Comments Add Comment

बागलुङमा लघुउद्यमीको संख्या बढ्दै

७ वैशाख, बागलुङ । लघु व्यवसायबाट आयआर्जन हुन थालेपछि बागलुङमा उद्यमीको संख्या बढ्दो छ ।

उद्यमशीलताले विपन्न परिवारको आर्थिक, सामाजिक अवस्थामा सुधार ल्याएको छ । लघुउद्यम विकास कार्यक्रम चलेपछि उद्यमी सिर्जना हुने क्रम बढेको छ । जिल्ला लघुउद्यमी समूह संघका अनुसार कार्यक्रम सुरु भएदेखि हालसम्म एक हजार १६४ जना लघुउद्यमी रहेका छन् ।

संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रमको आर्थिक तथा प्राविधिक सहयोगमा उद्योग मन्त्रालयमार्फत २०६५ सालदेखि लघुउद्यम विकास कार्यक्रम सुरु भएको हो । लघुउद्यमबाट गरिबीको रेखामुनि रहेका १३४ परिवार माथि उठ्न सफल भएको सङ्घका अध्यक्ष रुद्रकुमारी थापाले बताए । उद्यम सञ्चालन गरेपछि आयव्यय पनि वृद्धि हुँदै गएको छ ।

उद्यमीहरु स्थानीय वस्तुको उत्पादन, प्रवद्र्धन र बजारीकरणमा सक्रिय छन् । उनीहरु च्युरीको साबुन, अल्लोको कपडा, सिस्नोको धुलो, ढाका, सल, साडी, झोलालगायतका वस्तुको उत्पादन गरिरहेका छन् ।

कपितय वस्तु विदेशमा समेत निर्यात भइरहेको छ । लघुउद्यमी समूह सङ्घले ११ वटा बजार केन्द्रअन्तर्गत ४४ वटा गाविस र एक नगरपालिकामा काम गरिरहेको अध्यक्ष थापाले जानकारी दिए ।

‘उद्यम तथा सीप विकास तालिम दिइरहेका छाैं, प्रविधि पनि हस्तान्तरण गर्छौं अध्यक्ष थापाले भने- ‘लघु कर्जा, बजार प्रवद्र्धन र संस्थागत विकासका लागि सहयोग गरिरहेका छौँ ।’ विपन्न समुदाय र वर्गको आर्थिक उत्थानका लागि कार्यक्रम सञ्चालन हुँदै आएको उनले बताए ।

लघु उद्यमले सफल व्यक्तिलाई पुरस्कृत पनि गर्दै आएको छ । ग्रामीणस्तरमा लघु उद्यमी समूह र बजार केन्द्रअन्तर्गत उद्यमी समूह सङ्घ क्रियाशील छ । स्थानीय स्रोत, सीप र प्रविधिको उपयोग बढ्दै गएको छ ।

लघु उद्योगको सङ्ख्या समेत बढ्दै गएको घरेलु तथा साना उद्योग विकास समितिका निर्देशक विश्वप्रेम ढकालले बताए । उनले लघु उद्यमीले गुणस्तरीय वस्तु उत्पादनमा जोड दिनुपर्ने बताए ।

‘बजारीकरणका लागि उत्पादनको गुणस्तर कायम हुनुपर्छ, लघु उद्यमी बजारको प्रतिस्पर्धामा आउनुपर्छ’ निर्देशक ढकालले भने- ‘गाउँ–गाउँमा लघु उद्योग खुल्दा त्यस ठाउँको आर्थिक समृद्धिमा समेत टेवा पुगेको छ ।’ रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment