Comments Add Comment

सभासद्को वैवाहिक स्थितिः न विवाहित, न अविवाहित !

८ वैशाख, काठमाडौं । संविधानसभा सदस्यहरुको ‘संक्षिप्त परिचय’ नामक ६ सय पृष्ठ ठूलो पुस्तकमा सभासदका लागि दुईवटा ‘अप्सन’  राखिएका छन् : ‘विवाहित र अविवाहित ।’ तर, केही सभासदको स्थिति भने न विवाहितजस्तो छ, न अविवाहित ।

सभासदको वैवाहिक स्थिति जनाउने पुस्तिकामा अविवाहित, अर्धविवाहित र विवाहित गरी तीनवटा अप्सन राखिएको भए सबै सभासदलाई समेटिने भए पनि दुईवटा अप्सनमात्र राखिएका छन् । जसले गर्दा केही सभासदले दुबै अप्सनमा रेजा लगाएका छैनन् ।

उमेश श्रेष्ठ
उमेश श्रेष्ठ

नेपाली कांग्रेसबाट मनोनित सभासद एवं निजी विद्यालय सञ्चालक उमेश श्रेष्ठले आफ्नो वैवाहिक स्थितिमा विवाहित वा अविवाहित दुबै अप्सनमा चिन्ह नलगाई खाली राखेका छन् । यसको कारण हो, उनी विवाहित पनि होइनन्, तर अविवाहितजस्तै एक्लै पनि छैनन् ।

कांग्रेस सभासद श्रेष्ठ बैधानिक रुपमा अविवाहित नै हुन्, तर उनी अाफैले अविवाहित भनिरहेका छैनन् । भोजपुरमा जन्मिएका ६० वर्षीय श्रेष्ठ ललितपुरको झम्सीखेलमा बस्छन् ।

२९ सभासद अझै अविवाहित

संविधानसभामा बहाल रहेका ५ सय ९७ सभासदहरुमध्ये २९ जना अविवाहित रहेको संविधानसभा सचिवालयबाट पुष्टि भएको छ ।

संविधानसभामा वैवाहिक स्थिति नखुलाउने सभासद दुईजना देखिएका छन् भने विहे गरेर पनि मुद्दा मामिला झेलेका कांग्रेस सभासद अमरेशकुमार सिंहले पनि आफूलाई अविवाहित नै लेखाएका छन् । यस हिसाबले अविवाहित सभासदहरुको संख्या ३२ देखिने सचिवालयले जनाएको छ ।

अविवाहित सभासदको सूचीमा ७७ वर्षीय वयोवृद्ध प्रधानमन्त्री सुशील कोइरालादेखि ३३ वर्षीया युवा उषाकिरण अन्सारी र अनुराधा थापा मगरसम्मको नाम छ ।

संविधानसभामा सभासदको उमेरका हिसाबले कांग्रेस पहिलो पार्टी भए पनि अविवाहित सभासदको संख्यामा भने एमाले पहिलो देखिएको छ । एमालेका दस जना सभासद अविवाहित छन् ।

कांग्रेसमा ३६ देखि ७७ का अविवाहित

कांग्रेसका ९ जना सभासदको विहे भएको छैन । प्रधानमन्त्री सुशील कोइरालासाथै ५५ वर्षीया विष्णुमाया परियार अविवाहित सभासद हुन् ।

त्यस्तै ४६ वर्षीय रामहरी खतिवडा, ४८ वर्षीया सरिता प्रसाई, ४३ वर्षीया सुजाता परियार पनि कांग्रेसका अविवाहित सभासद हुन् । सभासद खतिवडा विहे गर्ने सोचमा रहे पनि तालमेल नमिलेको बताउँछन् ।

त्यस्तै कांग्रेसका ३६ वर्षीया रीता शाही र ३८ वर्षीया सीता गुरुङ अविवाहित सभासद हुन् । दुवैजना उपयुक्त वरको खोजीमा छन् ।

एमालेका अविवाहित अधिकांश महिला

शेरधन रार्इ
शेरधन रार्इ

अविवाहित सभासदहरुको लिष्टमा एमालेका सभासद धेरै छन् । एमालेबाट उपल्लो स्तरका नेताहरुमध्ये पोलिटब्यूरो सदस्य रहेका शेरधन राई हालसम्म अविवाहित हुन् । उनी सुशासन तथा अनुगमन समितिका सभापति पनि हुन् ।

गत ०५६ सालको प्रतिनिधिसभाका कान्छा सभासद राईको विवाहको चर्चा उतिबेलैदेखि हुने गरेको थियो । ४५ वर्षीय राई यसपटक भने बिहेको सुरसारमा छन् ।

एमालेका अविहवाहित सभासदहरुमध्ये राई बाहेक अरु सबै महिला छन् । अझ संयोग त कस्तो छ भने एमालेका १० जना अविवाहित सभासमध्ये ८ दलित जनजाति समुदायबाट आएका छन् ।

एमालेका अविवाहित सभासदमा ४० वर्षीया शारदा विश्वकर्मा, ४७ वर्षीया नरदेवी पुन, ४६ वर्षीया पेम्बा लामा, ४८ वर्षीया मधु गुरुङ र ४९ वर्षीया ममता गिरी पनि छन् ।
त्यस्तै ५९ वर्षीया टेकु नेपाली, ५२ वर्षीया जयन्ती राई, ५३ वर्षीया टुकाभद्रा हमाल, ४९ वर्षीया गरिमा शाह र ४७ वर्षीया रन्जनाकुमारी माझी पनि एमालेका अविवाहित महिला सभासद हुन् ।

एमाओवादीका को को ?

एमाओवादीका अविवाहित सभासदमा प्रमुख सचेतक एबम् पार्टी सचिव गिरिराजमणि पोखरेल नै छन् । पोखरेलले अब विहे नगर्ने बताइसकेका छन् ।

त्यस्तै ३२ वर्षीया डा. उषाकिरण अन्सारी, ३७ वर्षीया तुलसा राना, ४२ वर्षीया कमला दोङ र ५१ वर्षीय विवादास्पद सभासद डा.ल्हारक्याल लामा पनि एमाओवादीका अविवाहित सभासद हुन् ।

साना दलका अविवाहितहरु

साना दलमध्ये नेपाल मजदूर किसानकी ३३ वर्षीया सभासद अनुराधा थापा अविवाहित छिन् । त्यस्तै परिवार दलकी ३२ वर्षीया मिलनुकुमारी राजवंशी पनि अविवाहित सभासद हुन् ।

फोरम लोकतान्त्रिककी ४८ वर्षीया सभासद सुमित्रा थरुनीको पनि अहिलेसम्म विहे भएको छैन । त्यस्तै नेकपा मालेकी ४१ वर्षीया सभासद कमला विश्वकर्मा पनि अविवाहित हुन् ।

जसले सभासद भएपछि बिहे गरे

फोरम नेपालका सभासद अभिषेकप्रसाद शाहले एक महिनाअघिमात्र बिहे गरेर विवाहितका सूचीमा पुगेका छन् भने एमाओवादीका अमनलाल मोदी पनि हालै विवाह बन्धमा बाँधिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment