Comments Add Comment

कविता : वसन्त महिमा

Sunil-Anukulवसन्त आयो कोइली महिमा कसलाई थाहा छैन ।

बैशाख आयो खुशियाली महिना कसलाई चाहा छैन ।।

हिमाल चुली कोइलीको बोली अरुण झैँ सुसाउँछ ।

मयुर जोडी पखेटा छोडी वायु भैं खुसाउँछ ।।

गाउँ र घर रमाइलो शहर नलगाउ नजर ।

देउराली झर घमाइलो प्रहर त्यो चम्पे बजार ।।

पालुवा आउँदा बैशालु हुन्छ त्यो घना जङ्गल ।

लाहुरे आउँदा पैसालु हुन्छ त्यो  कान्छो मङ्गल ।।

धनकुटा हिले मन माया मिले काम कुरो गरौंला ।

फूल बुट्टा मिले राम छायाँ गर्दै धरानै झरौला ।।

इटहरी बजार तरुनी हजार मोजमस्ती गरौंला ।

तन्नेरी नजर डुलाउने बेला खोज गस्ती गरौंला ।।

भोजपुर जाँदा चरीको बास देखियो स्याउलीमा ।

बाटोमा हिड्दा परीको पास भोगियो प्याउलीमा ।।

गुराँस फुल्दा माहुरी भुल्दा आनन्द हुन्छ नि ।

बादल खुल्दा न्याउली झुल्दा सन्तुष्टि हुन्छ नि ।।

सधैंभर रहोस् वसन्त ऋतु म महिमा गाउने छु ।

जीन्दगीभरलाई साथ दिने भए म माया लाउने छु ।।

वसन्त जाँदा उजाड हुन्छ यो धर्ती किन हो ।

पिरती लाउँदा विछोड हुन्छ यो अर्ती दिन हो ।।

जीवनमा सधैं वसन्त छाओस् यो प्यारो धर्तीमा ।

जोवनमा अझै स्फूर्ति आवोस् त्यो गाह्रो भर्तीमा ।।

मकालु हिमाल डाँफे नाच्दा मुस्कान छर्दछ ।

नसालु रिमाल आफै बाच्न वसन्त डाक्दछ ।।

नछोड मलाई वसन्त कहिल्यै म एक्लै हुनेछु ।

वर्ष दिनभरी प्रतिक्षा गर्दै बादल भै रुनेछु ।।

– सुनिल अनुकूल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment