Comments Add Comment

जौको सातु र सर्वत वितरण गरी अक्षय तृतीया पर्व मनाइँदै

८ वैशाख, काठमाडाैं । वैशाख शुक्ल तृतीयाका अवसरमा मंगलबार जौको सातु र सर्वत वितरण गरी अक्षय तृतीया पर्व मनाइँदै छ ।

पौराणिक धर्मग्रन्थअनुसार आजको दिनलाई अत्यन्त शुभ दिनका रूपमा मानिँदै आइएको छ । पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमका अनुसार त्रेतायुगको सुरुवात यसै तिथिबाट भएको र यसै दिन परशुरामको जन्म भएको थियो ।

हिन्दुशास्त्रका अनुसार वर्षभरिमा पर्ने विशेष योगमध्येको यो एउटा महायोग हो । जुन वर्षमा केवल एकपटक मात्र पर्दछ । यस दिनमा गरिएका सबै सत्कर्मको अक्षय (खेर नजाने) पुण्य प्राप्त हुने भन्दै गौतमले यस दिन भगवान्को पूजा आराधना, दान गर्ने र जौको सातु सर्वत खुवाउने, खानेपानीको व्यवस्था गर्नेजस्ता काम व्यक्तिगत सुस्वास्थ्य र परोपकारका दृष्टिबाट अत्यन्त उपयोगी र महत्वपूर्ण मानिने बताए ।

कुनै पनि शुभ कार्य गर्नका लागि सबभन्दा राम्रो तिथिका रूपमा मानिने यसै दिन वेदव्यासले महाभारतको रचना सुरु गरेको प्राचीन धर्मग्रन्थहरूमा उल्लेख गरिएको छ । आज गरिने जुनसुकै दानबाट मानिसलाई पुण्य प्राप्त हुने जनविश्वासका कारण विभिन्न मठमन्दिरमा दर्शन गर्ने र दान गर्नेहरूको बिहानैदेखि भीड लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment