Comments Add Comment

एनएसीले गर्‍यो हवाइ इन्धनमा १६ करोड अनियमितता

nepal-airlines

७ चैत, काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (एनएसी)ले हवाइ इन्धनमा अनियमितता गरेको भेटिएको छ । निगमले धेरै इन्धन खपत भएको देखाएर अनियमितता गरेको महालेखा परीक्षकको कार्यालयले भेटाएको हो ।

हवाइ इन्धनमा निगमले १६ करोड ६१ लाख रुपैयाँ अनियमितता गरेको महालेखाले जनाएको छ । निगमले १५ लाख ३१ हजार २ सय लिटर इन्धन खपतको पुष्ट्याईं गर्न नसकेको महालेखाको हालै सार्वजनिक वाषिर्क प्रतिवेदनमा उल्लेख छ ।

विमान अपरेशन म्यानुयलमा उचाई र जहाजको तौलका आधारमा निगम फरक-फरक परिमाणमा इन्धन खपत हुने बताउँछ । औषत ३५ हजार फिटको उचाईमा ९५ टनको जहाजले प्रतिघण्टा ३.६१ टन इन्धन खपत गर्ने नम्र्स रहेको छ ।

तर, निगमले प्रतिघण्टा ४.०१ टन इन्धन खपत भएको देखाएको महालेखाले जनाएको छ । महालेखाका अनुसार निगमले प्रतिघण्टा ०.४ टनका दरले बढी इन्धन खपत भएको देखाई अनियमितता गरेको छ ।

निगमले गत आर्थिक वर्षसम्म दुईवटा बोइङबाट अन्तर्राष्ट्रिय उडान गर्दै आएको थियो । सो वर्ष एउटा बोइङले ३२६१.३ घण्टा र अर्को बोइङले २४७७.०९ घण्टा गरी ५७३३.३९ घण्टा उडान गरेका छन् ।

यो उडानमा निगमले २३०५७.१६ टन इन्धन खपत भएको देखाएको छ । प्रतिघण्टा ३.६१ टनका दरले २०७६३.८१ टन इन्धन खपत हुनुपर्ने थियो । तर, प्रतिघण्टा ०.४ टनका दरले २२९३.३५ टन इन्धन बढी खपत भएको देखाएको महालेखाले जनाएको छ ।

महालेखाका अनुसार काठमाडौं-बैंकक र काठमाडौं-हङकङ उडानमा स्थलगत परीक्षण गर्दा प्रतिघण्टा ३.८ टन इन्धन खपत भएको देखियो । स्थलगत परीक्षणको आधारमा प्रतिघण्टा औषत ०.२१ टनका दरले १५ लाख ३१ हजार २ सय लिटर इन्धन बढी खपत भएको छ ।

प्रतिलिटर औषत १०८ रुपैयाँ ५० पैसाको दरले १६ करोड ६१ लाख रुपैयाँ पर्ने महालेखाको ठहर छ । नेपालमा हवाइ इन्धनको मूल्य प्रतिलिटर १३८ रुपैयाँ रहेपनि विदेशमा मूल्य कम पर्ने हुँदा औषत दर १०८ रुपैयाँ राखिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment