्रकाशन गृह

प्रकाशन गृहको आगमनका दृष्टिले भने गएको वर्ष उपलब्धिमूलक रहृयो । पुरानो संस्था साझा यसै वर्ष घोषितरुपमा मृत्युशैया पुगे पनि अनि याम्बुरी बुक, पैरबी बुक हाउस र शब्दहार पूरै सुस्ताए पनि ६ वटा नयाँ प्रकाशनगृह बजारमा देखा परे । बुक हिल, ‘लिपि बुक’, घोस्ट राइटिङ, ‘मञ्जरी प्रकाशन’ ‘माइलस्टोन’ आदि नयाँ प्रकाशन संस्थाहरु जन्मिएका छन् ।

जनक सापकोटाको ‘जीवन कतिपय’, विश्वबन्धु थापाको आत्मकथा, किशोर नेपालको ‘कान्तिपुर गाथा’ लगायतका पुस्तक लिएर लिपि बुक्स बजारमा देखियो । दिवास्वप्नका लेखक गिजुभाइको ‘हामी आमाबुवा’बाट बजारमा ‘सिकाइ समूह’ आएको छ ।

अब नयाँ वर्षको परीक्षा

अब नयाँ वर्षको शुरुमै ‘करोडौ कस्तुरी’ मार्फत् मदन पुरस्कार प्राप्त अर्का लेखक अमर न्यौपानेको परीक्षा हुँदैछ । बुद्धिसागरको ‘फिरफिरे’, नारायण ढकालको ‘बृषभ बध’, सुबिन भट्टराईको ‘मनसुन’, अश्विनी कोइराला ‘जुकरवर्ग क्याफे’ मार्फत् तौलिइँदैछन् ।

नीलम कार्की नीहारिका, नयनराज पाण्डे, उमा सुबेदी आदि पनि पाठकका लागि प्रतिक्षित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment