Comments Add Comment

एउटै मुद्दा लड्दै तीन पुस्ता

८ बैशाख, ताप्लेजुङ । ताप्लेजुङ नगरपालिका-४ का भट्टराई परिवार १९५० सालदेखि आफ्नो नाममा रहेको करिब सात रोपनी जग्गा भोगचलन गर्न नपाएर अदालतमा धाइरहेको छ। परिवारको तीन पुस्ता अदालती मुद्दामै बितिसकेको छ।

विभिन्न स्तरका अदालतले भट्टराई परिवारकै पक्षमा मुद्दा फैसला सुनाए पनि त्यो परिवारले जग्गा भोगचलन गर्न पाएको छैन। १९५० देखि मित्रलाल भट्टराईका नाममा रहेको सो जग्गामा १९९३ सालदेखि किचलो सुरु भएको अन्नपूर्ण पोस्टमा खबर छ ।

मित्रलालका छोरा हरिलाललाई प्रतिवादी बनाई १९९३ सालमा ताप्लेजुङकै भगीश्वर लिम्बूले मुद्दा हाले। सोही साल मंसिर ५ गते वादीले दाबी छोडी प्रतिवादी हरिलालका नाममा चौकिल्ला कायम गरियो। त्यो भट्टराई परिवारको जित थियो।

फेरि सोही जग्गाका विषयमा अघिल्लो मुद्दाका वादी भगीश्वर र प्रतिवादी हरिलाललाई प्रतिवादी बनाएर २००४ सालमा कुलबहादुर लिम्बू र नरबहादुर लिम्बूले मुद्दा हाले।

त्यो मुद्दामा पनि सोही साल माघ ७ गते अघिल्लो मुद्दाकै मिलापत्र कायम गरियो। तर पनि जग्गा भट्टराई परिवारले भोगचलन गर्न पाएन। सोही विवाद पुन: ब्युँझाई २००५ र २०१७ सालमा अन्य व्यक्तिहरू पनि त्यसमा मुछिए।

०१७ सालमा हरिलालले जग्गा उकासे। तर २०१८ सालमा जग्गा विवाद पुन: ब्युँझियो। २०३३ सालमा हरिलालका छोरा दामोदरले उक्त जग्गा उकासे।

हरिलालको नाममा रहेको उक्त जग्गा छोरा दामोदरले २०२२ सालमा अशंबन्डास्वरूप पाएका थिए। सोही जग्गाका विषयमा पुन: ताप्लेजुङका सर्णबहादुर मादेनले दामोदरलाई प्रतिवादी बनाई जग्गा खिचोला मुद्दा हाले।

२०३८ सालमा जिल्ला अदालत ताप्लेजुङले उक्त मुद्दाको फैसला प्रतिवादीका पक्षमा सुनायो। सोही मुद्दालाई पुन: अञ्चल अदालत इलामले २०३९ सालमा प्रतिवादीकै नाममा हुने फैसला गरेको थियो। फेरि पनि भट्टराई परिवारले जग्गा भोगचलन गर्न पाएन।

आफ्नो जग्गा भोगचलन गर्न नपाएपछि दामोदरले लुटपिट केसमा सर्णबहादुर र विष्णुबहादुर मादेनलाई प्रतिवादी बनाई मुद्दा हाले। विष्णुबहादुर पञ्चायत कालका वनमन्त्री र सर्णबहादुर उनका बाबु हुन्।

२०३८ र ०३९ सालमा दामोदरकै पक्षमा जिल्ला अदालत ताप्लेजुङ, अञ्चल अदालत इलामले वादीबाट लुटपिटको बिगोसमेत भराएर मुद्दाको फैसला सुनायो। यो फैसलापछि पनि भट्टराई परिवारले जग्गा भोगचलन गर्न पाएन।

फेरि दामोदरले सर्णबहादुरसहितलाई घर उठाई चलन चलाई पाऊँ भनी अञ्चल अदालत मेचीमा मुद्दा हाले। २०३९ माघ ९ गते अञ्चल अदालतबाट वादीको मागबमोजिम फैसला भयो।

सर्णबहादुर र विष्णुबहादुरको निधनपछि अन्य व्यक्तिहरूले सोही जग्गालाई लिएर फेरि मुद्दा हाले। २०४३, ०४४, ०५९, ०६१ र २०६२ मा विभिन्न तहका अदालतबाट दामोदरका पक्षमा फैसला सुनाइयो तर पनि भट्टराई परिवारले जग्गा भोगचलन गर्न पाएन।

२०७१ सालमा सोही जग्गाका लागि फेरि मुद्दा चलिरहेको छ। मित्रलालका छोरा हरिलाल र उनका छोरा दामोदरको मुद्दा लड्दालड्दै जीवन सकियो।

अहिले दामोदरकी पत्नी धनकुमारी र छोराहरू खड्गमणि, टंकमणि, अनन्तमणि र लोकमणिले मुद्दा लडिरहेका छन्। उनीहरूसँग अदालतका आदेशका प्रमाण सबै छन् तर कार्यान्वयन भएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment